Suchana Vatika

प्रतिनिधिसभा सदस्यदेखि ब्रिटिस गोर्खा सैनिकसम्म

समाजसेवा, गीत लेखन र अभिनयमा रमाइरहेका ब्रिटिस गोर्खा भूतपूर्व सैनिक क्याप्टेन पूर्णप्रसाद लिम्बूलाई श्रम संस्कृति पार्टीले समानुपातिक सांसद बनाएर संसद्‌ पठाएको छ ।

Summary

  • श्रम संस्कृति पार्टीले क्याप्टेन पूर्णप्रसाद लिम्बूलाई समानुपातिक सांसद बनाउन निर्वाचन आयोगमा नाम पठाएको छ।
  • लिम्बूले २८ वर्ष ब्रिटिस गोर्खा सेनामा सेवा गरी २०६४ मा क्याप्टेन पदबाट अवकाश पाएका हुन्।
  • अवकाशपछि गोर्खा वेलफेयर अफिसर भएर खानेपानी, स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गरेका लिम्बूले सामाजिक सेवामा सक्रियता देखाएका छन्।

१ चैत, सुनसरी । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक क्याप्टेन पूर्णप्रसाद लिम्बू (फावेन फागो) समाजसेवा, गीत लेखन र अभिनयमा रमाइरहेका थिए । उनै लिम्बूलाई श्रम संस्कृति पार्टीले समानुपातिक सांसद बनाउन निर्वाचन आयोगमा नाम पठाएको छ ।

पार्टीले आइतबार आयोगमा आफ्नो नाम पठाएपछि ६३ वर्षीय लिम्बूले भने, ‘म राजनीतिक भाषा बोल्न र छक्का–पञ्जा गर्न नजान्ने/नसक्ने मान्छे परें । २८ वर्ष बृटिस सेना र १६ वर्ष बृटिसकै गोर्खा वेल्फेयर अफिसमा अधिकृतको भूमिकामा रहेको मान्छे हुँ । इमान्दार भएर सांसदको भूमिका निर्वाह गर्छु ।’

संखुवासभाको चैनपुर–४ मैदाने, साविक सिद्धपोखरी–३ मा जन्मेका लिम्बू मे १९८० मा बृटिस गोर्खा इन्फेन्ट्री (स्थल सेना) मा भर्ती भएका थिए । २८ वर्ष सेवा गरेका उनी फेब्रुअरी २००८ क्याप्टेन पदबाट अवकाश भए ।

अवकाशपछि उनलाई अर्को जागिर खोज्दै ब्रुनाइको जीआरयू (गोर्खा रिजर्भ युनिट) मा जानु परेन । बृटिस दूतावासमार्फत सञ्चालन हुने गोर्खा वेलफेयर ट्रस्टले नेपालमै गोर्खा वेलफेयर अफिसरको रूपमा नियुक्त गर्‍यो ।

वेलफेयर अफिसरबाट तीन वर्षअघि मात्र अवकाश लिएका लिम्बूले धरानको गोर्खा वेलफेयर अफिसर भएर बस्दा भोजपुर, खोटाङ, संखुवासभादेखि तेह्रथुमसम्म हेर्ने गरेका थिए । काठमाडौंको वेलफेयर अफिसबाट धादिङ, रामेछाप, ओखलढुङ्गा, दोलाखादेखि नुवाकोटसम्म हेर्थे । वेलफेयर अफिसले विषेशगरी गाउँमा खानेपानी, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिने गरेको छ ।

समाजसेवामा सक्रिय रहेकै अवस्थामा कसरी श्रम संस्कृति पार्टी र हर्क साम्पाङसँग जोडिनु भयो भन्ने जिज्ञासामा लिम्बूले अनलाइनखबरसँग भने, ‘म राजनीति नजान्ने मान्छे हुँ । २०७९ को स्थानीय तह चुनावमा स्वतन्त्रबाट हर्कजी धरान उपमहानगरपालिकाको मेयर भएपछि ट्रस्टले खानेपानी समस्या समाधान गर्न सहयोग गर्ने प्रस्तावकै सन्दर्भमा हाम्रो पहिलो भेट भयो । सँगसँगै खानेपानीको काम गर्ने अभियानको सिलसिलामा हामी नजिकियौं ।’

धरानले खानेपानीको समस्या झेलिरहेको बेला साम्पाङले चुनाव जितेर आएको अवस्थामा खानेपानी समस्या समाधानका लागि लिम्बूकै सक्रियतामा गोर्खा पिस फाउन्डेसन र हर्क साम्पाङ सपोर्ट कमिटी बनाएर आर्थिक संकलन सुरु भएको थियो । आर्थिक संकलनका लागि बेलायत र नेपालका गोर्खा लाहुरेहरू सक्रिय रहे ।

