Suchana Vatika

४४ उम्मेदवारमध्ये ३७ को जमानत जफत – काभ्रेका

 Summary

  • काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा २४ उम्मेदवारमध्ये २१ जनाको जमानत जफत भएको छ भने विजयी तीन उम्मेदवारले मात्र जमानत जोगाएका छन्।
  • क्षेत्र नम्बर १ मा १८ उम्मेदवारमध्ये १४ जनाको जमानत जफत भएको छ र केही उम्मेदवारले १०० मत समेत कटाउन सकेका छैनन्।
  • काभ्रेपलाञ्चोक जिल्लामा दुई निर्वाचन क्षेत्रमा जम्मा १० हजार ३९ मत बदर भएका छन् र कुल मतदानमा ठूलो संख्यामा मतदाता सहभागी भएका छन्।

२४ फागुन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका २ वटा क्षेत्रका ४४ उम्मेदवारमध्ये ३७ जनाको जमानत जफत भएको छ । ४४ उम्मेदवारमध्ये धेरैले १०  मत समेत कटाउन सकेनन् ।

१ लाख ६५ हजार ५११ मतदाता रहेको २ नम्बर क्षेत्रमा १ लाख ४ हजार ६४२ मत खसेको थियो । त्यसमध्ये ९९ हजार ५८० मत सदर तथा ५ हजार ६२ मत बदर भएको थियो ।

निर्वाचन क्षेत्रमा जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान अनुसार काभ्रे क्षेत्र नम्बर २ मा २४ उम्मेदवार मध्ये २१ जनाको जमानत जफत भएको छ ।

यस क्षेत्रका विजयी उम्मेदवार बदन भण्डारी, नेपाली कांग्रेसका मधु आचार्य र नेकपा एमालेका अशोक व्याञ्जु बाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रमा नेकपाका उम्मेदवार बसुन्धरा हुमागाईले ८ हजार १ सय ७ मत प्राप्त हुँदा पनि जमानत जोगाउन सकिनन् । त्यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार ज्योत्सना सैंजुले ३ हजार ७ सय ४९ तथा राप्रपाका रञ्जिव श्रेष्ठले ११ सय २५ मत प्राप्त गरेका थिए ।

मत परिणामअनुसार धेरै उम्मेदवारले ५० मत समेत कटाउन सकेनन् । मतपरिणामअनुसार सबैभन्दा कम मत पाउने स्वतन्त्र उम्मेदवार केशवराज तिमिल्सिनाले ४ मत, स्वतन्त्र उम्मेदवार लेनिन विष्टले ८, मितेरी पार्टी नेपालका उम्मेदवार हरीबहादुर थापाले १०, स्वतन्त्र उम्मेदवार गणेशप्रसाद अधिकारीले ११, विष्णुकुमार श्रेष्ठले १३, नेसनल रिपब्लिकन नेपाल पार्टीका सुकमान तामाङले १५, सीताराम मैनालीले २१, उमेश थापाले २६, मंगोल नेशनल अर्गनाइजेसनका उमेश लामाले २८, नेकपा संयुक्तका राजन थापाले ३२, जनता समाजवादी पार्टीका रकम लामाले ३२, डिल्ली न्यौपानेले ३१, राष्ट्रिय जनमोर्चाका सुवर्णविक्रम थापाले ३९ मत र आशा तामाङले ५९ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर २ मा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका बदन भण्डारीले ५३ हजार ३ सय ४४ मत तथा नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८ सय ६८ र नेकपा एमालेका अशोक ब्याञ्जुले १३ हजार ९ सय ४० प्राप्त गरे ।

त्यस्तै क्षेत्र नम्बर  १ मा १८ उम्मेदवार मध्ये १४ जना उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका उम्मेदवार बाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ । १ लाख ६१ हजार १०० मतदाता रहेको यस क्षेत्रमा ९१ हजार १०१ मत खसेको थियो । त्यसमध्ये ८७ हजार १२४ मत सदर तथा ४ हजार ९७७ मत बदर भएको थियो ।

काभ्रे १ मा ७ उम्मेदवारले १०० मत समेत कटाउन सकेनन् । जनता समाजवादी पार्टी नेपालका मानबहादुर तामाङले ७१, नेपाल मजदुर किसान पार्टीका राजु तामाङले ५२ र प्रगतिशील लोकतान्त्रिक पार्टीका ज्ञानेन्द्रकुमार श्रेष्ठले ५६ मत पाए । समावेशी समाजवादीका विनोद लामाले ५० मत, नेसनल रिपब्लिकन नेपालका भरत तामाङले ३५ मत, स्वतन्त्र उम्मेदवार जीवन लामाले ९४ तथा स्वतन्त्र उम्मेदवार युवराज चौलागाईंले ७ मत प्राप्त गरे ।

समावेशी समाजवादीका विनोद लामा यौनिक अल्पसंख्यक उम्मेदवार हुन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नवराज सत्यालले ६९९ मत, श्रम संस्कृति पार्टीका धिराज लामाले २८७ मत, मंगल नेसनल अर्गनाइजेसनका कमलबहादुर लामाले १५६ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कान्छा तामाङले १४९, संयुक्त नागरिक पार्टीका रत्न लामाले ११४ तथा स्वतन्त्र उम्मेदवार राजेशकुमार श्रेष्ठले १६९ मत प्राप्त गरेका छन् ।

सार्वजनिक मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका मधुकुमार चौलागाईंले २९ हजार ६९८ मत प्राप्त गरेर विजयी भए । नेपाली कांग्रेसका गुणराज मुक्तानले १९ हजार १६६ मत, नेपाल कम्युनिष्ट पार्टीका दिनानाथ गौतमले १४ हजार १८४ र नेकपा एमालेका अमि तामाङले १३ हजार ८१४ मत प्राप्त गरे । यस क्षेत्रमा उज्यालो नेपाल पार्टीका योगेन्द्र लामाले ७ हजार ४०३ मत प्राप्त गरे पनि जमानत भने जोगाउन सकेनन् ।

दुई क्षेत्रमा गरेर १० हजार मत बदर

काभ्रेपलाञ्चोक जिल्लाका १० हजार मत बदर भएको छ । निर्वाचन परिणामको तथ्यांकअनुसार यस क्षेत्रमा १० हजार ३९ मत (५ प्रतिशत) बदर भएको छ । काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ६५ हजार ५११ मतदाता मध्ये १ लाख ४ हजार ६४२ मतदाता मतदानमा सहभागी भएका थिए । यस क्षेत्रमा कुल खसेको मत मध्ये ९९ हजार ५८० सदर र ५ हजार ६२ मत बदर भएको छ ।

त्यस्तै काभ्रे निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ६१ हजार १ सय मतदातामध्ये ९१ हजार १०१ मतदाता मतदानमा सहभागि भएका थिए । यस क्षेत्रमा खसेको मत मध्ये ८६ हजार १२४ मत सदर भएको छ भने ४ हजार ९७७ मत बदर भएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.