Skip to main content

Suchana Vatika

लगानीकर्ता किन भए सचेत, सेयरमा दुई रेखाको खेल

घट्दो क्रममा रहेको सेयर बजार परिसूचक नेप्से बिहीबार फेरि एक पटक २६ सय विन्दुमा आइपुगेको छ।

असार १६ गते २६०५ सम्म ओर्लिएर बढ्ने प्रयासमा रहेको नेप्से यस बिहीबार त्यहाँभन्दा पनि तल ओर्लियो।

बिहीबार नेप्से परिसूचक २६०१.९२ मा रहेर बन्द भयो। यो साढे ६ महिनायताकै न्यून विन्दु हो। यसअघि पुस ९ गते २५८५ विन्दुमा रहेको नेप्सेले बिहीबार त्यसपछिको नयाँ न्यून विन्दु बनाएको हो।

अहिले बजार यस्तो मोडमा आएको छ, जहाँबाट बजार घट्यो भने थप तल ओर्लिने सम्भावना हुन सक्छ। यही कारण पनि केही समयदेखि नै बजार २६ सय विन्दु माथि नै अडिने प्रयासमा देखिएको छ।

प्राविधिक विश्लेषण बुझ्ने लगानीकर्ताहरू अहिले बजारको यही महत्वपूर्ण चरणलाई निकै चाख मानेर हेरिरहेका छन्। किनभने अहिले बजारमा दुई रेखाको खेल चलिरहेको छ।

यी हुन्, ५० दिने (दिन) मुभिङ एभरेज र २०० दिने मुभिङ एभरेज रेखा।

प्राविधिक विश्लेषणका दृष्टिले महत्वपूर्ण मानिने ५० दिने र २०० दिने मुभिङ एभरेज रेखा एकअर्काको निकै नजिक आएका छन्।

५० दिने रेखा माथिबाट क्रमशः तल झर्ने क्रममा छ भने २०० दिने रेखा बिस्तारै माथि उक्लिरहेको छ। यही गति कायम रहेमा यी दुई रेखाले छिट्टै एकअर्कालाई काट्ने सम्भावना देखिएको छ।

प्राविधिक विश्लेषणमा ५० दिने मुभिङ एभरेज रेखाले मध्यम अवधिको बजार प्रवृत्ति देखाउँछ। २०० दिने रेखाले दीर्घकालीन प्रवृत्ति देखाउँछ।

५० दिने रेखा ओर्लिने क्रममा २०० दिने रेखालाई काटेर तल झरेमा त्यसलाई ‘डेथ–क्रस’ भनिन्छ। बजारको बुलिस शक्ति क्षीण हुँदै गइरहेको संकेत यसले गर्छ। बुलिस प्रवृत्ति सकिँदै गएको र प्रवृत्ति परिवर्तन हुन थाल्ने संकेत गर्छ।

५० दिने रेखा लगातार ओरालो लाग्नुले पछिल्ला केही सातायता बजारमा बिक्री दबाब बलियो रहेको देखाउँछ। ५० दिने र २०० दिने यी रेखाबीचको दुरी तीव्र रूपमा घट्दै गइरहेकाले बजार कमजोर बन्दै गएको संकेतको रूपमा हेरिएको छ।

Nepse-MA-1783609335.jpg

अन्तर्राष्ट्रिय बजारहरूमा पनि ५० र २०० दिने मुभिङ एभरेजको क्रसओभरलाई धेरैले बजारको प्रवृत्ति मूल्यांकन गर्ने प्रमुख आधारका रूपमा प्रयोग गर्छन्। एक रेखाले अर्को रेखा काट्नुलाई क्रसओभर भनिन्छ।

जसरी ५० दिने रेखा ओर्लिने क्रममा २०० दिने रेखा काटेर तल झरेमा त्यसलाई डेथ–क्रस भनिन्छ, त्यसैगरी तल आइपुगेको ५० दिने रेखाले उकालो लाग्ने क्रममा २०० दिने रेखालाई काटेर माथि गएमा गोल्डेन क्रस–ओभर भएको मानिन्छ।

यसले बजारको बियरिस प्रवृत्ति सकिएर बुलिस प्रवृत्तिमा जान लागेको संकेत गर्छ।

बजारको प्रवृति परिवर्तन सुरू भइसकेपछि यस्तो संकेत देखिने भएकाले यसलाई प्रवृत्ति परिवर्तनको पुष्टि गर्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने मानिन्छ।

यी दुई रेखाको चालको आधारमा नेपालमा पनि कतिपयले लगानी रणनीति बनाउँछन्। तर यो एउटा प्राविधिक सूचकका आधारमा मात्र लगानी निर्णय गर्नु उपयुक्त मानिँदैन। किनभने नेपालको जस्तो उच्च उतारचढाव देखिने सेयर बजारमा यस्तो क्रस–ओभर छोटो छोटो अवधिमा हुन्छ।

बजारसँग सम्बन्धित अन्य खबर, सरकारी नीति लगायत अन्य विभिन्न पक्षले पनि हाम्रो सेयर बजारलाई प्रभाव पार्छ। आगामी दिनका घटना क्रमले बजारको भावी दिशा स्पष्ट पार्नेछ।

त्यसैले यी संकेतको आधारमा मात्रै लगानी रणनीति बनाउँदा जोखिम हुन सक्छ।

बजारमा ‘राउन्ड फिगर’ लाई मनोवैज्ञानिक विन्दु पनि मानिन्छ। त्यसैले अहिले बजार आएको २६०० को यो विन्दुमा टेवा परीक्षण गर्न पनि सक्छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.