काठमाडौँको तारकेश्वरमा घरायसी विवादमा श्रीमती ईश्वरी भुजेलको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ उपनामका कुमार थापा मगरसहित चार जना पक्राउ परेका छन्।
घटनास्थलबाट पक्राउ परेका कुमार थापा मगरमाथि किटानी जाहेरीका आधारमा प्रहरीले थप तीन जनालाई पनि पक्राउ गरेको छ।
पक्राउ परेका चारै जनालाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।
काठमाडौँ । काठमाडौँको तारकेश्वरमा घरायसी विवादका क्रममा श्रीमतीमाथि धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ‘नेपाली ब्रो’ उपनामले चिनिने कुमार थापा मगरसहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार जेठ २२ गते राति तारकेश्वर नगरपालिका–६, पैंयुटारमा ३८ वर्षीय कुमार थापा मगरले आफ्नै श्रीमती ईश्वरी भुजेललाई चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि तारकेश्वर सिटी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि त्रि.वि. शिक्षण अस्पताल (टिचिङ) महाराजगंज पुर्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै खटिएको प्रहरी टोलीले सोही राति ११ बजे कुमार थापा मगरलाई नियन्त्रणमा लिएको थियो । यस्तै, उक्त हत्या घटनामा संलग्न रहेको भन्दै परेको किटानी जाहेरीका आधारमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्य अभियुक्तहरूमा ३६ वर्षीय विक्रम थापा मगर, ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्ला घर भई गोकर्णेश्वर बस्ने २५ वर्षीया प्रतिक्षा आचार्य रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले चारै जनालाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको बताए । उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।