सिराहामा ९१ किलो गाँजासहित एकजना पक्राउ परेका छन् भने घटनामा संलग्न अन्य ४ जना फरार भएका छन् ।प्रहरीको गस्ती टोलीले सिमरा बलान खोलाबाट कपडाको नाम्लोमा बोरा बोकी हिँडिरहेका ५ जनामध्ये ४३ वर्षीय मोहन साहलाई पक्राउ गरेको हो । प्रहरीले फरार रहेका कलेन्द्र यादव, ब्रम्हदेव यादव र अन्य दुईजनाको खोजीकार्य तीव्र पारेको छ ।
जनकपुरधाम । सिराहामा ९१ किलो गाँजा सहित एकजना मानिस पक्राउ परेका छन् । घटनमा संलग्न अन्य ४ जना फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार राति गस्तीको क्रममा जिल्लाको सखुवानान्कारकट्टी ४, सिमरा बलान खोलाबाट उक्त गाँजा सहित एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालका अनुसार इलाका प्रहरी कार्यालय सिराहा र महेशवारीको संयुक्त गस्ती टोलीले ५ जना मानिसहरू कपडाको नाम्लो बनाई टाउकोमा बोरा बोकी हिँडिरहेको अवस्थामा प्रहरी देख्नासाथ बोरा फालेर भाग्ने क्रममा भगवानपुर ४ जमुवाटोल बस्ने ४३ वर्षीय मोहन साहलाई पक्राउ गरेको जनाएको छ ।
अभियुक्तहरूले फालेको बोरा खान तलासी गर्दा लागुऔषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सिराहामा ल्याइएको छ भने घटनामा संलग्न भएपनि फरार भएका अभियुक्तहरू भगवानपुर ४ जमुवा टोलका ४३ वर्षीय कलेन्द्र यादव र ब्रम्हदेव यादवसहित पहिचान खुल्न बाँकी अन्य दुईजनाको खोजीकार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।