Skip to main content

Suchana Vatika

पुरानाको विरोध गर्दा जनता किन खुसी भए भन्नेबारे समीक्षा हुनुपर्छ : वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन (अनन्त)ले पुराना दलहरूको कमजोरीको जगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भएको स्वीकार गरिनुपर्ने बताएका छन् । 

१७३औँ विश्व मजदुर दिवसका सन्दर्भमा पार्टी सम्बद्ध मजदुर सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घद्वारा आइतबार राजधानीमा आयोजित ‘वर्तमान राजनीतिक अवस्थामा ट्रेड युनियनको भूमिका’ विषयक अन्तर्क्रियामा बोल्दै पुनले ३६ वर्ष शासन सत्तामा रहेका कांग्रेस–एमाले र १८ वर्ष सत्तामा बसेका आफूहरूको कमजोरीको जगमा देशमा लोकप्रियतावादीहरूको जन्म भएको स्विकार्न हिचकिचाउन नहुने बताएका हुन् ।  

पुराना दल, नेता तथा लोकतान्त्रिक संस्थाहरूको विरोध गर्दा जनता किन खुसी भए भन्नेबारे गम्भीर समीक्षा गरेर अघि नबढे आफूहरूतर्फ जनमत फर्कने सम्भावना नरहेको पुनको स्पष्टोक्ति थियो ।

‘अरू साथीहरू ३६ वर्षदेखि र हामी १८ वर्षदेखि सत्तामा छाैँ । बिना कारण त मानिसमा निराशा आएन । पुराना राजनीतिक पार्टीका नेता र दलहरूको विरोध गर्दा जनता किन खुसी भए भनेर हामीले आफूलाई हेर्नुपर्छ । विद्यालय र विश्वविद्यालयमा हामीले विद्यार्थी सङ्गठन, उद्योग प्रतिष्ठानमा मजदुर सङ्गठन, सरकारी निकायमा कर्मचारी सङ्गठन र शैक्षिक संस्थामा शिक्षक सङ्गठनको परिचालनमा हामी कहाँ चुक्यौँ ? किन नागरिक संस्थाहरू खारेज हुनुपर्छ भन्दा जनता खुसी हुने अवस्था आयो ? लोकतान्त्रिक अधिकार खुम्चिँदा पनि नागरिक खुसी हुने अवस्था कसरी आयो ? यसमा पार्टीहरूले र नेताहरूले पनि आफ्ना कमजोरीको गम्भीर आत्मसमीक्षा गर्न जरुरी छ ।’  

विश्वभर नै उदार लोकतन्त्रको असफलतापछि नवउदारवादी व्यवस्था उदाएको र नवउदारवादसँगै लोकप्रियतावाद अगाडि आएको चर्चा गर्दै उनले त्यसैको बाछिटा नेपाली राजनीतिमा परेको दाबी गरे । लोकप्रियतावादी शक्तिले जनमतबाट आएर शासन गर्ने प्रवृत्ति संसारभर नै रहेको बताए । 

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.