Suchana Vatika

चालिसे : अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा जुट्नुपर्ने बताउँदै कार्यकर्ता र नेताहरूलाई एकताबद्ध भएर सङ्गठन सुदृढ बनाउन आह्वान गरेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले हालको राजनीतिक परिस्थितिलाई आत्मसमिक्षा र पुनर्निर्माणको अवसरका रूपमा लिनुपर्ने बताएका हुन् । उनले एउटा चुनावी हारले नेपाली कांग्रेसजस्तो ऐतिहासिक पार्टीलाई कमजोर बनाउन नसक्ने स्पष्ट पारे।

“एउटा चट्टानमाथिको रूखजस्तै नेपाली कांग्रेस यो आँधीमा पनि कम्तीमा उभिएको छ। एउटा हारले नेपाली कांग्रेस कहिल्यै हार्ने छैन,” चालिसेले लेखेका छन् । उनका अनुसार अहिलेको चुनौतीपूर्ण अवस्थाले पार्टीलाई थप परिपक्व र सङ्गठित बन्ने अवसर दिएको छ।

चालिसेले पार्टीलाई अझ मजबुत बनाउन कार्यकर्ताको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै रूखलाई मलिलो जमिनमा सारेर हुर्काउने कामजस्तै सङ्गठनलाई बलियो बनाउने जिम्मेवारी सबैको भएको बताए । उनले पार्टीभित्र आत्मसमिक्षा, सङ्गठन विस्तार र कार्यकर्ता सुदृढीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

उनले आगामी दिनमा फेरि निर्वाचन आउने र त्यसका लागि अहिलेबाटै तयारी सुरु गर्नुपर्ने धारणा राखेका छन्। “फेरि चुनाव आउनेछ, हामी झन् बलियो भएर जित्नेछौँ,” उनले भनेका छन् । चालिसेले अहिलेको अवस्थामा विरोधीहरूले अवसर खोजेर आक्रमण गर्ने स्वाभाविक भएको उल्लेख गर्दै कांग्रेसले त्यसतर्फ ध्यान नदिई सङ्गठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताए।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.