Skip to main content

Suchana Vatika

गल्ती कसैको देखिँदैन, सशस्त्र प्रहरी कार्यालयमा पटकपटक आगो लाग्छ

सशस्त्र हेडक्वार्टरमै आगलागी भएर करोडौं मूल्यका सवारी जल्दासमेत यो घटनामा कुनै मानवीय कमजोरी नभई प्राविधिक कमजोरीलाई औंल्याइएको छ ।

१९ असार, काठमाडौं । सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकस्थित एमटी (मोटर ट्रान्सपोर्ट) शाखामा भएको आगलागीमा कुनै मानवीय गल्ती नभएको औंल्याइएको छ ।

२० जेठमा भएको आगलागी घटनाको छानबिन गर्न बनेको समितिले कोही, कसैको गल्ती नऔंल्याई प्राविधिक कारण औंल्याएको छ । आगलागी भएपछि घटनाको छानबिन गर्न सशस्त्र प्रहरीले डीआईजी सन्दीप थापाको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

उक्त समितिले अन्तिम प्रतिवेदन भने बुझाउन बाँकी रहेको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्की बताउँछन् । सशस्त्र हेडक्वार्टरमै आगलागी भएर करोडौं मूल्यका सवारी जल्दासमेत यो घटनामा कुनै मानवीय कमजोरी नभई प्राविधिक कमजोरीलाई औंल्याइएको छ ।

‘प्राविधिक कारणले आगलागी भएको भन्ने छ । कुनै फ्लकचुएसन भएर दुर्घटना भएको हो,’ डीआईजी कार्कीले अनलाइनखबरसँग भने । अन्तिम प्रतिवेदन बुझाउन बाँकी रहेको बताए पनि प्राविधिक कारणलाई दोषी देखाएर उम्कन खोज्ने प्रवृत्ति देखिएको छ ।

हेडक्वार्टरभित्रै कसरी आगलागी भयो, आगलागी हुने बित्तिकै किन तत्कालै नियन्त्रणमा लिन सकिएन, त्यतिबेला ड्युटीमा रहेका व्यक्तिको कमजोरी छ/छैन, एमटी शाखामा को–को थिए, उनीहरूको भूमिका के थियो जस्ता विषयहरू भने गौण नै छन् ।

यसअघि सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमै भएको पत्रकार भेटघाटका क्रममा सोधिएको प्रश्नमा पनि प्रवक्ता कार्कीले आगलागीलाई घटना नभएर दुर्घटना भएको बताएका थिए । अहिले त्यही दुर्घटनालाई पुष्टि गर्दै प्रतिवेदनको अन्तिम रूप तयार भएको छ ।

हल्चोकको रंगशाला पछाडितर्फ एमटी शाखाको अन्डरग्राउन्ड पार्किङमा २० जेठ राति ८ बजेतिर अचानक आगोको मुस्लो देखिएको थियो । हेडक्वार्टरकै टोली, नजिकैको बंगलामुखी गण र सशस्त्रको बालाजुस्थित भन्सार कार्यालयबाट आएको दमकलले उक्त आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चढ्ने प्राडो गाडीसहित एटीभी (अल टेरेन भेइकल) क्वाड बाइक ६ वटा, स्कर्टिङ मोटरसाइकल, नर्मल मोटरसाइकल २ वटा जलेर नष्ट भएका थिए । मरुभूमिमा प्रयोग हुने एटीभी क्वाड बाइक सशस्त्रले मनाङ, मुस्ताङका लागि पठाउने गरेको थियो । उक्त एटीभी क्वाड बाइक अमेरिकी दूतावासले सशस्त्रलाई उपहारस्वरूप दिएको थियो ।

सशस्त्रले राखेका यी एटीभी बाइक इभी (विद्युतीय भेइकल) हुन् । यही एटीभी बाइकमा सर्ट भएर आगलागी भएको दाबी गरिएको छ ।

सशस्त्रको मुख्यालयमा आगलागी भएको यो नै पहिलो घटना भने होइन । यसअघि पनि मुख्यालदेखि पशुपति बाहिनी परिसरमा रहेको गोदाममा आगलागी भएको थियो ।

२६ चैत २०८० मा सशस्त्रको बलम्बुस्थित केन्द्रीय गोदाममा आगलागी भएको थियो । नं. ९ पशुपति बाहिनीको कम्पाउन्डभित्र रहेको केन्द्रीय गोदाममा आगलागी हुँदा ठूलो मात्रामा बन्दोबस्तीका सामानहरू जलेका थिए ।

आगलागी हुँदा चुस्ता, बुट, म्याट, झुल, मण्डी, तन्ना, स्लिपिङ ब्यागलगायत बन्दोबस्तीका सामान जलेर नष्ट भएका थिए । आगलागीमा ३७ हजार बुट, ३७ हजार स्पोर्ट सुज जलेका थिए ।

घटनाको छानबिन गर्न सशस्त्र हेडक्वार्टरले एआईजी वंशिराज दाहालको नेनृत्वमा समिति गठन गरेको थियो । यो समितिले पनि आगो कसरी लाग्यो भन्नेबारे केही खुलाएको थिएन । बरु गोदामको सुरक्षामा तथा ड्युटीमा रहेकालाई कारबाही सिफारिस गरेको थियो ।

यो भन्दा पहिले ३ पुस २०७४ मा सशस्त्र हेडक्वार्टरमै आगलागी भएको थियो । सशस्त्रका चार पूर्वआईजीपीहरू सनतकुमार बस्नेत, शैलेन्द्र श्रेष्ठ, कोषराज वन्त र वासुदेव ओलीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार कसुरमा छानबिन थालेको थियो ।

सोही समयमा हेडक्वार्टरको स्टोरमा आगलागी भएको थियो । आर्थिक कारोबारसम्बन्धी गोप्य कागजपत्र जलाउने उद्देश्यले मट्टितेल छर्केर आगो लगाएको अनुसन्धानबाट खुलेको थियो ।

लगातार सशस्त्र हेडक्वार्टरदेखि बाहिनीभित्र रहेको भण्डारण महाशाखामा आगो लाग्नुले सुरक्षाको प्रश्न उब्जाएको छ ।

सशस्त्रलाई विपद् उद्धार तथा आगलागी नियन्त्रणको स्पेसल फोर्सका रूपमा लिइन्छ । तर यस्ता घटना भने पटकपटक दोहोरिरहन्छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.