Skip to main content

Suchana Vatika

जनमतको ह्वीप – मधेशका मुख्यमन्त्री यादवको विपक्षमा मतदान गर्न

जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको विश्वासको विपक्षमा अनिवार्य मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ।
जनमत संसदीय दलका नेता चन्दनकुमार सिंहले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २८ को उपदफा १ (क) अनुसार ह्वीप जारी गरिएको उल्लेख गर्नुभएको छ।
जनमतले वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएको भए पनि अर्थमन्त्री महेश प्रसाद यादव र खेलकुद मन्त्री बसन्त कुशवाहा पदमै छन्।

१ जेठ, जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको विश्वासको विपक्षमा अनिवार्य मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

उसले सांसदहरुलाई अनिवार्य उपस्थित भएर विश्वासको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदैछन् । बिहीबार बसेको जनमत संसदीय दलको बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिन तोकेको समयमा सदनमा अनिवार्य उपस्थित भएर विश्वासको विपक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप जारी गरेको हो ।

‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २८ को उपदफा १ (क) अनुसार मिति २०८३/०२/०१ गते मधेश प्रदेश सरकारको विश्वासको प्रस्तावको विपक्षमा अनिवार्य उपस्थित भई मतदान गर्न संसदीय दलको निर्णय बमोजिम संसदीय दलको सदस्यहरुलाई निर्देशन (ह्वीप) जारी गरिएको छ,’  जनमत संसदीय दलका नेता चन्दनकुमार सिंहले जारी गरेको निर्देशन पत्रमा उल्लेख छ ।

गत वैशाख २१ गते जनमतले सरकारबाट समर्थन फिर्ता लिएको थियो । यद्यपि उसको दल जनमतका अर्थमन्त्री महेश प्रसाद यादव र समाज कल्याण तथा खेलकुद मन्त्री बसन्त कुशवाहा भने अझै पदमै छन् ।

आफ्नो पार्टीले सरकारको समर्थन फिर्ता लिँदा पनि मन्त्रीद्वय यादव र कुसवाहाले नैतिकताको आधारमा राजिनामा दिएका छैनन् । दलको आन्तरिक विवादको कारण जनमतले दलको नेताबाट महेश प्रसाद यादवलाई हटाएर सिंहलाई नियुक्त गरिसकेको छ । १०७ सदस्यीय मधेश प्रदेश सभामा जनमतका हाल १२ सांसद छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.