Suchana Vatika

नेपालको चिया परीक्षणका लागि लगातार दबाब, भारतीय टी बोर्डको दोहोरो नीति

नेपाली चियाको प्रयोगशाला परीक्षणलाई अनिवार्य नगर्ने आफ्नै प्रतिबद्धताबाट भारतीय टी बोर्ड पछि हटेको भन्दै नेपाली पक्ष फेरि संशकित बनेको छ।

नेपालबाट भारत जाने तयारी चिया बोकेका हरेक गाडीबाट चियाको नमूना संकलन गर्ने र त्यसको प्रयोगशाला परीक्षण रिपोर्ट नआएसम्म बजार पुर्याउन नदिने भारतीय नयाँ नीतिले यसअघि १९ दिनसम्म चिया निर्यात रोकिएको थियो।

नेपालबाट आयात हुने चियामा लगाइएको ‘स्टयान्डर्ड अपरेटिङ प्रोसिड्युर’ मा भारतीय टी बोर्डले मंगलबार संशोधन गरेपछि बुधबारदेखि चिया भारत जान थालेको छ।

यद्यपि  नेपालको काँकडभिट्टा नाकाबाट भारत पश्चिम बंगालको पानीट्यांकी नाका पुग्नासाथ भारतीय टी बोर्डका कर्मचारीले चियाको नमूना संकलन गर्नुपर्ने भन्दै अड्को थापिरहेका छन्।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले सेतोपाटीलाई दिएको जानकारी अनुसार टी बोर्डका कर्मचारीले प्रत्येक गाडीको नमूना संकलन गर्नुपर्छ भनेपछि भारतीय भन्सार एजेन्टहरू र भन्सार कर्मचारीहरूले सामूहिक प्रतिवाद गरेपछि अहिलेसम्म चियाको गाडी रोकिएको छैन।

‘टी बोर्डले हरेक गाडीबाट नमूना संकलन गर्न खोजिरहेको छ, भारतीय भन्सार एजेन्ट र कर्मचारीहरूले त्यसो गर्न पाइँदैन भनेर हाम्रो चिया बोकेको गाडी छुटाइदिइरहेका छन्,’ अध्यक्ष पराजुलीले भने, ‘बुधबारयता यस्तै विवादबीच चिया भारत पुगिरहेको छ। यसरी कहिलेसम्म जान्छ, केही निश्चित छैन।’

भारतीय टी बोर्डकै कडाइले निम्तिएको झन्झटका कारण मे १ देखि १९ दिनसम्म रोकिएको तयारी चिया पाँच दिनयता भारतीय बजार पुग्न थालेको तर सजिलै भने नगएको भन्दै नेपाली निर्यातकर्ताहरू संशकित बनेका हुन्।

त्यहाँको टी बोर्डले नेपाली चियामाथि गरेको कडाइ खुकुलो बनाएपछि काँकडभिट्टा नाकाबाट पाँच दिनयता सात गाडी चिया भारत प्रवेश गरिसकेको छ। आइतबार मात्रै दुई गाडी चिया भारत पठाइएको छ।

भारतीय टी बोर्डले नेपालबाट घरेलु खपतका लागि आयात हुने चियाको प्रयोगशाला परीक्षण अनिवार्य नगर्न भन्दै मातहतका निकायमा गएको मंगलबार नै परिपत्र गरेको थियो। बोर्डको सोही परिपत्रका आधारमा चिया निर्यात सुरु भएको हो। यद्यपि नाकामा खटिएका बोर्डका कर्मचारीहरुले भने पुरानै शैलीमा नमूना संकलन अनिवार्य गर्नुपर्ने भन्दै अवरोध गर्न खोजेका हुन्। 

‘भारतीय टी बोर्डको कुरा र व्यवहारबीच मेल खाएन,’ अध्यक्ष पराजुलीले थपे, ‘गएको मंगलबार मात्रै मातहतकमा सबैतिर नेपालबाट आउने चियाको प्रयोगशाला परीक्षण अनिवार्य नगर्नु भन्यो। भोलिपल्ट बाटै उसैका कर्मचारीले हरेक गाडीबाट नमूना लिन खोज्नुले शंका जन्माएको छ।’ 

मे १९ तारिखमा नियम संशोधन भएको छ। त्यसपछिको स्पष्ट पत्र र शतप्रतिशत स्याम्पलिङ सम्बन्धी आधिकारिक निर्देशन लिएर आउनु नत्र निर्वाध जान दिनुपर्छ भनेर भारतीय एजेन्टहरूले भनेपछि नेपाली चिया गइरहेको उद्योगीहरूको भनाइ छ। 
 
अहिले भारतीय टी बोर्डका कर्मचारीहरू जबर्जस्ती नमुना निकाल्न खोजिरहेका छन् भने व्यापारी र कस्टम अधिकारीहरू त्यसको विपक्षमा उभिएका छन्।

‘भारततर्फकै निकायहरूबीच समन्वय अभाव देखिएको छ। उनीहरू आफ्नै आन्तरिक विवादमा अल्झिएका छन्,’ चिया निर्यातमा संलग्न काँकडभिट्टाका भन्सार एजेन्ट रोशन अग्रवालले भने।

