Skip to main content

Suchana Vatika

अघोषित प्यानल रास्वपा बागमती नेतृत्वको लागि

रास्वपा बागमतीका नेताहरूको अनुसार चारमध्ये मुख्य प्रतिस्पर्धी डा. लामिछाने र अर्याल बीचमा हुनेछ । लामिछाने हाल प्रदेश सभापति र अर्याल प्रवक्ता छन् । उनीहरुले अघोषित प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश नेतृत्व चयनका लागि आज काठमाडौंमा विद्युतीय मतदान हुँदै छ ।
बागमती प्रदेश सभापति पदका लागि डा. अच्युतम लामिछाने र उत्सव अर्याल आ-आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
यस अधिवेशनमा १३ सयभन्दा बढी प्रतिनिधिले विद्युतीय प्रणालीमार्फत नयाँ कार्यसमिति चयनका लागि मतदान गर्नेछन् ।

३० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेशको पहिलो अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अघोषित प्यानल बनाएर प्रतिस्पर्धा हुन लागेको छ ।

सभापतिको लागि डा.अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरीबहादुर खत्रीको उम्मेदवारी परेको छ। रास्वपा बागमतीका नेताहरूको अनुसार चारमध्ये मुख्य प्रतिस्पर्धी डा. लामिछाने र अर्याल बीचमा हुनेछ । लामिछाने हाल प्रदेश सभापति र अर्याल प्रवक्ता छन् ।

सभापतिका यी दुई प्रतिस्पर्धीले आ-आफ्नो प्यानल अघाेषित रूपमा खडा गरेको प्रदेश नेताहरूको दाबी छ।

लामिछानेको प्यानलमा उपसभापतिमा सुरेन्द्र भट्ट, महामन्त्रीमा बदन भण्डारी, सह महामन्त्रीमा डा रमेश ढकाल बनाउने गरी आन्तरिक तयारी गरिएको छ। भट्ट वर्तमान समितिको महामन्त्री छन्।

सभापतिको आकांक्षी भण्डारीले उक्त पदमा उम्मेदवारी नदिएर लामिछानेलाई सघाउने आन्तरिक सहमति भएको जानकारी गराइएको छ। भण्डारी प्रतिनिधि सभा सदस्य छन् । काभ्रे-२ बाट निर्वाचित भण्डारी सार्वजनिक मामिला विभागका सचिव समेत हुन् ।

सोही प्यानलमा सहमहामन्त्री बनाउने तयारी गरेका डा ढकाल अस्पताल सञ्चालक हुन् ।

सभापतिको अर्को उम्मेदवार अर्याल पक्षबाट उप सभापतिमा राधिका तिमिल्सिना, महामन्त्रीमा मेनुका ठकुरी उठाउने गरी तयारी भएको जानकारी गराइएको छ। खतिवडा र ठकुरी वर्तमान समितिमा पनि छन्। खतिवडा सहमहामन्त्री र ठकुरी कोषाध्यक्ष छन्।

२६ जेठमा हेटौंडामा सुरु भई एकदिन पछि रोकिएको अधिवेशनको मतदान आज काठमाडौंमा हुँदैछ। पार्टीको निर्वाचन आयोगले दिएको जानकारी अनुसार १३ सय बढी प्रतिनिधि तय गरिएको छ।

पार्टी विधान अनुसार दुई चरणको मतदान हुने व्यवस्था छ। पहिलो चरणमा सभापति र प्रदेश सदस्यको लागि मतदान हुनेछ भने दोस्रो चरणमा अन्य पदाधिकारीको लागि मतदान हुनेछ ।

पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री र सह महामन्त्री ( फरक फरक लिंगको गरी २) निर्वाचन मार्फत चुनिनु पर्छ। प्रवक्ता र कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था छ। बागमती प्रदेश समिति ६५ सदस्यीय हुने विधानको व्यवस्था छ।

बिहान ११ बजेबाट विद्युतीय मतदान हुने निर्वाचन समितिले जानकारी गराएको छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.