तीमध्ये शशि थापा सुब्बा, देव हुक्पाचोङ्बाङ, सुवर्ण नेम्वाङ, राजेन पाहिम लिम्बू, अमरजंग लिम्बू, डम्बर लिम्बू, भीमराज तुम्बापो र किर्तबहादुर राई बेलायतमा सक्रिय रहे । भारतीय गोर्खा भूपू सैनिकहरूमा कर्ण तमु र मानसिङ तामाङले नेतृत्व लिए भने शुभराज थाम्सुहाङ लिम्बू र नरेन्द्र मेन्याङ्बो लगायतले सिंगापुर पुलिस फोर्सबाट सक्रियता देखाए ।

उनीहरूकै सक्रियतामा गोर्खा चौतारी निर्माण गरेर आकर्षण थपे । गोर्खा पिस फाउन्डेसन यूके र हर्क साम्पाङ सपोर्ट किमिटी यूकेको १ करोड ५ लाख रुपैयाबाट दुई वटा ट्यांकी निर्माण गरियो । सर्दु खोला प्राजेक्टका लागि गोर्खा वेलफेयर ट्रस्टले ३ करोड १२ लाख रुपैयाँले ४ लाख लिटर क्षमताको रिजर्भ ट्यांकी निर्माण भएको लिम्बूले बताए ।

उनी फाउन्डेसनको पनि ट्रस्टी भएकाले धरानमा खानेपानीका लागि ब्रृटिस, भारत र सिंगापुरे लाहुरेहरूलाई एकजुट बनाएर आर्थिक संकलन गर्न प्रेरित गर्दागर्दै साम्पाङसँग जोडिए ।

विद्या भण्डारी दोस्रो पटक राष्ट्रपति भएको बेला प्रबल जनसेवा श्री चौथो पदक पाएपछि समाजसेवामा थप हौसिएका लिम्बूले विभिन्न जिल्लामा खानेपानी, प्राकृतिक प्रकोप व्यवस्थापन, धरानमा २६ जना गोर्खा लाहुरेका वृद्धवृद्धालाई आवासीय सेवा दिन सकिने वृद्धाश्रम (रेसिडेन्सियल होम) निर्माण गर्न पहल गरेका थिए ।

कोरोनाकालमा पनि करिब ३ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री ट्रस्टमार्फत वितरण गरेको उनले बताए । कम बोल्ने र भाषणमा समय खर्च गर्नुभन्दा सिधै ‘एक्सन’ (काम) र अभ्यास गर्नुपर्छ भन्ने लिम्बू सामाजिक सञ्जालमा सक्रिय छन् ।

केही चलचित्रमा समेत अभिनय गरेका उनले आफ्नै लगानी अभिनय रहेको चलचित्र ‘नाम्लो’ बनाएर त्यहाँबाट संकलन भएको सबै रकम धरानको खानेपानी व्यवस्थापनमा प्रदान गरे । लिम्बूले भने, ‘आफैंले लेखेका गीतमध्ये १२ गीतका म्युजिक भिडियोसमेत बनाएँ । त्यो मेरो व्यक्तिगत सिर्जनाको कुरा थियो । अब भने थप जिम्मेवारी पाएको छु । लामो समय बन्दुकसँग खेल्दै विदेशमा सैनिक जीवन बिताएँ । बाँकी समय आफ्नै मातृभूमिका लागि केही गर्छु ।’

लिम्बूकी श्रीमती शान्ति लिम्बू, दुई छोरा, बुहारी र नाति–नातिना बेलायतमै छन् । दुई छोरामध्ये समित रोयल सिग्नलमा कार्यरत छन् भने साहिल बेलायतको एयरफोर्समा कार्यरत छन् ।

परिवार बेलायतमा रहे पनि आफू भने नेपालमै बसेर समाजसेवामा सक्रिय रहेका बेला श्रम संस्कृति पार्टीले संसद् प्रवेश गर्ने अवसर दिएको लिम्बूले बताए । उनले भने, ‘मलाई समानुपातिक सांसद बनाउनु सिंगो बृटिस गोर्खा भूपू सैनिक, भूपू सिंगापुर पुलिस फोर्स र भारतीय भूपू गोर्खा सैनिकप्रति सम्मान तथा नेपाल र नेपालीको हितमा केही गरेर देखाउने अवसर दिनु हो भन्ने मैले बुझेको छु ।’

श्रम संस्कृति पार्टीले लिम्बूसँगै धनुषाकी रविकाकुमारी ठाकुर, सुनसरीकी अम्बिकादेवी संग्रौला र सुर्खेतकी राधिका रम्तेल सार्कीलाई समानुपातिक सांसद बनाएको छ । श्रम संस्कृति पार्टीमा आवद्ध २५ वर्षीया रुवि सिविल इन्जिनियर हुन् भने संग्रौला र रम्तेल गृहिणी तथा सक्रिय श्रमदाता रहेको पार्टीले जनाएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.