Skip to main content

Suchana Vatika

दुई साताभित्रै नागार्जुनकाे अपार्टमेन्टमा राखिने, सुकुमवासी पहिचान भोलिबाट

‘वास्तविक सुकुमवासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टमा राखिनेछ । त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिनेछ ।’

१२ वैशाख, काठमाडौं । सरकारले शनिबारबाट काठमाडौं उपत्यकाका सुकुमवासी बस्ती खाली गराउन सुरु गरेको छ । पहिलो दिनको बस्ती खाली गराउने काम शान्तिपूर्ण भएको प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)का राजनीतिक सल्लाहकार असिम शाहले जनाएका छन् ।

‘काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्यांकअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन्,’ सल्लाहकार शाहले फेसबुकमा लेखेका छन्, ‘उक्त क्षेत्रमा बसोबास गरिरहेकाहरूले पनि सरकारको यस कदममा सहयोग गरेपछि थापाथलीमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको छ ।’

हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएको र अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी रहेको उनले बताएका छन् ।

‘सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्‍याएर उनीहरूको विवरण संकलन गरी काठमाडौंका विभिन्न होटलहरूमा राख्ने तयारी छ,’ उनले भनेका छन् ।

होटलमा राखिएका परिवारहरू वास्तविक सुकुमवासी हुन् कि होइनन् भनेर पहिचान गर्ने कार्य भोलिबाटै सुरु गरिने उनले उल्लेख गरेका छन् ।

‘वास्तविक सुकुमवासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टमा राखिनेछ,’ उनले अगाडि लेखेका छन्, ‘त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिनेछ ।’

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.