प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
विपक्षी दलहरूले नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले रोष्टममा आएर माफी माग्नुपर्ने माग गर्दै बैठकमा विरोध जनाएका थिए।
विपक्षी दलहरूले उभिएर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले पटक पटक बस्न आग्रह गरेका थिए। आफूले विपक्षी दलका प्रमुख सचेतकहरूलाई कार्यव्यवस्था परामर्श समितिको छलफलमा डाके पनि अनुपस्थित भएको गुनासो गरे। उनले अन्य सांसदहरूको बोल्न पाउने अधिकार रहेको भन्दै विपक्षी दलहरूलाई बैठकमा अवरोध नगर्न आग्रह गरेका थिए।
‘जनताको विषयमा अन्य सार्वभौम सांसदले बोल्न चाहँदा समय नदिने हो,’ सभामुख अर्यालले प्रश्न गर्दै भनेका थिए, ‘हाम्रो कार्यसूचीमा केही विषय छन्। हिजैदेखि विपक्षी दलका नेताले बोल्न समय मागिराख्नुभएको छ। त्यसकारण बसेर सभा सञ्चालन गरौँ। कार्यसूचीमा प्रवेश गरौँ।’
सभामुख अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे विपक्षी दलहरूले उठाएको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए।
सभामुख अर्यालले कार्यसूचीको विषय उप्काएपछि नेकपा एमालेका गुरू बरालले ‘प्रधानमन्त्रीलाई बोलाएर देशबासीको नाममा माफी माग्न लगाइयोस्’, बरालले भने, ‘कार्यसूचीको भन्दा यो अग्राधिकारको विषय हो। देशलाई पछाडि पारेर अरू सूचि अघि बढ्दैन। यो सामान्य घटनामा देश लज्जित भएको छ। विधि र प्रक्रिया अघि बढाउनुपर्छ तर त्योभन्दा पहिला उहाँले माफी माग्नुपर्छ।’
विपक्षी दलहरूले सभामुख अर्याललाई पनि पेलेर बैठक अघि बढाएको आरोप लगाएका थिए।
जबाफमा अर्यालले भने – ‘मेरो इच्छा र चाहना हुँदैन। पेलेर सदन चलाउने।’
तर नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले तत्कालै ‘किन चलाउनु भयो त’ भन्दै प्रश्न गरेका थिए।
लगत्तै नेकपा एमालेकै अर्की सांसद साजिदा खातुन सिद्धिकीले ‘पेलेर जानेमै प्रतिस्पर्धा गर्ने हो?’ भनेर प्रश्न सोधेकी थिइन्।
जबाफमा सभामुख अर्यालले भने, ‘प्रतिस्पर्धा कानुन बनाउनेमा गरौँ। देश, जनता, राष्ट्रियता र जनजीविकाका सवालमा गरौँ। प्रतिस्पर्धा देशको भ्रष्टाचार र सुशासनसँग गरौँ। केमा गर्ने ध्यान दिऔं।’
रास्वपा सांसदहरूले सभामुखको भनाइमा ताली बजाएर समर्थन गरेक थिए।
आइतबार मर्यादापालकको घेरामा छेकिएर बैठक चलाएका सभामुख अर्यालले सोमबार आफूले निर्णयार्थ मात्र पेश गरेको प्रस्टीकरण दिएका छन्।
‘मैले हिजो देखि प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक र सचेतकलाई बोलाएको थिएँ। नजरअन्दाज गर्नुभयो’, अर्यालले भने, ‘तर त्यसले प्रक्रिया रोकिदैँन।’
सभामुख अर्यालले संविधान बनेको दश वर्षमा पनि धेरै कानुन बन्न नसकेको उल्लेख गर्दै ‘यसैगरी कानुन बन्छ त’ भन्दै सांसदहरुलाई प्रश्न गरेका थिए।
‘बस्नुस्, कार्यसूचीमा प्रवेश गरौँ। छलफल गरौँ। मैले समय दिएँ। कुरा सुनेँ। सदन सञ्चालन गरौँ। बसेर सभा सञ्चालन गर्न सहयोग गर्नुस्’, अर्यालले आग्रह गर्दै भने, ‘नियमावलीको दफाबार छलफल संसदमा गर्ने भनेर पास भएको थियो। त्यही अनुसार अघि बढ्यौँ। सभामुखले निर्णयार्थ मात्र पेश गर्न सक्छ। सभामुखले स्वीकार गर्ने वा अस्वीकार गर्ने भन्ने विषय सभालाई छाड्ने हो। यही सभामा यी माननीय सदस्यहरुले कन्भिस गरेर अस्वीकृत गर्न सक्नुहुन्थ्यो। मैले कुनै विषय स्वीकृत वा अस्वीकृत गरेको छैन। मैले निर्णयार्थ पेश गरेको मात्र हो।’
अर्यालले थपे – ‘न मैले नियमावली मिचेको छु। न पेलेको छु।’
सभामुखले पटक पटक बस्न आग्रह गर्दा पनि विपक्षी दलहरुले उभिएर विरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ।