Suchana Vatika

बुद्धको `९एन-एजेओ´ अब नउड्ने, विश्वमै पहिलो पटक एटीआर-७२ जहाजको बिदाइ

जहाजको पूर्णक्षमता सञ्चालनपछि बुध्द एयरले दर्ता नम्बर `९एन-एजेओ´ रहेको एटीआर-७२ जहाजलाई औपचारिक रूपमा बिदाइ गरेको छ ।

Summary

  • बुध्द एयरले दर्ता नम्बर `९एन-एजेओ´ रहेको एटीआर-७२ जहाजलाई १६ वर्षपछि औपचारिक रूपमा बिदाइ गरेको छ।
  • एटीआर-७२ जहाजले २४ लाख ८२ हजार ७ सय ७२ जना यात्रु बोकेको थियो र यसको अन्तिम उडान ९ मार्च २०२६ मा भएको थियो।
  • बुध्द एयरका कार्यकारी अध्यक्ष बस्नेतले जहाजले हवाई यात्रा सुगम, कम खर्चिलो र वातावरणमैत्री बनाउन ठूलो योगदान दिएको बताए।

२८ फागुन, काठमाडौं । जहाजको पूर्णक्षमता सञ्चालनपछि बुध्द एयरले दर्ता नम्बर `९ एन-एजेओ´ रहेको एटीआर-७२ जहाजलाई औपचारिक रूपमा बिदाइ गरेको छ ।

एटीआर-७२ जहाजको अधिकतम उडान क्षमता ७२ हजार साइकल हो । ‘साइकल’ भन्नाले जहाजको एक उडान र एक अवतरणलाई जनाउँछ । यो एटीआर-७२ जहाज २ जुलाई २०१० देखि व्यावसायिक उडानमा संलग्न थियो ।

यसको अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट-काठमाडौंसम्म गरिएको थियो । १६ वर्षे उडान अवधिभरि यस जहाजले २४ लाख ८२ हजार ७ सय ७२ यात्रु बोकेको थियो ।

बिदाइका अवसरमा बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले भने, ‘यस जहाजले नेपालको हवाई यात्रालाई सुगम, कम खर्चिलो, वातावरणमैत्री बनाउन ठूलो येगदान दियो, यसले बुध्द एयरको बजार विस्तार तथा शाख बढाउन दुवैमा महत्त्वपूर्ण भूमिका खेलेको छ, हामीले एटीआर जहाजको पूर्ण आयु सञ्चालन गर्ने ऐतिहासिक कीर्तिमान पनि कायम गरेका छौं ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक टेकनाथ सिटौलाले बुध्द एयरको हवाई सुरक्षाप्रतिको प्रतिबद्धता र उत्कृष्ट मर्मत सम्भार तथा व्यवस्थापनका कारण आज एटीआर जहाजलाई सफलतापूर्वक बिदाइ गर्न सम्भव भएको बताए ।

एटीआर कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट स्टेफानो माराज्जनीले बुध्द एयरसँगको साझेदारीप्रति गहिरो खुसी व्यक्त गर्दै भने, ‘एटीआर कम्पनीले डिजाइन र निर्माण गरेको यो जहाजलाई योग्य हात एवं सही वातावरण तथा उत्कृष्ट प्राविधिक प्रणालीका साथमा अन्तिम उडानसम्म सुरक्षित रूपमा सेवा दिन सक्षम भयो, यसले बुध्द एयरको उच्च सुरक्षा प्रतिबद्धता पुनः प्रमाणित गरेको छ ।’

यसअघि बुध्द एयरले एटीआर-४२ जहाजलाई १० सेप्टेम्बर २०२४ मा पनि बिदाइ गरेको थियो । बुध्द एयरले आन्तरिक रूपमा देशैभरि तथा पोखराबाट सिधा नेपालगञ्ज, भैरहवा र भरतपुर उडान गरिरहेको छ । साथै, अन्तर्राष्ट्रियतर्फ भारतको वाराणसी तथा कोलकाता पनि उडान गरिरहेको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.