Suchana Vatika

९ जनाको जमानत जफत ‘कम्युनिस्टको गढ’ भनिने प्युठानमा रास्वपाले बजायो घण्टी,

कुनै समय मसालको ‘लाल किल्ला’ भनिने प्युठानमा उसैको खुला संगठन राष्ट्रिय जनमोर्चा (राजमो)का उम्मेदवार तिलकबहादुर जिसी ७ हजार ६५४ मतसहित पाँचौं स्थानमा सीमित भए । उनले जमानत जोगाउन सकेनन् ।

२६ फागुन, प्युठान । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्युठानमा राष्ट्रिय जनमोर्चासहित ९ दलका उम्मेदवारको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा उनीहरू जमानत जोगाउन असफल भएका हुन् ।

कुनै समय मसालको ‘लाल किल्ला’ भनिने प्युठानमा उसैको खुला संगठन राष्ट्रिय जनमोर्चा (राजमो)का उम्मेदवार तिलकबहादुर जिसी ७ हजार ६५४ मतसहित पाँचौं स्थानमा सीमित भए । आवश्यक मत नपुग्दा उनले जमानत जोगाउन सकेनन् ।

त्यसो त राजमो अध्यक्ष चित्रबहादुर केसीको गृहजिल्ला बागलुङका दुवै क्षेत्रमा पनि रास्वपा भए ।

कम्युनिष्ट आन्दोलनका पुराना नेता एवम् नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहको गृहजिल्ला हो प्युठान । मोहनविक्रम अहिलेका कम्युनिस्ट भनिने दलका शीर्ष नेताहरुका राजनीतिक गुरुसमेत हुन् ।

मोहनविक्रमको गृहजिल्ला भएकाले प्युठानलाई मसालको ‘हेडक्वार्टर’ मानिँदै आएको छ । तर सिंह जन्मेको झिमरुक गाउँपालिकामा विगतमा पहिलो हुने जनमोर्चा यसपटकको निर्वाचनमा दोस्रो स्थानमा खस्किएको छ ।

त्यहाँ तीन वर्ष अघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३ हजार ४६४ मत ल्याउँदा जनमोर्चाले २ हजार ६०७ मत पायो ।

प्रतिनिधि सभा निर्वाचनको एक मात्र क्षेत्र प्युठानबाट रास्वपा उम्मेदवार सुशान्त वैदिक भारी मतसहित विजयी भए । ३१ वर्षीय सुशान्तले २७ हजार ४६९ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ५९ वर्षीय डा. गोविन्दराज पोखरेलले १८ हजार ३३८ मत पाए ।

२०७९ मा निर्वाचित सांसद सूर्य थापा यसपटक तेस्रो भए । उनले १६ हजार ७१० मत पाए ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार कृष्णध्वज खड्काले ९ हजार ७४ मत पाउँदा जनमोर्चाका उम्मेदवार तिलकबहादुर जीसीले ७ हजार ६५४ मत पाए ।

समानुपातिकतर्फ पनि प्युठान जिल्लामा रास्वपाले नै सबैभन्दा धेरै ३० हजार ७५२ मत पाएको छ ।

जिल्लामा १ लाख ६५ हजार ४०६ मतदाता रहेकामा ८४ हजार ४३३ मत खसेको थियो । कुल सदर मतको १० प्रतिशत नपाउने नौ जनाको जमानत जफत भयो ।

जमानत जफत हुने उम्मेदवारहरुमा श्रम संस्कृति पार्टीका गोविन्द गिरी (५९४ मत), नेकपा माओवादीका सीता विकले (५०१ मत), राष्ट्रिय प्रजातन्त्र पार्टीका धनेश्वर पण्डित (४१५ मत) छन् ।

यसैगरी नेसनल रिपब्लिक पार्टी नेपालका तारासिंह थापा मगर (९४ मत), मंगोल अर्गनाइजेसनका हर्कबहादुर पुन (८१ मत), नेपाली जनता दलका बिमल पोखरेल (७८ मत), प्रगतिशील लोकतान्त्रिक पार्टीका श्याम गहतराज (५० मत), नेकपा संयुक्तका नविनकुमार श्रेष्ठ (४५ मत) र आम जनता पार्टीका रोमबहादुर थापा (४३ मत) ले पनि जमानत जोगाउन सकेनन् ।

१४ उम्मेद्वारले मनोनयन दर्ता गरी प्रतिस्पर्धामा उत्रिएकामा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार श्याम गहतराजले निर्वाचनको अन्तिम घडिमा आफ्नो उम्मेदवारी निष्कृय पारेको घोषणा गरेका थिए ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.