Skip to main content

Suchana Vatika

उत्पादन दोब्बर, माग धान्न मुस्किल, आत्मनिर्भर बन्न किन कठिन : कफी

विश्वलाई ‘प्रिमियम’ कफी पिलाउने नेपाल, आफैं आयातको भर

नेपालको कफी विश्व बजारमा ‘हिमालयन स्पेसलिटी कफी’ उपमा पाएर महँगो मूल्यमा बिक्री हुन्छ, तर स्वेदेशको आवश्यकता पूर्तिका लागि भने बर्सेनि अर्बौं रुपैयाँको आयात भइरहेको छ ।

  • नेपालमा कफीको माग वार्षिक करिब २ हजार ८ सय टन छ, तर स्वदेशी उत्पादन ६ सय ४१ टनमा सीमित छ, जसले आयातमा निर्भरता बढाएको छ।
  • चालु आर्थिक वर्षको ९ महिनामा नेपालले ९ सय ७९ टन कफी आयात गरी १ अर्ब ८४ करोड रुपैयाँ खर्च गरेको छ, जबकि निर्यात ३४ टन र ७ करोड १८ लाख रुपैयाँमा सीमित छ।
  • कफी व्यवसायी महासंघका अध्यक्ष ओमनाथ अधिकारीले उत्पादन बढाउन तीन वर्षको ग्रेस पिरियड र न्यून ब्याजदरको नीति आवश्यक भएको बताए।

२८ वैशाख, काठमाडौं । नेपाल पछिल्लो समय तीव्र गतिमा ‘कफी कल्चर’ तिर रूपान्तरण हुँदैछ । काठमाडौं उपत्यकाका गल्लीदेखि मोफसलका मुख्य सहरसम्म खुलेका क्याफेले नेपाली युवापुस्ता र सहरी जीवनशैलीमा आएको ठूलो बदलाव संकेत गर्छन् ।

जुन देशको कफीले विश्व बजारमा ‘हिमालयन स्पेसलिटी कफी’ को उपमा पाएर महँगो मूल्यमा बिक्री हुन्छ, त्यही देशका नागरिकको आवश्यकता पूर्तिका लागि भने बर्सेनि अर्बौं रुपैयाँको कफी आयात भइरहेको छ ।

मुलुकमा कफीलाई पेय पदार्थमा मात्र सीमित नराखी एक आधुनिक पहिचान र सामाजिक भेटघाटको अनिवार्य हिस्सा बनाइएको छ । सन् १९९९ मा ‘हिमालयन जाभा’ स्थापनासँगै सुरु भएको ‘ब्रिउड कफी’ यात्रा अहिले सातै प्रदेशका मुख्य सहरमा विस्तार भइसकेको छ ।

फ्रिलान्सरहरूको कार्यथलोदेखि व्यावसायिक बैठक र युवाको ‘डेटिङ स्पट’ सम्म क्याफेहरू नै रोजिन थालेपछि कफी माग आकासिएको व्यवसायी बताउँछन् । तर, मागको यो गतिलाई स्वदेशी उत्पादनले पछ्याउन नसक्दा बजार पूर्णत: आयातमा निर्भर हुन पुगेको छ ।

देशका ४० भन्दा बढी जिल्लामा कफी खेती हुने गरे पनि व्यावसायिकता अभावमा उत्पादन निकै न्यून छ । तथ्यांक अनुसार नेपालमा वार्षिक करिब २ हजार ८ सय टनभन्दा बढी कफीको माग छ, तर स्वदेशी उत्पादन ६ सय ४१ टनमा सीमित छ ।

यही झन्डै ७५ प्रतिशतको रिक्तता पूर्ति गर्न भारत, भियतनाम, कोलम्बिया, मलेसिया, थाइल्यान्ड, यूएई लगायत अन्य तेस्रो मुलुकबाट ठूलो परिमाणमा कफीको दाना र ‘इन्स्ट्यान्ट कफी’ भित्रिरहेको छ ।

