Skip to main content

Suchana Vatika

कांग्रेस र एमाले बागमतीमा सरकार बनाउन नेकपा फकाउँदै

कांग्रेस र एमाले दुवै दलले सरकार गठनका सम्बन्धमा आज बिहीबार नेकपासँग छलफल गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता साझेदारी टुट्ने संकेतसँगै बागमती प्रदेश सरकारमा हलचल उत्पन्न भएको छ।
नेकपा सांसद रत्नप्रसाद ढकालले दुवै दलबाट सरकार गठनबारे अनौपचारिक छलफल भएको तर अध्यक्ष प्रचण्डको पर्खाइमा रहेको बताए।बागमतीमा सरकार बनाउन ५३ सांसद आवश्यक पर्नेमा कांग्रेस र नेकपा मिल्दा ६२ सिटसहित स्पष्ट बहुमत पुग्छ।

३२ असार, हेटौंडा । नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता साझेदारी टुट्ने भएसँगै बागमती सरकारमा पनि सरकारमा हलचल आएको छ ।

कांग्रेसको केन्द्रीय नेतृत्वले बुधवार एमालेसँगको सम्झेदारी अगाडि बढ्न नसक्ने निश्कर्ष निकलेसँगै बागमती प्रदेशमा पनि एक वर्ष पुरानो साझेदारी अन्त्य उन्मुख छ ।

बागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्दै आएको छ । एमालेले प्रदेशसभाको यो कार्यकालको बाँकी अवधि सरकारको नेतृत्वमा दाबी गर्दै आएको थियो ।

तर, केन्द्रबाटै साझेदारी टुट्ने निर्णय भएकाले कांग्रेस सरकार टिकाउने योजनामा छ । एमाले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)लाई साथमा लिएर नयाँ सरकार गठनको रणनीतिमा लागेको छ ।

कांग्रेस र एमाले दुवै दलले सरकार गठनका सम्बन्धमा आज बिहीबार नेकपासँग छलफल गरेका छन् । नेकपा सांसद तथा पूर्वमन्त्री रत्नप्रसाद ढकालले एमाले र कांग्रेसले सरकार गठनको सम्बन्धमा अनौपचारिक छलफल गरेको बताए ।

‘औपचारिक रुपमा छलफल हुन पाएको छैन । फोन सम्पर्कमार्फत दुवै दलबाट कुरा आएको छ । छलफल गरेर अघि बढ्छौं ।’ उनले भने ।

पार्टी नेतृत्वबाट स्पष्ट निर्देशन नआइसकेको सरकार गठनमा हुने निश्चित भूमिकाबारे अहिले नै भन्न नसकिने उनले बताए ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीलंका भ्रमणबाट फर्किएपछि मात्रै सरकारबारे छलफल हुने उनको भनाइ छ ।

सांसद ढकालले केन्द्रमा कुनै गठबन्धन नरहेकाले प्रदेशमा आवश्यकताअनुसार जुन दलसँग पनि मिलेर सरकार गठन गर्न सकिने बताए । नेकपाले बागमती प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने उनी बताउँछन् ।

एमालेले नेकपालाई वाम गठबन्धनको प्रस्ताव गरेको एक सांसदले जानकारी दिए । एमाले कांग्रेससँग पूर्वसहमति अनुसार सरकारको नेतृत्व गर्न पाउनुपर्ने पक्षमा थियो ।

९ साउन ०८१ मा नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार गठन हुँदा नै सरकारको नेतृत्व २०–२० महिना सञ्चालन गर्ने सहमति थियो । सहमति हुँदा कांग्रेस संसदीय दलको नेता बहादुरसिंह लामा मुख्यमन्त्री बनेका थिए ।

तर, लामा मुख्यमन्त्री बनेको एकवर्षपछि कांग्रेस संसदीय दलमा बहुमत जुटाएका इन्द्रबहादुर बानियाँले अविश्वासको प्रस्ताव दर्ता गरेर उनलाई हटाएका थिए ।

चालु आव २०८१/८२ को बजेटमा पार्टी भित्रको विवादलाई मुद्दा बनाएर आफ्नो पक्षमा बहुमत सांसद जुटाउँदै तत्कालीन पार्टी सभापति शेरबहादुर देउवाको समर्थनमा बानियाँले लामालाई सरकारबाट हटाएर २० साउन ०८२ मा आफू मुख्यमन्त्री बने ।

बागमती प्रदेशसभामा कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ । नेकपाको २६ सिट, नेकपा एमालेको २५ सिट छ । अन्य साना दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।

प्रदेशसभामा निर्वाचित ११० जना प्रदेशसभा सदस्यमध्ये ६ जनाले गत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल प्रदेशसभा १०४ सदस्यीय छ । बागमतीमा नयाँ सरकार गठनका लागि ५३ जना प्रदेशसभा सदस्यको बहुमत पुर्‍याउनुपर्ने हुन्छ ।

कांग्रेस र नेकपा मिल्दा ६२ सांसदसहित स्पष्ट बहुमत छ । एमाले र नेकपा मिलेर (५१ सांसद) सरकार बनाउँदा २ सिट अपुग हुन्छ । बहुमत पुर्‍याउन अन्य साना दललाई सरकारमा सहभागी गराउनुपर्नेछ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.