Suchana Vatika

चखेवा सडक अवरुद्ध लप्से खोलामा पहिरो खस्दा दिक्तेल

गोपिनी नायपा सामुदायिक वन क्षेत्रमा पर्ने लामीडाँडाको ढाँडखर्कबाट झरेको पहिरोले सडक अवरुद्ध भएको हो। लेदो माटोसहितको पहिरोले तल्लो क्षेत्रका सडक, कुलो लगायतका संरचनामा पनि क्षति पुर्‍याएको छ ।

२८ जेठ, खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–चखेवा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जोड्ने लप्से (पंखु) खोलामा झरेको पहिरोले सडक अवरुद्ध भएको हो ।

जेठ २७ गते राति गोपिनी नायपा सामुदायिक वन क्षेत्रमा पर्ने लामीडाँडाको ढाँडखर्कबाट झरेको पहिरोले सडक अवरुद्ध बनाएको स्थानीय शिक्षक दिलीपचन्द्र राईले बताए । लेदो माटोसहितको पहिरोले तल्लो क्षेत्रका सडक, कुलो लगायतका संरचनामा क्षति पुर्‍याएको छ ।

सडकमा क्षति पुगेका कारण भोजपुरदेखि काठमाडौं आउजाउ गर्ने तथा दिक्तेल, बानाचुङदेखि भोजपुर हुँदै पुर्वी शहर जाने–आउने सवारी साधन रोकिएका छन् ।

क्षतिग्रस्त सडक मर्मतका लागि डोजर र स्काभेटरसहितको जनशक्ति परिचालन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ ।

सो क्षेत्रमा विगतमा पनि पहिरो झर्ने गरेको थियो । गत जेठ २३ गते बिहान लप्से खोलामा झरेको बाढीले सडक बगाएपछि नौ घण्टा सवारी साधन आवत–जावत ठप्प भएको थियो ।

लप्से खोलामा २०७३ सालमै पक्की पुल बनिसक्नु पर्ने थियो तर ठेकेदारको ढिलासुस्तीका कारण पुल निर्माणको काम अलपत्र परेको छ । खोलामा पुल नहुँदा वर्षाको समयमा यात्रु तथा मालवाहक सवारी साधन, एम्बुलेन्स, बाइक र पैदल यात्रीसमेत घण्टौं रोकिन बाध्य छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.