नेपालले आफ्नो उत्कृष्ट ग्रेडको अर्गानिक कफी जापान, अमेरिका जर्मनी, स्वीट्जरल्यान्ड, इटाली, यूएईजस्ता देशमा ‘प्रिमियम’ मूल्यमा निर्यात गर्छ । डलर आर्जन गर्ने यो पाटो सकारात्मक देखिए पनि स्वदेशमा भने सस्तो मूल्य र कम गुणस्तरको विदेशी कफीले बजार ओगटेको छ ।

२९ गुणा बढी आयात

चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन–चैत) अवधिमा नेपालले १ रुपैयाँ बराबरको कफी निर्यात गर्दा करिब २६ रुपैयाँ बराबरको कफी र कफीजन्य उत्पादन आयात गरेको पाइएको छ ।

भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार नेपालले ९ लाख ७९ हजार १ सय ३० किलो (करिब ९ सय ७९ टन) कफी र कफीजन्य वस्तु आयात गरेको छ । यसका लागि नेपालबाट कुल १ अर्ब ८४ करोड ७४ लाख ८४ हजार रुपैयाँ बाहिरिएको छ ।

यसको तुलनामा नेपालले सोही अवधिमा जम्मा ३३ हजार ७ सय ७२ किलो (करिब ३४ टन) मात्र कफी निर्यात गर्न सकेको छ, जसबाट ७ करोड १८ लाख रुपैयाँ आम्दानी भएको छ । परिमाणका आधारमा हेर्दा निर्यातको तुलनामा आयात २९ गुणाले बढी देखिन्छ ।

आयातमा इन्स्ट्यान्ट कफी हिस्सा ठूलो

नेपालमा आयात हुने कफीमा दाना (गेडा) भन्दा प्रशोधित वा इन्स्ट्यान्ट कफीको हिस्सा अत्यन्तै बढी रहेको तथ्यांकले देखाउँछ । कुल १ अर्ब ८४ करोडको आयातमध्ये कफीको ‘एक्सट्र्याक्ट, एसेन्स र कन्स्ट्रेन्ट’ (इन्स्ट्यान्ट कफी) मात्रै १ अर्ब ५० करोड ८४ लाख ९७ हजार रुपैयाँको भित्रिएको छ । यसको परिमाण ५ लाख २७ हजार १ सय ६९ किलो छ । त्यस्तै कफीको मिश्रण १८ करोड ४८ लाख ३ हजार रुपैयाँको आयात भएको छ ।

कफी दाना आयात हेर्ने हो भने ११ करोड ३१ लाख ४ हजार रुपैयाँ बराबरको १ लाख ७२ हजार ९ सय ९६ किलो ‘रोस्टेड नगरिएको’ कफी भित्रिएको छ । यस्तै ४ करोड ४ लाख ३५ हजार रुपैयाँ बराबरको ३७ हजार २ सय २८ किलो रोस्टेड कफी आयात भएको देखिन्छ ।

निर्यात काँचो कफीमै सीमित

नेपालले अन्तर्राष्ट्रिय बजार पठाउने कफीमा ९७ प्रतिशत हिस्सा ‘रोस्टेड नगरिएको र क्याफिन नछुट्याइएको’ काँचो कफीको छ । ९ महिनामा ६ करोड ९९ लाख ५६ हजार रुपैयाँ बराबरको ३२ हजार ६ सय ४५ किलो यस्तो कफी निर्यात भएको छ । प्रशोधित वा रोस्टेड कफी निर्यात भने निकै न्यून, अर्थात् ७ लाख ४३ हजार रुपैयाँ (६ सय २५ किलो) मा खुम्चिएको छ ।

नेपालबाट निर्यात हुने कफी विशेषगरी युरोपेली देश र जापानमा बढी जाने गरेको देखिन्छ । तथ्यांक अनुसार मूल्यका आधारमा जर्मनी र परिमाणका आधारमा स्वीट्जरल्यान्ड नेपाली कफीका प्रमुख ग्राहक हुन् ।

