पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दलित पत्रकारहरूको क्षमता अभिवृद्धि, खोज पत्रकारिताका लागि प्रोत्साहन तथा उनीहरूको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न विशेष कार्यक्रम ल्याउनुपर्ने बताएकी छन्।
उनले दलितको सवाललाई कुनै एउटा समुदायको मात्र नभई सिङ्गो राष्ट्रको साझा सवाल र राष्ट्रिय मुद्दाका रूपमा सञ्चार माध्यमहरूले प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।
पूर्वराष्ट्रपति भण्डारीले मिडियालाई लोकतान्त्रिक र निष्पक्ष बनाउनका लागि आन्तरिक रूपमा समावेशी नीति कडाइका साथ लागू गर्न आग्रह गरिन्।
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले दलित पत्रकारहरूको क्षमता अभिवृद्धि, खोज पत्रकारिताका लागि प्रोत्साहन तथा उनीहरूको भौतिक र मानसिक सुरक्षा सुनिश्चित हुने गरी विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताएकी छन्।
राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको एक विशेष कार्यक्रममा बोल्दै उनले यस्तो आवश्यकता औँल्याएकी हुन्।
पूर्वराष्ट्रपति भण्डारीले समाचार सम्बद्ध सञ्चार गृह तथा निकायहरूलाई पनि दलित पत्रकारहरूको हकमा आन्तरिक रूपमा समावेशी नीति कडाइका साथ पालना गराउन आग्रह गरिन्। उनले दलितको सवाललाई कुनै एउटा समुदायको मात्र सवालका रूपमा सीमित नराखी सिङ्गो राष्ट्रको साझा सवाल र राष्ट्रिय मुद्दाका रूपमा सञ्चार माध्यमहरूले प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिइन्।
राज्य, नागरिक समाज र सञ्चार उद्यमीहरूले मिडियालाई साच्चै लोकतान्त्रिक र निष्पक्ष बनाउने हो भने आन्तरिक रूपमा समावेशी नीति कडाइका साथ पालना गर्न आवश्यक रहेको उनको भनाइ थियो। समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘म राज्यको सबै निकाय, नागरिक समाज र विशेष गरी मिडिया सञ्चालकहरूलाई आग्रह गर्न चाहन्छु–मिडियालाई साँच्चकै लोकतान्त्रिक र निष्पक्ष बनाउने हो भने आन्तरिक रूपमा समावेशी नीति कडाइका साथ लागू गरिनुपर्दछ।’
उनले दलित पत्रकारहरूको क्षमता विकास र कार्य क्षेत्रमा उनीहरूको सुरक्षाको ग्यारेन्टी गर्न नेपाल सरकार र सञ्चार सम्बद्ध संस्थाहरूले विशेष ध्यान दिनुपर्ने स्पष्ट पार्दै थपिन्, ‘दलितको सवाललाई कुनै एउटा समुदायको मात्रै सवाल मात्रै नभई सिङ्गो राष्ट्रको साझा सवाल र राष्ट्रिय मुद्दाको रूपमा मिडियाले प्राथमिकताका साथ लिनु पर्दछ। दलित पत्रकारहरूको क्षमता अभिवृद्धि, खोज पत्रकारिताका लागि प्रोत्साहन र कार्य क्षेत्रमा उनीहरूको भौतिक तथा मानसिक सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार र समाचार सम्बद्ध संस्थाहरूले विशेष कार्यक्रम ल्याउन जरुरी छ।’
यसका साथै पूर्वराष्ट्रपति भण्डारीले कुनै पनि समाजको प्रगति र रूपान्तरणमा पत्रकारहरूको कलम निकै शक्तिशाली हुने उल्लेख गरिन्। पत्रकारिता जगत्ले समाजलाई सही दिशा निर्देश गर्नुपर्ने भएकाले पत्रकारहरूले आफ्नो कलमको दुरुपयोग हुने खालका कुनै पनि गतिविधि गर्न नहुने र सधैँ व्यावसायिक मर्यादाभित्र रहनुपर्ने उनको तर्क थियो।