Skip to main content

Suchana Vatika

के राम्रो, के नराम्रो अहिले के सेयर बजारमा

केही महिनाअघिको नजिकको उच्च विन्दु २९६० बाट ओरालो लागेको बजार सोमबार २६२७ विन्दुमा झरेको छ। यस अवधिमा नेप्से परिसूचक ३३३ अंकले घटिसकेको छ।

बजार घट्न पछिल्लो केही समययता केही न केही कारण देखिएका छन्। सरकारले सेयर लगानीकर्ताको आत्मविश्वास बढाउन सकेको छैन। व्यवसायी जगत अत्तालिँदा नयाँ सरकार आएको केही समयदेखि नै बजार घट्न थाल्यो।

यसबीच सरकारले बजार सकारात्मक बनाउने कुनै उपाय लगाएन। उल्टो सेयर बजारमा लाग्ने पुँजीगत लाभकर बढाइदियो।

यसबीच बजार घट्ने क्रम अझै चलिरहेको छ।

पछिल्लो समय बजार घट्नुमा अरू पनि कारण छन्। त्यसमध्ये एक हो कर्जा तिर्ने अवधि।

चालु आर्थिक वर्ष अन्त्य हुन लागेकाले अहिले बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको नियमित किस्ता तिर्न आउन ऋणीहरूलाई फोन गर्छन्। सेयर धितोमा राखेर कर्जा लिएकाहरूलाई पनि यसरी सम्पर्क गरिन्छ।

त्यस्तै, अहिले बजार घटेकाले उनीहरूलाई आफूले लिएको कर्जाको धितो बढाउन समेत बैंकहरूबाट दबाब आउँछ। सेयरकै धितो राखेर कर्जा लिनेले मूल्य घटेको अवस्थामा धितो बढाउनुपर्ने हुन्छ।

सेयर ब्रोकर सन्तोष मैनाली भन्छन्, ‘अहिले कर्जाको नियमित किस्ता तिनुपर्ने र सेयर धितो कर्जाको धितोको मूल्य घटेकाले यस्तो कर्जाको धितो समेत बढाउनुपर्ने दबाबमा लगानीकर्ता हुन्छन्। घट्दो बजारमा यसको पनि प्रभाव परेको हो।’

केही समयमै मौद्रिक नीति आउने भएकाले यस्तो दबाबका बीच पनि बजारमा पर्ख र हेरको अवस्था नै देखिएको मैनाली बताउँछन्।

तर नयाँ सरकार बनेदेखि नै बजार पर्ख र हेरको मनस्थितिमा थियो। सरकारबाट अहिलेसम्म बजारमैत्री कुनै संकेत नदेखिएकाले लगानीकर्ताहरूको मनोबल खस्किन थालेको छ।

मौद्रिक नीतिमा बजारलाई राहत हुने, अर्थतन्त्र चलायमान बनाउने केही व्यवस्था आएमा बजारमा सकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ।

बजारलाई धेरै लामो समयदेखि न्यून ब्याजदरको लाभ छ। तर यस्तो लाभ बजारले उठाउन सकिरहेको छैन।

न्यून ब्याजदरको लाभ जलविद्युत कम्पनीहरूले भने उठाउन सकेका छन्। उनीहरूको ब्याज लागत घटेको छ। यसले नाफामा सकारात्मक प्रभाव पार्न सक्छ।

एक समय निकै खराब अवस्थामा देखिएका बैंक तथा वित्तीय संस्थामा क्रमिक रूपमा सुधार भइरहेको छ। यो पनि बजारका लागि सकारात्मक पाटो हो।

पछिल्लो समय पर्यटकको आगमन संख्या बढेकाले बजारमा सीमित संख्यामा रहेका केही होटलको आम्दानीमा पनि सुधार भने हुन सक्छ। तारागाँउ रिजेन्सी भने सञ्चालनमा आइसकेको खबर सार्वजनिक भएको छैन। पछिल्लो समय यो होटल जेनजी अन्दालनको क्रममा तोडफोड भएको थियो।

त्यस्तै, बजारलाई नकारात्मक प्रभाव पार्ने अर्को कारण अहिले करिब एक दर्जन वाणिज्य बैंकहरूको पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेको सीमा नजिक छ।

उनीहरूले चाहेर पनि थप कर्जा विस्तार गर्न सक्ने अवस्था छैन। केही बैंक यही अनुपातको कारण लाभांश दिन नपाउने अवस्थामा छन्। चैतसम्मको वित्तीय विवरणका आधारमा केही बैंकको अहिले पनि लाभांश क्षमता देखिएको छैन।

गत चैतसम्म केही लघुवित्त कम्पनीहरूलाई समेत राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गरेको छ। यस्ता कम्पनीहरूको पुँजी कोष अनुपात ज्यादै न्यून भएपछि कारबाही गरिएको हो। यी संस्थाले पछिल्लो तीन महिना (वैशाखदेखि असारसम्म) मा सुधार नै गरेको अवस्थामा पनि लाभांश दिन पाउँदैनन्।