नेपालले ९ महिनामा सबैभन्दा बढी १ करोड ६१ लाख ९६ हजार रुपैयाँ बराबरको ६ हजार ५ सय ५ किलो कफी जर्मनी निर्यात गरेको छ ।

यस्तै परिमाणका आधारमा स्वीट्जरल्यान्ड सबैभन्दा अगाडि छ । त्यहाँ १ करोड ५६ लाख ५१ हजार रुपैयाँ बराबरको ८ हजार ३ सय ३८ किलो कफी पठाइएको छ ।

युरोपकै इटालीमा १ करोड ३ लाख ५५ हजार रुपैयाँ बराबरको ४ हजार किलो कफी निर्यात भएको छ ।

एसियाली देशमध्ये जापान नेपाली कफीको ठूलो बजार हो । यहाँ विभिन्न प्रकारका कफी गरी ९८ लाख ८ हजार रुपैयाँ बराबरको ६ हजार ८ सय २७ किलो कफी निर्यात भएको छ ।

खाडी मुलुक यूएईमा ५६ लाख ९७ हजार रुपैयाँ बराबरको १ हजार ७ सय ५९ किलो कफी पुगेको छ ।

यसबाहेक बेलायत (२७ लाख ५७ हजार), अमेरिका (२२ लाख ४९ हजार), पोल्यान्ड (२० लाख ७४ हजार) र ताइवान (२० लाख २८ हजार) मा पनि नेपाली कफीको राम्रो माग देखिएको छ ।

समग्रमा, नेपालको कफी व्यापारमा १ अर्ब ७७ करोड ५६ लाख रुपैयाँ बराबर व्यापार घाटा छ ।

उत्पादन बढाउन नीतिगत अड्चन मुख्य बाधक : महासंघ

नेपाल कफी व्यवसायी महासंघ अध्यक्ष ओमनाथ अधिकारी नेपालमा कफीको ठूलो सम्भावना भए पनि उत्पादन गति सुस्त रहेको बताउँछन् ।

‘उपभोक्ता बढेका छन्, कफी संस्कृतिको विकास भएको छ, तर उत्पादन अनुपात बढ्न सकेको छैन,’ अधिकारीले अनलाइनखबरसँग भने, ‘अहिलेको ६ सय ४१ टन उत्पादनले हाम्रो आन्तरिक मागको सानो हिस्सा मात्रै ओगट्छ, जसले गर्दा आयातको ग्राफ उकालो लागेको हो ।’

महासंघले आगामी तीन वर्षभित्र उत्पादनलाई १ हजार टनभन्दा माथि पुर्‍याउने लक्ष्य राखेको छ । यद्यपि, अन्तर्राष्ट्रिय बजारमा १० हजार टन कफीको माग रहेकामा १ हजार टन उत्पादन पनि पर्याप्त नहुने उनी बताउँछन् ।

कफी उत्पादन बढ्न नसक्नुमा नीतिगत र वित्तीय झन्झट मुख्य कारण रहेको अधिकारी बताउँछन् । कफी खेतीले उत्पादन दिन कम्तीमा तीन वर्ष लाग्छ, तर बैंकिङ प्रणालीका कारण ऋण लिएको अर्को महिनादेखि नै किस्ता तिर्नुपर्ने बाध्यता आइपर्ने उनको भनाइ छ ।

‘म कफी खेती गर्छु भनेर बैंकमा ऋण माग्न गएँ भने सरकारी वा निजी बैंकले सहजै दिने अवस्था छैन,’ उनले भने, ‘दिइहाले पनि कफीले उत्पादन नदिँदै बैंकले अर्को महिनाबाटै ब्याज र किस्ता खोज्छ, आम्दानी नभई ऋण कसरी तिर्ने ? राज्यले कम्तीमा तीन वर्षको ग्रेस पिरियड र न्यून ब्याजदरको नीति नल्याएसम्म व्यावसायिक कफी खेती सम्भव छैन ।’

