Skip to main content

Suchana Vatika

कांग्रेस संस्थापनले बढायो संवादको दायरा, पूर्णबहादुरसँग सहमति नजुटेपछि

खड्कासँग सहमतिको प्रयासले अपेक्षित परिणाम नदिएपछि संस्थापनले इतर समूहका अन्य प्रभावशाली नेताहरूसँग पनि प्रत्यक्ष संवाद अघि बढाएको हो ।

नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टी विवाद समाधानका लागि इतर समूहका पाँच शीर्ष नेताहरूलाई परिमार्जनसहितको सातबुँदे प्रस्ताव पठाएको छ ।
इतर समूहले जेठ मसान्तभित्र विवाद समाधान नभए देशव्यापी भेला आयोजना गरी १५औं अधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको संवाद सकारात्मक नभएपछि संस्थापन पक्षले अन्य नेताहरूसँग प्रत्यक्ष संवादको दायरा फराकिलो बनाएको हो ।

२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसमा चुलिएको विवाद समाधानका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफल गर्दै आएको संस्थापन पक्षले संवादको दायरा फराकिलो बनाएको छ ।

खड्कासँग सहमतिको प्रयासले अपेक्षित परिणाम नदिएपछि संस्थापनले इतर समूहका अन्य प्रभावशाली नेताहरूसँग पनि प्रत्यक्ष संवाद अघि बढाएको हो ।

संस्थापन पक्षले मंगलबार बिहान डा. शेखर कोइराला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई परिमार्जनसहितको सातबुँदे प्रस्ताव पठाएको छ ।

‘आज (मंगलबार) बिहान उताका केही प्रभावशाली नेताहरूलाई परिमार्जन सहितको सात बुँदा पठाइएको छ,’ संस्थापन पक्षका एक शीर्ष नेताले अनलाइनखबरसँग भने, ‘डा. शेखर, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह र कृष्ण सिटौलालाई प्रस्ताव पठाएका छौं ।’

यसअघि १६ जेठमा सभापति गगन थापाले सहमतिका लागि खड्कालाई सातबुँदे प्रस्ताव बुझाएका थिए । प्रस्तावबारे खड्काले जवाफ नदिएपछि सात बुँदे प्रस्ताव परिमार्जनसहित इतर समूहका शीर्ष पाँच नेताहरूलाई पनि पठाइएको हो ।

सहमतिको प्रयासमा २२ जेठमा उपसभापति विश्वप्रकाश शर्माले गल्फुटार पुगेर खड्कासँग पुन: संवाद गरेका थिए । शर्मा र खड्काबीच झण्डै तीन घण्टा लामो छलफल भएको थियो । संस्थापन पक्षका अनुसार उक्त छलफलबाट सम्भावित साझा मतका केही आधारहरू समेत पहिचान गरिएको संस्थापन पक्षको भनाइ छ ।

त्यसपछि २४ जेठमा सभापति गगन थापा र उपसभापति शर्माले प्रस्तावमा थप परिमार्जन गरेका थिए । तर, सोही दिन खड्काले सामाजिक सञ्जालमार्फत सभापति थापासँग विगत ३१ दिनदेखि कुनै संवाद नभएको अभिव्यक्ति सार्वजनिक गरेका थिए । खड्काको उक्त अभिव्यक्तिप्रति संस्थापन पक्ष असन्तुष्ट देखिएको छ ।

सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा फैसला सुनाएपछि ६ वैशाखमा सभापति थापाले गल्फुटार पुगेर खड्कासँग छलफल गरेका थिए । विशेष महाधिवेशनपछि यो नै दुई नेताबीचको पहिलो भेटवार्ता थियो ।

त्यसपछि २३ वैशाखमा सभापति थापा र उपसभापति शर्मा पुन: खड्का निवास पुगेका थिए । खड्कासँग भेटवार्ता गर्नुअघि सभापति थापाले नेता शेखर कोइरालासँग समेत विशालनगरस्थित सचिवालयमा छलफल गरेका थिए ।

जेठ मसान्तको डेडलाइन

उता, इतर समूह विवाद समाधानका लागि प्रगति नभएको भन्दै समय सीमा (डेडलाइन) सहित रणनीतिमा उत्रिएको छ । आन्तरिक विवाद समाधानका लागि संस्थापन इतर समूह जेठ मसान्तलाई डेडलाइन तोकेर आन्तरिक रणनीतिमा उत्रिएको हो ।

जेठ मसान्तभित्र सहमति नभए यसअघि नै नवीकरण भएका क्रियाशील सदस्यतामार्फत १५ औं अधिवेशनतर्फ अघि बढ्ने तयारी इतर समूहको छ ।

जेठ मसान्तभित्र पार्टीमा सहमति जुट्न नसके देशव्यापी भेला आयोजना गर्दै अधिवेशन प्रक्रियामा अघि बढ्ने तयारी भएको इतर समूहका नेताहरूले बताएका छन् ।

शीर्ष तहमा विवाद समाधानका लागि विभिन्न एजेन्डामा सहमति खोज्ने प्रयास जारी रहे पनि अपेक्षित प्रगति हुन सकेको छैन । निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेताहरू अब थप समय लम्ब्याउन नहुने पक्षमा देखिएका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.