Skip to main content

Suchana Vatika

कुन-कुन प्रदेशमा अवरुद्ध छन् मुख्य राजमार्ग, बाढी र पहिरोको कहर

देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।कोशी प्रदेशको मध्य पहाडी लोकमार्गको पाँचथर खण्ड पूर्ण रूपमा ठप्प भएको छ भने भोजपुर र सङ्खुवासभामा एकतर्फी सवारी साधन सञ्चालन भइरहेको छ।
बागमती प्रदेशको काभ्रेपलाञ्चोकमा बीपी राजमार्गमा यातायात रोकिएको छ, गण्डकी प्रदेशको म्याग्दीमा बेनी-जोमसोम सडक एकतर्फी छ, र कर्णाली प्रदेशको हुम्लामा हिल्सा-सिमकोट सडक बन्द छ।

काठमाडौँ । देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। 

नेपाल प्रहरीले बिहीबार बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा आवागमन प्रभावित भएको जनाएको हो।

प्राकृतिक प्रकोप र सम्भावित जोखिमका कारण कतै सडक पूर्ण रूपमा बन्द छन् भने कतै ‘एकतर्फी’ रूपमा मात्र सवारी साधन सञ्चालन भइरहेका छन्। बाढी र पहिरोको सबैभन्दा धेरै मार कोशी प्रदेशमा परेको छ। विशेषगरी मध्य पहाडी लोकमार्गको पाँचथर खण्ड पूर्ण रूपमा ठप्प भएको छ।

प्रहरीका अनुसार जेठ ८ गते आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिका–३ स्थित ओयाम बजार र रिजालभिर तथा वडा नम्बर २ को दोभानमा सडक ‘पूर्ण रूपमा अवरोध’ भएको छ। यस्तै, वैशाख १२ गतेदेखि नै भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्ग र वैशाख २३ गतेदेखि सङ्खुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्तीस्थित कोशी राजमार्गमा पहिरोका कारण सवारी साधनहरू ‘एकतर्फी’ मात्र सुचारु रहेका छन्। भोजपुरको हकमा भने वैकल्पिक बाटोको समेत व्यवस्था भएको जानकारी दिइएको छ।

बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोकमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै यातायात रोकिएको छ। वैशाख २२ गतेदेखि बीपी राजमार्ग सडक खण्डअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

उता, गण्डकी प्रदेशको म्याग्दीमा पनि पहिरोले बाटो अवरुद्ध बनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा वैशाख १६ गते र रघुगङ्गा गाउँपालिका–३ तल्लो बैसरीमा जेठ ७ गते गएको पहिरोका कारण बेनी–जोमसोम सडक खण्डमा यातायात ‘एकतर्फी’ रूपमा मात्र चलिरहेको छ।

कर्णाली प्रदेशको हुम्लामा पनि सम्भावित पहिरोको जोखिमका कारण यातायात प्रभावित बनेको छ। नाम्खा गाउँपालिका–२ स्थित हिल्सा–सिमकोट सडक खण्डमा वैशाख २९ गतेदेखि नै सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको र बाटो अवरोधसम्बन्धी थप र विस्तृत सूचना नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत पनि निरन्तर अद्यावधिक गरिने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

707454460_1304309511831569_4951673747823597264_n

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.