सारांश
- काठमाडौंको टोखामा सरकारी जग्गामा बनाइएका १८ घरटहरामा डोजर चलाइयो, जसले गर्दा परिवारहरू विस्थापित भए।
- स्थानीयका अनुसार, वडा अध्यक्ष नरुत्तम राना सरकारी जग्गा अतिक्रमण गरी बनाइएका सटरहरूबाट भाडा असुल्दै थिए।
- प्रशासनले जग्गा खाली गराएको दाबी गरे पनि, सुकुम्बासी परिवारहरूको अन्य कुनै विकल्प नभएको गुनासो छ।
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका वडा नम्बर ७ दाहालगौंडामा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका १८ वटा घरटहरामा जिल्ला प्रशासन कार्यालयले डोजर चलाएको छ। सोमबार प्रहरी प्रशासनको ठुलो उपस्थितिका बिच डोजर प्रयोग गरी भौतिक संरचनाहरू भत्काइएपछि वर्षौँदेखि त्यहाँ बस्दै आएका परिवारहरूको बिचल्ली भएको छ।
साबिक धापासी वडा नम्बर ७ र हालको टोखा-७ मा पर्ने कित्ता नम्बर ६५ को ४ रोपनीभन्दा बढी सरकारी जग्गामा यी संरचनाहरू ठडिएका थिए। भत्काइएका घरटहरामा बस्नेहरूले प्रशासन र वडा कार्यालयले कुनै पनि पूर्व सूचना नदिई अचानक डोजर चलाएको आरोप लगाएका छन्।
स्थानीयका अनुसार मानिसहरू घरभित्रै रहेको अवस्थामा एक्कासि डोजर चलाउन थालिएपछि ज्यान जोगाउन र सामान निकाल्न समेत धौ-धौ परेको थियो। ३० वर्षदेखि सोही ठाउँमा बसोबास गर्दै आएकी आछ माया तामाङले १८ घरधुरी पूर्ण रूपमा सुकुम्बासी रहेको र उनीहरूको बस्ने अन्य कुनै ठाउँ नभएको बताइन्।

यस घटनाले अर्को गम्भीर रहस्य पनि बाहिर ल्याएको छ। स्थानीयका अनुसार सरकारी जग्गा अतिक्रमण गरी बनाइएका सटरहरू भाडामा लगाउने काममा वडा अध्यक्ष नरुत्तम राना स्वयम् संलग्न थिए। आछ माया तामाङका अनुसार सुकुम्बासी बाहेकका अन्य व्यावसायिक सटरहरूबाट वडा अध्यक्षले महिनाको लाखौँ रुपैयाँ भाडा असुल्दै आएका थिए।

अतिक्रमित जग्गा फिर्ता गर्ने सरकारी नीति अनुसार डोजर चलाइएको दाबी प्रशासनले गरे पनि विकल्प बिनाको उठिवासले सुकुम्बासी परिवारहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन्।