अहिले सेयर बजारमा केही बाहेक धेरै कम्पनीको मूल्य न्यून स्तरमा आइरहेको छ। आर्थिक वर्ष अन्त्य हुन लागेकाले लाभांश दिन सक्ने कम्पनीहरूबाट लाभांश प्राप्त गर्ने अवधि नजिकिँदो छ।

प्राविधिक विश्लेषणहरूले बजारमा लगानीकर्ताको मनोभाव निकै खस्किएको संकेत गरिरहेका छन्।

नेप्से परिसूचकमा बनेको ५० दिने र २०० दिने मुभिङ एभरेज निकै नजिकिँदै छन्। अहिले माथितर्फ रहेको ५० दिने रेखा तल नजिकिँदै ओर्लिरहेको छ।

२० दिने मुभिङ एभरेजले हालै २०० दिने मुभिङ एभरेजलाई माथिबाट तल काटेको छ, जसलाई प्राविधिक विश्लेषणमा कमजोर संकेत मानिन्छ। ५० दिने मुभिङ एभरेज अझै पनि २०० दिनेभन्दा माथि रहेकाले दीर्घकालीन प्रवृत्ति पूर्ण रूपमा नकारात्मक भइसकेको निष्कर्षमा पुग्न भने हतार हुन्छ।

तर यी सूचकलाई याद गर्नुपर्ने देखिएको छ।

बजारमा पैसाको प्रवाह घटिरहेको संकेत दैनिक कारोबार रकमले गरिरहेकै छ।

पुँजी प्रवाहको अवस्था देखाउने मनी फ्लो सूचक अहिले २२ मा छ। सामान्यतया २० भन्दा तल पुगेमा बजारमा अत्यधिक बिक्री र पुँजी बाहिरिएको संकेत मानिन्छ। केही दिनअघि यो सूचक ६.४ सम्म झरेको थियो। त्यसयता बढेर लगातार तीन दिनदेखि २२ वरिपरि रह्यो। 

यसले अत्यधिक बिक्रीको दबाब केही कम भएको देखिए पनि अझै बलियो गरी नयाँ पुँजी प्रवेश देखिएको छैन।

विगत ३० दिनमा बजारमा पैसा बाहिरिने र भित्रिने (एकुमुलेसन र डिस्ट्रिब्युसन) लगभग समान देखिन्छ। सोमबारसम्म यो ३६ लाखले ऋणात्मक छ। यो अवधिमा ६ करोड ६३ लाख ऋणात्मक हुँदा ६ करोड २७ लाख धनात्मक छ।

नेप्सेमा बनेको मैनबत्ती चित्रले विगत चार दिनमा दोस्रो दिन ह्यांगिङ म्यान आकृति बनाएको छ। पहिलो दिने मूल्य बढेकामा दोस्रो दिन यस्तो आकृति बनेर बजार घट्न सक्ने संकेत गरेको देखिन्छ।

यो बलियो संकेत मानिदैन।

तर त्यसपछिका दुई दिन बजार घटेर कालो (रातो) केही लामा मैनबत्ती बने।

यो चार दिनको प्रवृत्तिमा अन्तिम दिन बजार थप तल आएको छ। यसले बजार थप केही समय घट्न सक्ने संकेत गर्छ।

मैनबत्ती चित्र विश्लेषण अल्पकालीन प्रवृत्ति विश्लेषणमा प्रयोग हुन्छ।

समग्रमा हेर्दा बजारमा अहिले सकारात्मक र नकारात्मक दुवै पक्ष देखिन्छन्। न्यून ब्याजदर, बैंकिङ क्षेत्रको क्रमिक सुधार, लाभांश सिजन नजिकिनु र केही कम्पनीको मूल्य आकर्षक स्तरमा पुग्नु सकारात्मक पक्ष हुन्।

तर सरकारबाट बजारमैत्री स्पष्ट संकेत नआउनु, बैंकहरूको पुँजी कोषमा दबाब, आर्थिक वर्ष अन्त्यको कर्जा व्यवस्थापन, कमजोर प्राविधिक संकेत तथा घट्दो लगानीकर्ताको मनोभावले बजारलाई अझै दबाबमै राखेको छ।

त्यसैले आगामी मौद्रिक नीति र त्यसपछिको नीतिगत संकेतले बजारको आगामी दिशा निर्धारण गर्ने सम्भावना बढी देखिन्छ।

यद्यपि बजार जोखिममा आधारित हुने भएकोले लगानीकर्ताहरूले कारोबार गर्दा व्यक्तिगत विश्लेषण पनि गर्नु उपयुक्त हुन्छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.