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र ब्रान्डिङ चुनौती

नेपाली कफी ‘स्पेसलिटी कफी’ का रूपमा चिनिन्छ र यो महँगो पनि छ । अहिले नेपाली ग्रिन बिन्सको मूल्य प्रतिकिलो १ हजार ६ सयदेखि १ हजार ७ सय रुपैयाँ पर्छ, जबकि भारतबाट आयातित कफी १ हजार २ सयदेखि १ हजार ३ सय रुपैयाँमै उपलब्ध हुन्छ ।

यसले गर्दा बजारमा नेपाली कफीका नाममा सस्तो विदेशी कफी मिसाएर बेच्ने विकृति बढेको अधिकारीले औँल्याए । ‘नेपाली कफीको गुणस्तर उच्च छ, तर राज्यले मल र सिँचाइमा अनुदान नदिँदा हाम्रो लागत बढी छ,’ अध्यक्ष अधिकारीले भने, ‘भारतले मल र सिँचाइमा ७५ प्रतिशतसम्म अनुदान दिन्छ, हामीकहाँ त्यो शून्य छ ।’

अधिकारीका अनुसार कफी उत्पादनलाई व्यावसायिक बनाउन अब साना किसानलाई मात्र भर परेर हुँदैन । कम्तीमा २ सयदेखि ५ सय रोपनीमा सामूहिक वा व्यावसायिक खेती गर्नेलाई राज्यले विशेष सहुलियत दिनुपर्छ ।

कफी खेतीमा रहेको जोखिम न्यूनीकरणका लागि प्रभावकारी बीमा नीति आवश्यक रहेको उनी बताउँछन् । नेपाली कफी शतप्रतिशत अर्गानिक भएकाले यसको प्रमाणीकरण र मल उत्पादनमा राज्यले सहयोग गर्नुपर्ने उनको माग छ ।

कफी उत्पादन बढाउन लोकमार्ग केन्द्रित रोपण र ५० प्रतिशत अनुदान : बोर्ड

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पनि हाल कफी क्षेत्रको मुख्य चुनौती नै उत्पादन वृद्धि गर्नु रहेको जनाएको छ ।

बोर्डका निर्देशक एवं प्रवक्ता डा. दीपक खनालले उत्पादन नबढेसम्म निर्यातमा उल्लेख्य सुधार नहुने बताए । उनका अनुसार कफी उत्पादन बढाउन बोर्डले रोपण क्षेत्र विस्तारको नयाँ योजना अघि सारेको छ ।

बोर्डले अहिले दुई मुख्य कार्यक्रमलाई प्राथमिकता दिएको छ । पहिलो कार्यक्रम अन्तर्गत मध्यपहाडी लोकमार्ग तथा अन्य रणनीतिक सडक केन्द्रित गरी ‘नमुना कफी बगैँचा निर्माण कार्यक्रम’ सुरु गरिएको छ । जसले सडक पहुँच भएका क्षेत्रमा कफी खेती विस्तार गर्ने लक्ष्य राखेको छ ।

दोस्रो कार्यक्रमका रूपमा ‘५० रोपनीको चक्लाबन्दी कफी रोपण’ छ । यस अन्तर्गत ठूलो क्षेत्रफलमा व्यावसायिक कफी खेती गर्ने किसान वा समूहलाई बोर्डले प्रोत्साहन गरिरहेको छ ।

कफी खेतीमा किसानको उत्साह बढाउन बोर्डले लागतमा आधारित अनुदान व्यवस्था गरेको छ । डा. खनालका अनुसार कफी रोपणका लागि आवश्यक पर्ने कुल लागतको ५० प्रतिशत बोर्डले अनुदानका रूपमा उपलब्ध गराउँदै आएको छ ।

यसका साथै बोर्डले स्थानीय सरकारसँग नयाँ मोडेलमा सहकार्य सुरु गरेको छ । ‘नीति र प्राविधिक सल्लाह बोर्डले दिने, तर बजेट र कार्यक्रम स्थानीय सरकारले कार्यान्वयन गर्ने’ गरी सहजीकरण भइरहेको उनले बताए ।

