Suchana Vatika

बढ्यो इरान-अमेरिका युद्ध रोकिने सम्भावना, इसराइल र लेबनन युद्धविराम लागू गर्न सहमत

इसराइल र लेबनन अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम लागू गर्न सहमत भएका छन्। 

दक्षिणी लेबननमा इरान संचालित हिजबुल्लाह समुह र इसराइली सेनाबीच भइरहेको लडाइँ अमेरिकाले रोक्न खोजिरहेको बेला यो सहमति भएको हो।
इरानले अमेरिकासँगको कुनै पनि सम्झौताका लागि इसराइल र लेबननबीचको लडाइँको अन्त्यलाई एउटा सर्त बनाएको छ। यो सहमतिले इरान-अमेरिका युद्ध रोकिन समभावना केही बढाएको छ।

बुधबार अमेरिकासँग जारी गरिएको एक संयुक्त विज्ञप्तिमा इसराइल र लेबननले हिजबुल्लाहले दक्षिणी लेबनानबाट आफ्ना लडाकुहरू फिर्ता गर्ने र इसराइलमाथिका आक्रमण बन्द गर्ने सर्तमा शत्रुतापूर्ण गतिविधिहरू रोक्न सहमत भएको जनाएका छन्।

अमेरिकी विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘यो युद्धविराम हिजबुल्लाहका तर्फबाट हुने आक्रमण पूर्ण रूपमा बन्द हुने र दक्षिणी लिटानी क्षेत्रबाट हिजबुल्लाहका सबै कार्यकर्ताहरू हट्ने सर्तमा आधारित छ।’

यो सम्झौताले लेबननमा जारी लडाइँलाई रोक्छ कि रोक्दैन भन्ने कुरा अझै अस्पष्ट छ भनेर फाइनान्सियल टाइम्सले लेखेको छ। यसअघि अप्रिलमा इसराइल र लेबनन अमेरिकाकै मध्यस्थतामा भएको युद्धविरामले लडाइँ रोक्न सकेको थिएन।

यो घोषणाबारे हिजबुल्लाहले अझै सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन भने इसराइलले लडाइँ जारी राखेको छ।

फेब्रुअरी अन्त्यमा अमेरिका र इसराइलले इरानमाथि गरेको आक्रमणपछि हिजबुल्लाहले इसराइलमा रकेट प्रहार गरेसँगै इसराइलले मार्चमा लेबनन छिरेर आक्रमण गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई थर्काएपछि हिजबुल्लाह र इसराइलबीच मंगलबार आंशिक युद्धविरामको घोषणा भएको थियो।

इसराइलले हिजबुल्लाहलाई लक्ष्य गरिएको भन्दै लेबननमा आक्रमण तीव्र पारेपछि ट्रम्पले नेतन्याहूलाई फोन गरेर थर्काएका थिए। ट्रम्पले थर्काएपछि इसराइलले बेरूतमा हमलाको योजना नै रोकेको थियो। त्यसपछि लेबननले आंशिक युद्धविरामको घोषणा गरेको थियो। अहिले भने पूर्ण युद्धविराम लागू गर्न सहमति भएको हो।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.