Skip to main content

Suchana Vatika

क्रिप्टो कारोबारबाट एक वर्षमै कमाए १.४ अर्ब डलर – ट्रम्प परिवारले

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको परिवारले क्रिप्टो करेन्सी कारोबारबाट एक वर्षमै १.४ अर्ब  डलर आम्दानी गरेको खुलेको छ।

ट्रम्पले सन् २०२५ को आफ्नो वार्षिक वित्तीय विवरणमा परिवारको क्रिप्टो कारोबारबाट एक वर्षमै १ अर्ब ४० करोड अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको खुलाएका हुन्।

मंगलबार  सार्वजनिक भएको उक्त विवरणले ट्रम्पको आम्दानीको प्रमुख स्रोत अहिले डिजिटल सम्पत्ति (क्रिप्टोकरेन्सी) बनेको देखाएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

अमेरिकाको ‘अफिस अफ गभर्नमेन्ट इथिक्स’ मा ट्रम्पले बुझाएको विवरण अनुसार उनी स्वयम् र छोराहरूले स्थापना गरेको वर्ल्ड लिबर्टी फाइनान्सियलबाट उनका कम्पनीहरूले करिब ८० करोड डलर आम्दानी गरेका छन्।

यसमध्ये ५२ करोड डलरभन्दा बढी क्रिप्टो टोकन बिक्रीबाट तथा २५ करोड डलरभन्दा बढी वर्ल्ड लिबर्टी व्यवसायमा रहेको स्वामित्व हिस्साको बिक्रीबाट प्राप्त भएको उल्लेख छ।

यसका अतिरिक्त ट्रम्पले आफ्ना ट्रम्प मेम क्वाइन बिक्रीबाट थप ६३ करोड ५० लाख डलर आम्दानी गरेको विवरणमा उल्लेख छ।

योसँगै ट्रम्पको सम्पत्तिमा क्रिप्टो व्यवसायको प्रभाव उल्लेखनीय रूपमा बढेको देखिएको छ। गत वर्षको विवरणमा उनले वर्ल्ड लिबर्टी फाइनान्सियलबाट टोकन बिक्रीमार्फत ५ करोड ७३ लाख ५० हजार डलर आम्दानी भएको बताएका थिए। यस वर्ष त्यो आम्दानी झण्डै ९ गुणाले बढेको देखिएको छ।

रोयटर्सका अनुसार ट्रम्प सन् २०२५ मा पुनः ह्वाइट हाउस फर्किएयता ट्रम्प परिवारले विभिन्न क्रिप्टो परियोजनाबाट कम्तीमा २ अर्ब ३० करोड डलर आम्दानी गरिसकेको अनुमान गरिएको छ।

राष्ट्रपति बनेपछि ट्रम्प प्रशासनले क्रिप्टो उद्योगलाई अनुकूल हुने विभिन्न नीतिहरू अघि बढाएको थियो।

त्यसअन्तर्गत स्टेबल क्वाइनसम्बन्धी संघीय नियम लागू गर्नुका साथै अमेरिकी न्याय विभाग र धितोपत्र तथा विनिमय प्राधिकरणबाट हुने नियामकीय कडाइ पनि कम गरिएको थियो।

ह्वाइट हाउसकी प्रवक्ता एना केलीले राष्ट्रपति वा उनको परिवारले कहिल्यै स्वार्थ बाझिने गरी काम नगरेको बताएकी छन्।

‘उहाँले त्यस्तो गर्नु हुन्न। बरू कार्यकारी आदेशमार्फत अमेरिकालाई विश्वकै क्रिप्टो राजधानी बनाउनुभएको छ,’ केलीले रोयटर्ससँग भनेकी छन्।  

 यद्यपि ट्रम्पका व्यवसायहरू अहिले उनका सन्तानले व्यवस्थापन गरिरहेको ह्वाइट हाउसले जनाएको छ। तर ती सम्पत्तिबाट आउने आम्दानीको अन्तिम लाभग्राही भने ट्रम्प हुन्।

क्रिप्टोबाट ठूलो आम्दानी भए पनि ट्रम्पका परम्परागत व्यवसायले पनि करोडौं डलर आम्दानी गरिरहेका छन्। सन् २०२५ मा उनका गल्फ क्लब र रिसोर्टहरूको आम्दानी १५ प्रतिशतले बढेर ५० करोड डलरभन्दा माथि पुगेको छ।

फ्लोरिडास्थित उनको चर्चित मार-ए-लागो क्लबको आम्दानी अघिल्लो वर्षको ५ करोड डलरबाट बढेर ७ करोड ७० लाख डलर पुगेको छ भने नजिकै रहेको वेस्ट पाम बिच गल्फ क्लबको आम्दानी २७ प्रतिशतले वृद्धि भएको छ। यद्यपि लस एन्जलसस्थित गल्फ कोर्सको आम्दानी भने घटेको रोयटर्सले जनाएको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.