कफी किसानले भोग्दै आएको बैंक ऋणको मासिक किस्ता भुक्तानी, रासायनिक मल अभाव लगायत समस्या समाधान गर्न बोर्ड लागिपरेको उनको भनाइ छ ।

निर्देशक खनालले चिया र कफी दुवै कमोडिटीका लागि विशेष ‘बैंकिङ लगानी’ व्यवस्था गर्न कृषि विकास बैंकसँग छलफल भइरहेको बताए ।

‘किसानहरूलाई ऋणमा सहुलियत र सहजता प्रदान गर्न कृषि विकास बैंकसँग छिट्टै एउटा निचोडमा पुग्ने गरी काम गरिरहेका छौं,’ खनालले भने, ‘जसले कफी क्षेत्रमा लगानीको वातावरण थप सहज बनाउने छ ।’

कफी आयात-निर्यात र उत्पादन अवस्था

बोर्डको पछिल्लो ५ वर्षको तथ्यांकले भने कफी रोपण क्षेत्र र उत्पादन दुवैमा वृद्धि भएको देखाउँछ ।

तथ्यांक अनुसार आव २०७७/७८ मा ३ हजार ५२ हेक्टरमा कफी खेती गरिएकोमा २०८१/८२ सम्म आइपुग्दा यो क्षेत्र बढेर ५५०१.१ हेक्टर पुगेको छ । यो ५ वर्ष अवधिमा खेती विस्तारमा करिब ८० प्रतिशत वृद्धि देखिएको छ ।

आव २०७७/७८ मा ३१४.५ टन ग्रिन बिन उत्पादन भएकोमा २०८१/८२ मा ६४१.९ टन पुगेको छ । यसरी ५ वर्ष अन्तरालमा नेपालको कफी उत्पादन शतप्रतिशत (दोब्बर) बढेको बोर्डको तथ्यांकले देखाउँछ ।

आव २०७७/७८ मा ३ हजार ५२ हेक्टर क्षेत्रफलमा कफी लगाइएको थियो, जसबाट ३१४.५ टन कफी उत्पादन भयो । व्यापारतर्फ ९ करोड ६० लाख रुपैयाँको कफी निर्यात हुँदा १० करोड ६७ लाख रुपैयाँको आयात भएको थियो ।

आव २०७८/७९ मा खेती विस्तार भई ३ हजार ३ सय ४३ हेक्टर पुग्यो र उत्पादन बढेर ३५४.९ टन भयो । यस वर्ष आयात बढेर १२ करोड ७५ लाख रुपैयाँ पुगेको थियो भने निर्यात ११ करोड ७० लाख रुपैयाँको भएको थियो ।

यस्तै २०७९/८० मा कफी आयातमा ठूलो चाप देखियो । ३२ करोड ५८ लाख रुपैयाँ बराबरको कफी आयात हुँदा १३ करोड ४ लाख रुपैयाँको मात्र निर्यात भयो । खेती क्षेत्रफल ३ हजार ६ सय ५५ हेक्टर र उत्पादन ३९४.४ टन पुगेको थियो ।

आव २०८०/८१ मा कफी उत्पादनले ५ सय टनको सीमा काट्दै ५०१.३ टन पुग्यो । क्षेत्रफल बढेर ४ हजार ३ सय ९ हेक्टर पुग्यो । यो वर्ष हालसम्मकै बढी अर्थात् ४१ करोड ९८ लाख रुपैयाँ बराबरको कफी आयात भएको थियो भने निर्यात १४ करोड ९२ लाख रुपैयाँको भएको थियो ।

त्यस्तै २०८१/८२ मा कफी खेती गरिएको क्षेत्रफल बढेर ५५०१.१ हेक्टर पुगेको छ भने उत्पादन पनि हालसम्मकै उच्च ६४१.९ टन पुगेको छ । निर्यात ११ करोड ४३ लाख रुपैयाँको भएको थियो भने १४ करोड ४१ लाख रुपैयाँको आयात भएको थियो ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.