Skip to main content

Suchana Vatika

राहतका लागि निवेदन दिन्नौं, सम्मानजनक पुनर्स्थापना चाहियो : होल्डिङ सेन्टरका सुकुमवासी भन्छन्

२३ असार, काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारले सरकारले घोषणा गरेको राहतका लागि निवेदन नदिने बताएका छन् ।

नेपाल सरकार तथा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले प्रभावित परिवारलाई असार २२ गतेभित्र राहतका लागि निवेदन दिन आह्वान गरेपछि आफ्नो धारणा सार्वजनिक गर्दै उनीहरुले  राहतभन्दा पनि सम्मानजनक पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै उनीहरुले होल्डिङ सेन्टरमा बसोबास गरिरहेका करिब आधा परिवारले राहतसम्बन्धी निवेदन नदिएको र नदिने निर्णय गरेको बताएका छन् ।

उनीहरूले आफूहरूको आवश्यकता राहत रकम नभई राज्यले भत्काएको बासको सम्मानजनक व्यवस्थापन भएको बताएका छन् । वैकल्पिक आवासको व्यवस्था नगरी घर भत्काएर केही रकम उपलब्ध गराउनु समस्याको दीर्घकालीन समाधान हुन नसक्ने उनीहरूको भनाइ छ । ‘हामीले खोजेको राहत होइन, राज्यले भत्काएको हाम्रो बासको सम्मानजनक व्यवस्थापन हो’, विज्ञप्तिमा उल्लेख छ ।

राज्यले आफूहरूलाई विस्थापित गरिसकेपछि उचित पुनःस्थापना गर्नु सरकारको संवैधानिक, कानुनी र नैतिक दायित्व भएको उनीहरूको दाबी छ ।

प्रभावित परिवारले राहतको निवेदन नदिएको आधारमा कसैलाई धम्क्याउने, दबाब दिने, अधिकारबाट वञ्चित गर्ने वा भविष्यमा सरकारी सेवासुविधाबाट रोक्ने प्रयास स्वीकार्य नहुने पनि बताएका छन् ।

उनीहरूले सरकारसँग तीनबुँदे माग अघि सारेका छन् । जसअनुसार राहतको सट्टा सम्मानजनक वैकल्पिक आवासको व्यवस्था गर्न, सबै प्रभावित परिवारसँग वार्ता गरी दीर्घकालीन पुनःस्थापनाको योजना कार्यान्वयन गर्न तथा राहतका लागि निवेदन नदिएको आधारमा कुनै पनि नागरिकमाथि विभेद वा दबाब नगर्न माग गरिएको छ।

विज्ञप्तिमा अधिकार, सम्मान र न्यायपूर्ण पुनःस्थापनाका लागि शान्तिपूर्ण तथा लोकतान्त्रिक ढंगले संघर्ष जारी राख्ने र दिगो व्यवस्थापन नभएसम्म होल्डिङ सेन्टरमै बसिरहने उल्लेख छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.