Skip to main content

Suchana Vatika

कर्जा बक्यौता ४० अर्ब, सहुलियतपूर्ण कर्जामा सरकारले दियो ३९ अर्ब ब्याज अनुदान

सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रमका लागि हालसम्म ३९ अर्ब २७ करोड रुपैयाँ ब्याज अनुदानवापत भुक्तानी दिएको छ । दुरुपयोगको प्रश्न उठेपछि दुई वर्षदेखि रोकिएको सहुलियतपूर्ण कर्जा कार्यक्रम परिमार्जित कार्यविधिसहित पुनः सुरु गरिएको छ । नयाँ कार्यविधिअनुसार ब्याज अनुदानको सीमा ५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा सीमित गरिएको छ ।

१८ साउन, काठमाडौं । सरकारले हालसम्म सहुलियतपूर्ण कर्जाको लागि ३९ अर्ब २७ करोड रुपैयाँ ब्याज अनुदान भुक्तानी दिएको छ । सरकारले आन्तरिक उत्पादन बढाउन, स्वरोजगार प्रदान गर्न, महिला तथा कृषि व्यवसाय प्रवर्द्धन गर्नका लागि यो रकम ब्याज अनुदानस्वरुप लगानी गरेको हो ।

सरकारले विभिन्न शीर्षकमा ब्याज अनुदान दिएर उद्यमशीलता प्रवर्द्धन तथा आन्तरिक उत्पादन बढाउने उद्देश्य लिएको थियो । त्यसकै लागि सहूलियतपूर्ण कर्जा कार्यक्रम ल्याएर त्यसमै ब्याज अनुदान प्रदानको घोषणा गरेको थियो ।

सहुलियपूर्ण कर्जाको सदुपयोगमा प्रश्न उठेपछि विगत २ वर्षदेखि यस्तो कर्जा रोकिएको छ । अघिल्लो आर्थिक वर्षको बजेट मार्फत सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई परिष्कृत गरेर ल्याउने भन्दै सरकारले रोकेको थियो । सरकारले ब्याज अनुदान नदिने भएपछि बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा दिन छोडे ।

अहिले फेरि सहुलियतपूर्ण कर्जा कार्यविधि परिमार्जन भएर आएको छ । त्यसमा अनुदान पाइने ब्याज विगतको तुलनामा घटेको छ । यसभन्दा अघि सरकारले यस्तो कर्जामा ५ प्रतिशतसम्म ब्याज अनुदान दिन्थ्यो । तर नयाँ व्यवस्था अनुसार ब्याज अनुदान ३ प्रतिशतमा सीमित भएको छ । अर्थमन्त्रालयले २०८७ सम्म यस्तो कर्जा दिने व्यवस्था गर्दै कार्यविधि ल्याएको भएपनि नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छैन ।

सहुलियतपूर्ण कर्जा दुरुपयोग भएपछि सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि २०८२ विगतको भन्दा परिमार्जन गरेर ल्याएको छ । तर, विगतको सहुलियत कर्जाकै ब्याज अनुदान भुक्तानी बाँकी छ ।

गत आवको बजेटमा समेत सहुलियतपूर्ण कर्जा कार्यक्रम कार्यान्वयन गर्ने उल्लेख छ । सोही अनुसार सरकार बक्यौता भुक्तानी दिने विषयमा मौन रहेर पनि नयाँ कार्यविधि लागु गर्दै उक्त कर्जा कार्यक्रमलाई निरन्तरता दिएको हो ।

सरकारले सहुलियतपूर्ण कर्जा दिने भनेको ब्याज भुक्तानी नदिएपछि बैंकहरूले अनौपचारिक रूपमा दुई वर्षदेखि यस्तो कर्जा प्रदान गर्न रोकेका छन् । बैंकहरूले रोकेको उक्त कार्यक्रमलाई राष्ट्र बैंकले पनि मौन समर्थन गर्दै कर्जा स्वीकृत गरेको छैन ।

बैंक तथा वित्तीय संस्थाबाट उक्त शीर्षकमा गएको कुल कर्जा १ खर्ब ४० अर्ब रुपैयाँ हो । त्यसमध्ये अझै पनि ४० अर्ब २० करोड बराबर कर्जा बक्यौता छ । यस्तो कर्जामा सरकारले कुल ३९ अर्ब २७ करोड अनुदान ब्याज भुक्तानी दिएको छ ।

कार्यविधि ब्याजदर सन्दर्भमा पनि बैंक तथा वित्तीय संस्थाले आधार दरमा थप २ प्रतिशत प्रिमियम लिन पाउने व्यवस्थालाई १.५ प्रतिशत कायम गरिएको छ । कर्जा अवधि भने ५ वर्षको हुनेछ । नयाँ कार्यविधिले राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र ऋणीलाई पनि जिम्मेवार बनाउँदै काम, कर्तव्य र अधिकार छुट्याएको छ ।

नयाँ कार्यविधिले कृषि तथा पशुपन्छी कर्जा ५ करोड रुपैयाँसम्म, महिला उद्यमशील कर्जा २५ लाख, वैदेशिक रोजगारबाट फर्केकालाई युवा स्वरोजगार कर्जा २० लाखसम्म, शिक्षित युवा परियोजना कर्जा २० लाख रुपैयाँसम्म सहुलियत कर्जा पाउन सक्ने व्यवस्था गरेको छ ।

त्यसैगरी दलित समुदाय भगत सर्वजित उद्यम विकास कर्जा २० लाख, स्टार्टअप उद्यम कर्जा २५ लाख, उद्योगमा बोइलर प्रतिस्थापन कर्जा अधिकतम ५० लाख, प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण कर्जा ५ लाखसम्म सहुलियतपूर्ण कर्जा वर्गमा पर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.