- सुकुमबासी सङ्घ र मोर्चाले देशैभर डोजर आतङ्क र संस्थागत हत्याविरुद्ध माइतीघरमा खबरदारी कार्यक्रम आयोजना गरेका छन्।
- उनीहरूले सुकुमबासी बस्तीमा बिना विकल्प डोजर चलाइएको र राज्यले दमन गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्।
- प्रदर्शनकारीले डोजर आतङ्क बन्द गरी जिउधनको सुरक्षा गर्न र स्थायी बसोबासको ग्यारेन्टी गर्न माग गरेका छन्।
काठमाडौँ । अखिल नेपाल सुकुमबासी सङ्घ र संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले देशका विभिन्न स्थानमा भइरहेको डोजर आतङ्क र संस्थागत हत्याको विरुद्धमा राजधानीको माइतीघर मण्डलामा खबरदारी कार्यक्रम आयोजना गरेका छन्।

प्रदर्शनमा सहभागीहरूले सुकुमबासीका मुद्दालाई सम्बोधन गर्नुको साटो सरकार र स्थानीय प्रशासनले बल प्रयोग गरेर उनीहरूलाई विस्थापित गर्न खोजेको आरोप लगाएका छन्। उनीहरूले यस्तो कार्यलाई संस्थागत हत्याको संज्ञा दिँदै तत्काल डोजर आतङ्क बन्द गर्न र आफूहरूको जिउधनको सुरक्षा गर्न माग गरेका छन्।
खबरदारी कार्यक्रमका क्रममा सुकुमबासी अधिकारकर्मीहरूले भूमिहीन र सुकुमबासीहरूको संवैधानिक हकको रक्षा गर्न र उनीहरूलाई स्थायी बसोबासको ग्यारेन्टी गर्न सरकारसँग माग गरे। माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले विभिन्न नारा अङ्कित प्लेकार्ड बोकेर सरकारको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै न्यायका लागि दबाब दिएका छन्।