अग्रवालका अनुसार टी बोर्डले कडाई गर्न खोज्दा खोज्दै पनि पाँच दिनयता ६५ मेट्रिक टन अर्थोडक्स चिया भारतीय बजार भित्रेका छन्। अहिलेसम्म सिटिसी चिया भने गएको छैन।

काँकडभिट्टाबाट भारत पठाइएका ७ मध्ये ५ वटा ट्रकले ९–९ मेट्रिक टन गरी ४५ मेट्रिक टन र आइतबार गएका दुईटा ट्रकले १०–१० मेट्रिक टन गरी कूल ६५ मेट्रिक टन चिया भारत पुर्याइसकेका छन्।

नेपालमा उत्पादित सिटिसी र अर्थोडक्समध्ये सिटिसी चिया धेरै परिमाणमा भारत पुग्छ। भन्सार एजेन्ट अग्रवालका अनुसार सिटिसी चिया ल्याए फेरि हरेक गाडीबाट नमूना लिने भनेर टी बोर्डका कर्मचारीले भनेकै कारण भारतीय व्यापारीहरूले अहिलेसम्म सिटिसी चिया मगाउने आँट नगरेका हुन्।

‘अहिले चिया निर्यात रोकिएको छैन, तर निर्वाध रूपमा जान पनि पाइरहेको छैन,’ उद्योगी पराजुलीले भने, ‘नेपालबाट जाने चिया भारतको आन्तरिक खपतमा धेरै जान्छ। आन्तरिक खपतका लागि आयात गर्ने चियालाई अनिवार्य परीक्षणको दायरामा नराख्ने टी बोर्डले भनेको थियो। आफ्नै प्रतिबद्धताबाट बोर्ड किन पछि हट्न खोजेको हो भन्ने बुझ्न सकिएन।’

बेलैमा परीक्षण रिपोर्ट दिने भए प्रयोगशाला पठाउन आफूहरूलाई कुनै समस्या नहुने नेपाली पक्षले बताउँदै आएको छ। तर, कोलकाताबाट रिपोर्ट आउन दुई साताभन्दा बढी लाग्ने अनि परीक्षण शुल्क पनि पहिलेभन्दा धेरै बनाएपछि झन्झट र लागत सबै बढेको नेपाली निर्यातकर्ताहरू बताउँछन्।

परीक्षण रिपोर्ट कतिसम्म ढिलो हुन्छ भन्ने प्रमाण आफूहरूले प्रत्यक्ष भोगिरहेको निर्यातकर्ताहरूको भनाइ छ। यसअघि अवरोधकै बीचमा भारतीय पक्षको मुड बुझ्न एक ट्रक चिया नेपाली पक्षले पठाएको थियो। पानीट्यांकी पुगेको चार दिनपछि नमूना संकलन गरिएको चियाको परीक्षण रिपोर्ट अहिलेसम्म्म आएको छैन।

‘२० दिन भयो त्यसको रिपोर्ट आएकै छैन,’ अध्यक्ष पराजुलीले भने, ‘धन्य भारतीय एजेन्ट र भन्सारको दबाबमा बोर्डले त्यो ट्रकलाई १५ दिनपछि अघि बढ्न दिएको थियो। सधैं यसरी २०–२५ दिन रिपोर्ट कुर्ने हो भने चिया कसरी भारत पठाउन सकिन्छ?’

यसअघि भारतको टी बोर्डले मे १ देखि आयातित चियामा अनिवार्य परीक्षण सम्बन्धी नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ लागू गरेको थियो। उक्त व्यवस्थाअनुसार नेपालबाट भारत जाने प्रत्येक चिया कन्साइनमेन्टको नमुना संकलन गरेर प्रयोगशाला परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको थियो।

नयाँ नियम लागू भएसँगै नेपाली चिया निर्यात लगभग ठप्प बनेको थियो। प्रत्येक कन्साइनमेन्टमा अनिवार्य ल्याब परीक्षण, उच्च शुल्क र लामो ढिलासुस्तीका कारण उद्योगी, निर्यातकर्ता र किसानहरू गम्भीर समस्यामा परेका थिए।

यही बेला भारतको वाणिज्य मन्त्रालयले हस्तक्षेप गर्दै टी बोर्डलाई एसओपी संशोधन गर्न निर्देशन दिएको थियो। त्यसपछि गएको मंगलबार भारतीय टी बोर्डले सूचना जारी गर्दै भारतमा घरेलु बिक्रीका लागि ल्याइने चियालाई अनिवार्य परीक्षणबाट अस्थायी रूपमा छुट दिएको थियो।

संशोधित व्यवस्थाअनुसार भारतभित्रै बिक्री हुने चियामा प्रत्येक कन्साइनमेन्टको अनिवार्य परीक्षण आवश्यक पर्नेछैन। यद्यपि ‘र्‍यान्डम’ परीक्षण भने गर्न सकिनेछ। पुनः निर्यातका लागि भारत भित्रिने चियामा भने अनिवार्य परीक्षण यथावत् रहने बोर्डको परीपत्रमा उल्लेख थियो।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.