Skip to main content

Suchana Vatika

आइजिपी कार्की – पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्। 

सिंहदरबारमा शुक्रबार आयोजित संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक कार्कीले सीमा सुरक्षा र अपराध नियन्त्रणका सन्दर्भमा प्रहरीले भोग्नुपरेका समस्याबारे जानकारी गराए।

महानिरीक्षक कार्कीका अनुसार पछिल्लो समय रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढेको छ।

उनले भने, ‘सीमावर्ती क्षेत्रको सुरक्षाका सन्दर्भमा रोहिङ्ग्या शरणार्थीको विषय पनि चुनौतीका रूपमा देखिएको छ। भारततर्फबाट नेपाल प्रवेश गरी विभिन्न स्थानमा बसोवास गर्ने प्रयास गर्ने रोहिङ्ग्यासहित अन्य देशका नागरिकलाई पहिचान गरी नियन्त्रणमा लिई सम्बन्धित निकायलाई बुझाउने काम भइरहेको छ। उनीहरूमध्ये केही लागुऔषध कारोबारजस्ता अपराधमा संलग्न रहेको पाइएको छ। हालै दक्षिणी सीमामा मल खरिद–बिक्रीसँग सम्बन्धित तस्करी प्रकरणमा पक्राउ परेका नेपाली नागरिकको विषयमा प्रहरी–प्रहरी समन्वय र कूटनीतिक पहलमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको छ।’

नेपालका विभिन्न स्थानमा समूह बनाएर बस्ने गरेका यस्ता व्यक्तिहरू लागुऔषध कारोबार लगायतका सुरक्षा संवेदनशीलता उत्पन्न गर्ने क्रियाकलापमा संलग्न रहेको पाइएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याएको छ।

बैठकमा उनले दक्षिण सीमाबाट मल खरिद गर्ने क्रममा केही नेपालीहरू तस्करीको अभियोगमा भारतीय प्रहरीको हिरासतमा रहेको जानकारी दिए। 

यस विषयमा ‘पुलिस टू पुलिस’ समन्वय र कूटनीतिक प्रयास भइरहेको र कानूनी प्रक्रिया पूरा गरी उनीहरू छिट्टै रिहा हुने अवस्थामा रहेको उनले बताए।  

कानूनी जटिलताका बारेमा चर्चा गर्दै महानिरीक्षक कार्कीले चोरी जस्ता मुद्दामा बाह्य क्षेत्राधिकारको अभावमा अनुसन्धानमा समस्या परेको स्पष्ट पारे। 

सीमा क्षेत्रमा हुने अवैध हातहतियारको ओसारपसार, लागुऔषध तस्करी, र साइबर स्क्यामिङलाई पनि प्रहरीले प्रमुख चुनौतीका रूपमा लिएको छ।

उनले भने, ‘खुला सीमाका कारण हातहतियार तथा लागुऔषध तस्करी, अन्तरदेशीय संगठित अपराध, साइबर ठगी, अनलाइन स्क्यामिङ, मानव बेचबिखन, अवैध वैदेशिक रोजगारी, बैंकिङ ठगी, अनलाइन सट्टेबाजीजस्ता गतिविधि बढ्दो चुनौतीका रूपमा रहेका छन्। यी चुनौती नियन्त्रण गर्न नेपाल प्रहरीले नियमित गस्ती, निगरानी र संयुक्त सुरक्षा अभियानका साथै ड्रोन, स्क्यानर र तालिमप्राप्त कुकुर (के–९) जस्ता प्रविधिको प्रयोग गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै आएको छ।’

विशेषगरी वैदेशिक रोजगारीको प्रलोभन देखाई हुने ठगी र ओटिपीमार्फत् हुने बैंकिङ फ्रडका कारण सर्वसाधारणले अर्बौं रुपैयाँ गुमाउनुपरेको बताए।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति नभएका व्यक्तिहरू खुला सीमाको फाइदा उठाउँदै भारत भएर तेस्रो मुलुक जाने गरेको र यसले मानव तस्करीको जोखिम बढाएको महानिरीक्षक कार्कीको भनाइ छ।

सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याउन नेपाल प्रहरीले नियमित गस्तीका साथै आधुनिक प्रविधिको प्रयोगलाई तीव्रता दिएको छ। उपकरणको सीमितताका बाबजुद पनि संवेदनशील स्थानहरूमा ड्रोन, स्क्यानर र तालिमप्राप्त कुकुर (केनाइन) परिचालन गरी निगरानी बढाइएको उनले जानकारी दिए। –न्युज एजेन्सी नेपाल

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.