Skip to main content

Suchana Vatika

सधैँ अपूरो प्रतिबद्धता, एनआरएन नागरिकता

‘एकपटकको नेपाली, सधैंको नेपाली’ भन्ने नारा अघि सारेको रास्वपाले आफ्नै नेतृत्वको बलियो सरकार भएका बेला एनआरएनका नागरिकसम्बन्धी माग सम्बोधन गर्न उदासिन बन्नु हुँदैन ।

Summary

  • नेपालमा गैर आवासीय नेपाली नागरिकता सम्बन्धी नीति अस्पष्ट र कार्यान्वयनमा ढिलाइ भएको छ।
  • सरकारले ‘एकपटकको नेपाली, सधैंको नेपाली’ अवधारणालाई कानुनी रूप दिनुपर्ने आवश्यकता छ।
  • एनआरएनहरूले लगानी र सीपमार्फत नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्।

केही दशकअघिसम्म आम नेपालीका लागि विदेश कल्पनाको विषय थियो । अहिले संसारको कुनै त्यस्तो देश छैन, जहाँ नेपाली नपुगेका हुन् । अध्ययन–अध्यापन, खोज–अन्वेषण, रोजगारी, उद्योग–व्यवसाय तथा भ्रमणका सिलसिलामा नेपालीहरू संसारभर पुगिरहेका छन् ।

यो फैलावट निरन्तर छ । त्यसरी विभिन्न देशमा पुगेका नेपालीहरूले आफ्नै पहलमा एकीकृत हुने र आफूले आर्जन गरेको सीप, प्रविधि र पुँजीलाई आफ्नो मातृभूमिको श्रीवृद्धिमा उपयोग गर्ने प्रयास गर्दै आएका छन् ।

यसरी, विश्वभर फैलिएका गैर आवासीय नेपाली (एनआरएन)हरू वर्तमान नेपालको आर्थिक, सामाजिक र बौद्धिक विकासका महत्वपूर्ण साझेदारका रूपमा स्थापित भइसकेका छन् । संसारका विभिन्न देशमा रहँदा उनीहरूले आर्जन गरेका सीप, अनुभव, प्रविधि र पूँजी नेपालका लागि अमूल्य स्रोत हुन् ।

यही यथार्थलाई आत्मसात गर्दै नेपाल सरकारले गैर आवासीय नेपाली नागरिकता सम्बन्धी विषयमा केही सकारात्मक पहलहरू गरेको देखिन्छ । तर, अपेक्षित स्पष्टता र दृढताको अझै अभाव महसुस भइरहेको छ ।

नीतिमा प्रतिबद्धता, कार्यान्वयनमा ढिलाइ

नेपालको संविधान २०७२ ले गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरेको छ । यससँगै राज्यले एनआरएन समुदायप्रति औपचारिक रूपमा आफ्नो सम्बन्ध पुन: परिभाषित गर्ने प्रयास गर्‍यो । त्यसपछिका वर्षहरूमा नागरिकता ऐन तथा नियमावलीमार्फत यसलाई कार्यान्वयन गर्ने प्रयासहरू भए पनि प्रक्रिया अझै जटिल र अस्पष्ट छन् ।

मुलुकमा यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार छ । सो पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री छन् । गत २१ फागुनमा मतदानअघिका चुनावी प्रचार–प्रसारको क्रममा रास्वपाले आफ्नो बाचा–पत्र सार्वजनिक गरेको थियो । सो बाचा–पत्रमा ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनालाई व्यवहारत: उतार्ने प्रतिबद्धता जनाएको छ ।

त्यसोत: निर्वाचनबाट झन्डै दुईतिहाइ बहुमत आर्जन गरेको सो दलले सरकार निर्माण गरिसकेपछि पनि एनआरएनका मुद्दालाई उत्तिकै महत्वका साथ कार्यान्वयन गर्ने जनाएको छ ।

संसारका विभिन्न देशमा रहँदा गैरआवासीय नेपालीका सीप, अनुभव, प्रविधि र पूँजी नेपालका लागि अमूल्य स्रोत हुन् ।

‘एकपटकको नेपाली, सधैंको नेपाली’ भन्ने नारा आफैंमा आकर्षक छ । यो नाराले संसारका विभिन्न देशमा छरिएर रहेका नेपालीहरूलाई पुन: एकपटक आफ्नो मातृभूमिप्रतिको लगावलाई ब्युँझाएको छ ।

मातृभूमिप्रति नवीन प्रेम अंकुरित गरेको छ । यो नाराले एनआरएन समुदायमा गहिरो आशा र उत्साह पनि छरेको छ । तर, व्यवहारमा यो नारा कार्यान्वयन होला नहोला ? अझै पनि कयौंका मनमा संशयहरू छन् ।

किनभने, हाम्रो विगतका सरकारबाट हामीले पटकपटक प्राप्त गरेका आश्वासन र खेर गएका बाचाले हामीलाई झस्काइरहन्छ । त्यसै पनि ‘एकपटकको नेपाली, सधैंको नेपाली’ भन्ने नारालाई स्पष्ट नीतिगत रूप दिन सरकार अझै असफल देखिएको छ ।

‘एकपटकको नेपाली, सधैंको नेपाली’: किन अस्पष्ट ?

