Skip to main content

Suchana Vatika

जित लुकेको हारमा

साँचो विजय केवल बाह्य सफलता मात्र होइन; यो हृदयको शुद्धता, मूल्य र मानवताको अभ्यासमा निहित हुन्छ।

मानव जीवनमा विजय केवल शक्ति, सम्पत्ति वा प्रभुत्वमा मापन गरिने कुरा होइन; वास्तविक सफलता त हाम्रो हृदयको परिवर्तन, सकारात्मक मूल्यहरूको अभ्यास र अरूको भलाइका लागि काम गर्न सक्ने क्षमतामा निहित हुन्छ।

धेरैजसो मानिसहरूले आफ्नो विजय बाह्य उपलब्धिमा खोज्छन्, तर जीवनले सिकाउने गहिरो पाठ यही हो– करूणा, त्याग, विश्वास र सद्भावको अभ्यासले मात्र मानिसलाई साँचो उचाइमा पुर्‍याउँछ। जब हामी आफ्ना स्वार्थभन्दा माथि उठेर अरूको भलाइका लागि सोच्न र कार्य गर्न थाल्छौं, त्यहीँबाट जीवनको गहिरो अर्थ, स्थायी सम्मान र वास्तविक सफलता जन्मिन्छ। यही गहिरो सन्देश बोकेको एक प्रेरणादायी कथा यहाँ प्रस्तुत गरिएको छ।

आमालाई आफ्ना छोरामाथि, साहूकारलाई आफ्ना ऋणी व्यक्तिमाथि र किसानलाई आफ्ना लहलहाउँदा बालीमाथि जस्तो आनन्द प्राप्त हुन्छ, ठीक त्यस्तै आनन्द बाबा भारतीलाई आफ्ना प्रिय घोडा देख्दा प्राप्त हुन्थ्यो। भगवद्–भजनबाट बचेको सम्पूर्ण समय उनी घोडाकै सेवामा अर्पण गर्थे। त्यो घोडा अत्यन्त सुन्दर, सबल र अनुपम थियो, त्यसको जोडी सारा क्षेत्रमा कतै पाइँदैनथ्यो। बाबा भारतीले उसको नाम ‘सुल्तान’ राखेका थिए। उनी आफ्नै हातले उसलाई स्याहार्थे, दाना खुवाउँथे र हेर्दै मनभरि प्रसन्न हुन्थे। यति गहिरो माया, यति निष्ठा– मानौँ कुनै प्रेमीले आफ्ना प्रियतमलाई पनि त्यति माया नगरेको होस्।

उनी संसारका सबै भौतिक सुख–सुविधा त्यागेर गाउँ बाहिरको सानो मन्दिरमा बस्न थालेका थिए। धन, सम्पत्ति, जमिन–सबै त्यागेका थिए। तर सुल्तानसँगको सम्बन्ध भने उनका लागि प्राणजस्तै थियो।

‘यो बिना म बाँच्न सक्दिनँ,’ भन्ने भावनाले उनी पूर्णतः बाँधिएका थिए। सन्ध्या पर्नासाथ सुल्तानमाथि चढेर आठ–दश माइल घुम्न नपाएसम्म उनलाई शान्ति मिल्दैनथ्यो। गाउँलेहरू उनको यो प्रेम देखेर अचम्म मान्थे, कहिलेकाहीँ इशारा–इशारामा हाँस्ने पनि गर्थे, तर बाबा भारतीलाई त्यसको कुनै परवाह थिएन।

त्यही क्षेत्रमा खड्गसिंह नामको एक कुख्यात डाकू थियो, जसको नाम सुन्नासाथ मानिसहरू डराउँथे। सुल्तानको ख्याति उसको कानमा पनि पुग्यो। एकदिन ऊ बाबा भारतीकहाँ पुग्यो र घोडा हेर्ने इच्छा व्यक्त गर्‍यो। जब उसले सुल्तानलाई देख्यो, ऊ मन्त्रमुग्ध भयो। यति अद्भुत घोडा उसले जीवनमा कहिल्यै देखेको थिएन। मनमा लोभ जाग्यो– ‘यो घोडा त मेरो हुनुपर्छ,’ भन्ने विचार उसमा पलायो।

एक दिन अवसर पारेर उसले बाबा भारतीलाई चेतावनी दियो– ‘यो घोडा म तपाईंका साथमा रहन दिनेछैन।’

