Skip to main content

Suchana Vatika

होर्मुज स्ट्रेट खोलिने, इरानसँग शान्ति सम्झौता लगभग तय भएको ट्रम्पको दाबी

ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘सम्झौताका अन्तिम पक्ष र विवरणहरूबारे हाल छलफल भइरहेको छ, र यसलाई छिट्टै घोषणा गरिनेछ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका-इजरायल र इरानबीचको युद्ध अन्त्य गर्ने समझदारी पत्र लगभग तय भइसकेको बताएका छन्।ट्रम्पले कतार, साउदी अरब, यूएई, पाकिस्तान, जोर्डन, इजिप्ट, टर्की र बहराइनका नेताहरूसँग कुराकानी गरेपछि सम्झौताको अन्तिम पक्षहरू छलफलमा रहेको जानकारी दिएका छन्।
इरानी अधिकारीहरूले सम्झौतामा आणविक कार्यक्रमको भविष्यबारे केही उल्लेख नभएको र आगामी ३० देखि ६० दिनभित्र छुट्टै वार्ता हुने बताएका छन्।

१० जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका-इजरायल र इरानबीचको युद्ध अन्त्य गर्ने समझदारी पत्र लगभग तय भइसकेको र यसलाई अन्तिम रूप दिन मात्र बाँकी रहेको बताएका छन्।

मध्यपूर्वका नेताहरूसँगको टेलिफोन वार्तापछि ट्रम्पले सम्झौतामा महत्त्वपूर्ण मानिएको होर्मुज स्ट्रेट खोल्ने विषय पनि समावेश हुने जानकारी दिएका हुन्।

ट्रम्पले शनिबार कतार, साउदी अरब, यूएई, पाकिस्तान, जोर्डन, इजिप्ट, टर्की र बहराइनका नेताहरूसँग कुराकानी गरेपछि यो घोषणा गरेका हुन्। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग पनि छुट्टै कुराकानी गरेका थिए।

ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘सम्झौताका अन्तिम पक्ष र विवरणहरूबारे हाल छलफल भइरहेको छ, र यसलाई छिट्टै घोषणा गरिनेछ।’

यस विषयमा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले संवाद सहज बनाउन आफ्नो देशले प्रयास जारी राख्ने बताउँदै छिट्टै अमेरिका-इरान वार्ताको आतिथ्यता गर्ने आशा व्यक्त गरेका छन्।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले वार्ताको प्रगतिप्रति खुसी व्यक्त गर्दै सम्झौताले होर्मुज स्ट्रेटमा स्वतन्त्र आवतजावत सहज बनाउने बताए।

त्यस्तै, इजिप्टको राष्ट्रपतिको कार्यालयले सबै पक्षलाई कूटनीतिक पहललाई सदुपयोग गर्दै सम्झौतामा पुग्न आग्रह गरेको छ।

सर्तहरूमा अमेरिका र इरानको फरक-फरक दाबी

ट्रम्पले सम्झौता नजिक पुगेको बताए पनि अमेरिकी र इरानी अधिकारीहरूले प्रस्तावित सम्झौताका सर्तहरूलाई फरक-फरक ढङ्गले व्याख्या गरेका छन्।

अमेरिकी अधिकारीहरूका अनुसार, यो सम्झौतामा इरानले आफ्नो उच्च संवर्धित युरेनियमको भण्डार त्याग्ने प्रतिबद्धता जनाएको छ। यद्यपि, इरानले यो कसरी गर्नेछ भन्ने विषय आगामी आणविक वार्ताका लागि छाडिएको छ।

तर, तीन जना वरिष्ठ इरानी अधिकारीहरूले न्युयोर्क टाइम्सलाई बताएअनुसार यस सम्झौतामा इरानको आणविक कार्यक्रमको भविष्यबारे केही उल्लेख छैन। उनीहरूका अनुसार सबै आणविक विषयमा आगामी ३० देखि ६० दिनभित्र छुट्टै वार्ता हुनेछ।

इरानी अधिकारीहरूले दाबी गरेअनुसार यो सम्झौताले लेबनानसहित सबै मोर्चाहरूमा युद्ध रोक्नेछ, विना कुनै शुल्क होर्मुज स्ट्रेट खोल्नेछ, इरानमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनेछ र विदेशमा रोक्का रहेको इरानको २५ अर्ब डलर सम्पत्ति फुकुवा गर्नेछ।

यसअघि शनिबार इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले वासिङ्टन र तेहरान समझदारी पत्रको मस्यौदा तयार गर्ने अन्तिम चरणमा रहेको बताएका थिए। पाकिस्तानी सेना प्रमुख असिम मुनिरले शनिबार इरानको छोटो तर अत्यन्त फलदायी भ्रमण सम्पन्न गरेलगत्तै ट्रम्पको यो भनाइ आएको हो।

धम्की र कूटनीतिको दोहोरो नीति

यसअघि यसै साता ट्रम्पले युद्धविराम सम्झौताका लागि समय सकिँदै गएको भन्दै इरानलाई चेतावनी दिएका थिए। खाडी देशहरूको आग्रहमा मात्र आफूले आक्रमण होल्ड गरेको उनले बताएका थिए।

त्यसयता ट्रम्पले कहिले सम्झौता नजिक पुगेको बताउने त कहिले अमेरिकी झन्डाले ढाकिएको इरानको तस्बिर राखेर धम्की दिने गर्दै आएका थिए।

अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमाथि युद्ध सुरु गरेका थिए। अप्रिल ८ यता केही छिटपुट घटनाबाहेक युद्ध ठूलो मात्रामा रोकिएको छ।

अमेरिकाले इरानका बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेको छ भने इरानले विश्वभर ऊर्जा ढुवानीका लागि महत्त्वपूर्ण मानिने होर्मुज स्ट्रेट बन्द गरेको छ।

सम्झौताका मुख्य विवादित विषयहरूमा इरानको आणविक कार्यक्रमको भविष्य, स्ट्रेटमाथिको नियन्त्रण, मध्यपूर्वमा अमेरिकी सेनाको उपस्थिति र रोक्का गरिएको इरानी सम्पत्ति रहेका छन्।

अमेरिकाभित्रै विरोध सुरु

सम्झौताको पूर्ण विवरण नआउँदै अमेरिकाभित्र भने यसको विरोध सुरु भएको छ। रिपब्लिकन सिनेटर टेड क्रुजले सम्भावित सम्झौताप्रति आफू अत्यन्तै चिन्तित रहेको बताएका छन्। यदि सम्झौताले इरानलाई युरेनियम संवर्द्धन गर्न, आणविक हतियार विकास गर्न र होर्मुज स्ट्रेटमा प्रभावकारी नियन्त्रण कायम राख्न दियो भने त्यो गम्भीर गल्ती हुने उनको भनाइ छ।

क्रुजले ट्रम्पलाई आफूले सुरुमा कोरेको रेड लाइन (कडा अडान) लागू गर्न आग्रह गरेका छन्।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.