अनेरास्ववियू (क्रान्तिकारी)ले शिक्षा, स्वास्थ्य, राइड सेयरिङ र विद्युत् सेवामा लगाइएको कर खारेज गर्न माग गरेको छ।
सरकारले दलाई लामाको जन्मदिन मनाउन दिएको अनुमति र सिक्काबाट नेपालको नक्सा हटाउने निर्णयको विरोध गर्दै नाम्गेल स्कुल बन्द गर्न माग गरेको छ।
सुकुम्बासीको उचित व्यवस्थापन र आत्मदाह गरेका युवाका पीडित परिवारको व्यवस्थापन गर्न सरकारसँग माग गरिएको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बहुमत निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले सरकारका पछिल्ला निर्णयहरूको विरोध गर्दै शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको कर तत्काल खारेज गर्न, राष्ट्रिय स्वाधीनतासँग जोडिएका विषयमा पुनर्विचार गर्न तथा नाम्गेल स्कुल बन्द गर्न माग गरेको छ।
सङ्गठनका उपाध्यक्ष डीबी बुढाथोकी र महासचिव उषाकिरण आजाद कामीद्वारा आइतबार जारी प्रेस वक्तव्यमा सरकारले शिक्षा, स्वास्थ्य, राइड सेयरिङ तथा विद्युत् सेवामा कर लगाएर विद्यार्थी र आमजनतामाथि आर्थिक भार थपेको आरोप लगाइएको छ। वक्तव्यमा शिक्षा र स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क बनाउन पनि सरकारसँग माग गरिएको छ।
सङ्गठनले नेपालले अवलम्बन गरेको एक चीन नीति विपरीत दलाई लामाको जन्मदिन मनाउन अनुमति दिएको भन्दै त्यसको विरोध गरेको छ। साथै, उक्त कार्यक्रमसँग सम्बन्धित नाम्गेल स्कुल बन्द गर्न सरकारसँग माग गर्दै माग पूरा नभए सङ्गठन आफैँले उक्त स्कुल बन्द गर्ने चेतावनी दिइएको छ।
प्रेस वक्तव्यमा सरकारले प्रचलनमा ल्याउने सिक्काबाट नेपालको नक्सा हटाउने निर्णयलाई पनि राष्ट्रहित विपरीत भएको दाबी गर्दै तत्काल फिर्ता लिन माग गरिएको छ।
त्यसैगरी, सुकुमबासीलाई घरबारविहीन बनाउने नीति अपनाइएको आरोप लगाउँदै उनीहरूको उचित व्यवस्थापन र सुकुमबासी विद्यार्थीको अध्ययन-अध्यापन सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ।
वक्तव्यमा सरकार गठन भएको एक सय दिनभित्र चार जना युवाले आत्मदाह गरेको उल्लेख गर्दै त्यसप्रति राज्य जिम्मेवार हुनुपर्ने र पीडित परिवारको उचित व्यवस्थापन गर्नुपर्ने माग पनि गरिएको छ।