त्यसपछि बाबा भारती सधैं डरमा बाँच्न थाले। रातभरि जागा बसेर अस्तबलको पहरा दिन्थे। तर समय बित्दै जाँदा खड्गसिंह नआएपछि उनी केही ढुक्क भए।

एक साँझ उनी सुल्तानमा सवार भई घुम्दै थिए। बाटोमा एक अपांग मानिस कराउँदै भेटियो।

उसले अनुरोध गर्‍यो– ‘मलाई तीन माइल टाढाको गाउँसम्म पुर्‍याइदिनुहोस्।’

करूणाले भरिएका बाबा भारतीले तुरून्तै घोडाबाट झरेर उसलाई सवार गराए र आफै लगाम समातेर हिँड्न थाले। तर अचानक त्यो ‘अपाङ्ग’ सिधा भएर बस्यो र घोडा कुदाउँदै भाग्यो– ऊ अरू कोही नभई खड्गसिंह नै थियो।

बाबा भारती स्तब्ध भए। केही समयपछि उनले उसलाई रोकेर केवल यति भने– ‘घोडा तिमीले लग्यौ, अब तिमीलाई रोक्दिनँ। तर एउटा बिन्ती छ– यो घटना कसैलाई नभन्नू।’

खड्गसिंह चकित भयो। यस्तो विनम्रता र त्याग उसले कहिल्यै देखेको थिएन। जब उसले कारण सोध्यो, बाबा भारतीले गम्भीर स्वरमा भने– ‘यदि यो कुरा फैलियो भने, मानिसहरूले गरिब र असहायमाथि विश्वास गर्न छोड्नेछन्।’

यी शब्दहरूले खड्गसिंहको हृदयलाई गहिरो चोट पुर्‍यायो। उसले अनुभव गर्‍यो– यो मानिस साधारण होइन, एक महान आत्मा हो। राति अँध्यारोमा ऊ सुल्तानलाई लिएर फेरि मन्दिर पुग्यो र चुपचाप अस्तबलमा बाँधेर फर्कियो। उसका आँखाबाट पश्चातापका आँसु झरिरहेका थिए।

भोलिपल्ट बिहान बाबा भारती जब अस्तबलतिर पुगे, निराश हुँदै ढोकामै रोकिन पुगे। तर सुल्तानले मालिकको आहट चिनेर हिनहिनायो। बाबा दौडेर गए र घोडालाई अँगालो हालेर रूँदै भने– ‘अब मानिसहरूले गरिब र असहायमाथि विश्वास गर्न छोड्ने छैनन्।’

त्यस क्षण, त्यही भूमिमा बाबा भारती र खड्गसिंहका आँसुहरू मिसिए– एकातिर त्याग र करूणाका आँसु, अर्कोतिर पश्चाताप र मानवताको पुनर्जागरणका आँसु। यही मिलनले ‘हार’ भित्रको साँचो ‘जित’लाई उजागर गर्‍यो।

यो प्रसंगले स्पष्ट पार्दछ कि साँचो विजय केवल बाह्य जितमा छैन; यो त हृदय परिवर्तन, करूणा र मानवताको अभ्यासमा आधारित हुन्छ। जब मानिसले आफ्ना स्वार्थभन्दा माथि उठेर विश्वास, करूणा र सद्भावलाई रोज्छ, तब जीवनमा वास्तविक सफलता र स्थायी सम्मान जन्मिन्छ।

जीवनमा कहिलेकाहीँ अवसरहरू मात्र होइन, मानिसहरूको मूल्य र चरित्र जाँचिने क्षणहरू पनि आउँछन्। यी क्षणहरूमा यदि हामी धैर्य, विनम्रता र करूणा अपनाउँछौं भने, बाह्य परिस्थितिले कसरी देखिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुँदैन; हाम्रो हृदयको विजय नै साँचो जित हो।

बाबा भारती र खड्गसिंहको घटनाले हामीलाई प्रेरित गर्छ– जीवनमा जितको मापन शक्ति, सम्पत्ति वा प्रभुत्वबाट होइन, मानवता, करूणा र त्यागबाट हुन्छ। हारमा पनि जित खोज्न सक्ने सोचले मात्र मानिसलाई साँचो उचाइमा पुर्‍याउँछ। यही जीवनको सन्देश होः वास्तविक सफलता भनेको बाह्य विजय होइन, आत्माको शुद्धता र हृदयको परिवर्तन हो।

लेखक नेपाल औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष हुन्।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.