काठमाडौँ । शनिबार कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुमबासीको अवस्था बुझ्न पुगेका मजिद अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
जानकारीअनुसार पक्राउ गर्ने क्रममा भएको धरपकडका बेला उनको टाउको, अनुहार तथा शरीरको माथिल्लो भागमा चोट लागेको बताइएको छ । उनलाई थप उपचारका लागि शिक्षण अस्पतालमा रेफर गरिएको हो ।
अन्सारीलाई नियन्त्रणमा लिएलगत्तै कीर्तिपुर प्रहरी वृत्त लगिएको थियो । त्यसक्रममा उनको आँखामा चोट देखिएपछि प्रहरीले नै अस्पतालसम्म पुर्याएर आँखा परीक्षण गराउन सहजीकरण गरेको जिल्ला प्रहरी परिसरका एक प्रहरी अधिकृतले रातोपाटीलाई बताएका छन् ।
प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा धक्कामुक्की हुँदा अन्सारीको अनुहार र आँखामा चोट लागेको हो । यद्यपि, प्रारम्भिक रूपमा बाहिर आएका विवरणमा उनको टाउको र अनुहारमा गम्भीर चोट लागेको दाबी गरिएको छ ।
शनिबार दिउँसो होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ रहेका सुकुमबासीको अवस्था बुझ्न पुगेका अन्सारीसहित केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सोही क्रममा अन्सारी घाइते भएका हुन् ।