यो अवधारणा मूलत: भावनात्मक र पहिचानसँग जोडिएको विषय हो । यसले नागरिकताको निरन्तरता, मातृभूमिसँगको सम्बन्ध र अधिकारको सुनिश्चिततालाई जनाउँछ । तर, नेपालमा नागरिकता सम्बन्धी विषय संवेदनशील राजनीतिक मुद्दा भएकाले सरकारहरू स्पष्ट धारणा लिन हिच्किचाउने गरेको देखिन्छ ।

मुख्यकारणहरू यसप्रकार छन्:

– संवैधानिक र कानुनी जटिलता: दोहोरो नागरिकताको विषयमा संविधानमै सीमितता हुनु ।

– राजनीतिक सहमतिको अभाव: दलहरूबीच साझा धारणा नबन्नु ।

– सुरक्षा र राष्ट्रियता सम्बन्धी चिन्ता ।

– प्रशासनिक संरचनाको अपर्याप्त तयारी ।

सरकारले एनआरएन नागरिकता सम्बन्धी विषयमा केही सकारात्मक पहल गरेको छ । तर, अपेक्षित स्पष्टता र दृढताको अभाव छ ।

यसका कारण ‘एकपटकको नेपाली, सधैंको नेपाली’ भन्ने नाराले व्यावहारिक रूप लिन सकेको छैन, र गैरआवासीय नेपालीहरू अझै स्पष्ट अधिकार र सुविधाबाट वञ्चित छन् ।

लगानीमा एनआरएनको भूमिका : सम्भावना र यथार्थ

गैरआवासीय नेपालीहरू नेपालमा लगानीका भरपर्दा स्रोत हुन सक्छन् । उनीहरूको भावनात्मक सम्बन्धका कारण लगानी दीर्घकालीन र विश्वसनीय हुने अपेक्षा गरिन्छ । पर्यटन, जलविद्युत्, कृषि, स्वास्थ्य, शिक्षा र सूचना प्रविधि क्षेत्रमा एनआरएन लगानीको उपस्थिति बढ्दो छ ।

तर, लगानी आकर्षित गर्न अझै धेरै सुधार आवश्यक छन् । जसलाई निम्न बुँदामा उल्लेख गर्न सकिन्छ ।

– झन्झटिलो प्रशासनिक प्रक्रिया

– नीतिगत अस्थिरता

– लगानी सुरक्षाको अभाव

– पूर्वाधारको कमजोरी

अबको आवश्यकता: स्पष्टता, विश्वास र कार्यान्वयन

सरकारले एनआरए सम्बन्धी नीतिमा केवल घोषणा होइन्, ठोस कार्यान्वयनमा ध्यान दिनु आवश्यक छ । विशेषगरी:

– ‘एकपटकको नेपाली, सधैंको नेपाली’ अवधारणालाई स्पष्ट कानुनी रूप दिनु

– एनआरएन नागरिकताको प्रक्रिया सरल र पारदर्शी बनाउनु

– लगानीमैत्री वातावरण सिर्जना गर्नु

– एकद्वार प्रणाली प्रभावकारी रूपमा लागू गर्नु

निष्कर्ष

गैर आवासीय नेपालीहरू नेपालका लागि केवल रेमिट्यान्स पठाउने समूह होइनन्, उनीहरू विकासका सहयात्री हुन् । सरकारले देखाएको चासो सकारात्मक भए पनि स्पष्टता र दृढ कार्यान्वयनबिना अपेक्षित परिणाम हासिल हुन सक्दैन ।

विगतका सरकारबाट पटकपटक प्राप्त आश्वासन र खेर गएका बाचाले गैरआवासीय नेपालीलाई झस्काइरहन्छ ।

‘एक पटकको नेपाली, सधैंको नेपाली’ केवल नारा नभई व्यवहारमा उतार्न सकेमा मात्र नेपालले विश्वभर रहेका आफ्ना सन्तानहरूको वास्तविक शक्ति उपयोग गर्न सक्छ । यस कार्यमा एनआरएनमा गोलबन्द भएका संसारभर छरिएका नेपाली सरकारसँग हातेमालो गर्न तयार छन् ।

त्यसको नेतृत्व उनीहरूको छाता संगठन एनआरएनएले गर्ने नै छ । तर, सरकारले यस कार्यमा पहिलो पाइला चाल्न आवश्यक छ । सिंगो एनआरएन समुदाय त्यसमा आफ्नो पाइला मिलाएर सरकारसँग सहयात्रा गर्न आतुर छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.