बजारमा पाइने पनिर सक्कली हो वा नक्कली छुट्याउनका लागि यसको बनावट, रङ, तताएर हेर्ने, स्वाद, गन्ध, प्याकेज र लेबल जाँच गर्न सकिन्छ । सक्कली पनिर नरम तर कसिलो हुन्छ, थिच्दा सजिलै भाँचिँदैन र केही लचिलोपन देखाउँछ । राम्रो गुणस्तरको पनिर सेतो वा हल्का क्रिमी रङको हुन्छ, तर रङले मात्र पनिर सक्कली हो वा होइन भनी निर्धारण गर्न सक्दैन ।
काठमाडौँ । नेपाली घरमा पनिर भोजनको अभिन्न अङ्ग बनेको छ । पनिरलाई तरकारी तथा खाजामा विभिन्न तरिकाले प्रयोग गरिँदै आएको छ।
तर, बजारमा मिसावट भएको वा कमसल पनिर बिक्रीका खबर पनि बेलाबेलामा आइरहेका छन् । यसले तपाईंको मनमा पनि सक्कली र नक्कली पनिर कसरी छुट्याउने भन्ने प्रश्न पक्कै उठ्छ होला ।
आजको यस लेखमा हामी नक्कली र सक्कली पनिर छुट्याउने केही सरल घरेलु उपायहरूबारे कुराकानी गर्नेछौँ :
१. बनावट
सक्कली पनिर सामान्यतया नरम तर थोरै कडा (कसिलो) हुन्छ । थिच्दा यो सजिलै भाँचिँदैन, केही लचिलोपन देखाउँछ । यसको विपरीत, पनिर रबरजस्तो छ, धेरै कडा वा असामान्य रूपमा चिल्लो/चिप्लो छ भने यो शङ्कास्पद हुन सक्छ । हरेक पटक किन्दाखेरि नै पनिरको बनावट मूल्याङ्कन गर्न यसलाई हल्का थिच्नुहोस् ।
२. रङ
राम्रो गुणस्तरको पनिर सामान्यतया सेतो वा हल्का क्रिमी रङको हुन्छ । यदि पनिर धेरै चम्किलो सेतो, पहेँलो वा कुनै अन्य असामान्य रङको देखिन्छ भने सावधान रहनुहोस् । तर, रङले मात्र पनिर नक्कली हो कि सक्कली हो भनेर निर्धारण गर्न सक्दैन, किनकि प्रयोग गरिएको दूध र उत्पादन विधिले रङमा थोरै भिन्नता ल्याउन सक्छ ।
३. सानो टुक्रालाई तताएर हेर्ने
तपाईंले घरमै पनिरको सानो टुक्रा तताएर पनि प्रारम्भिक जाँच गर्न सक्नुहुन्छ । सक्कली पनिरलाई तताउँदा नरम हुन्छ अनि यसको प्राकृतिक बनावट जस्ताको तस्तै रहन्छ । तर, तताउँदा पनिर रबरजस्तो हुन्छ वा अनौठो देखिन्छ भने यसलाई नखानु नै बेस हुन्छ । यो कुरा याद गर्नुहोस् कि यो केवल एक सङ्केत हो, निश्चित परीक्षण होइन ।
४. स्वाद र गन्ध
ताजा पनिरमा हल्का, प्राकृतिक, दूधजस्तो बास्ना आउँछ । यदि पनिरको गन्ध अमिलो वा बासी छ, यसबाट रासायनिक वस्तुको जस्तो वा अनौठो बास्ना आइरहेको छ भने यस्तो पनिर किन्नु हुँदैन । स्वाद असामान्य रूपमा अमिलो वा तीतो छ भने यसलाई खानु हुन्न । पनिर मिसावटका कारणले मात्र नभई ठीकसँग भण्डारण गरेर नराख्दा पनि बिग्रन सक्छ ।
५. प्याकेज र लेबलको जाँच
प्याकेटमा राखिएको पनिर किन्दा लेबल, प्याकेजिङ मिति, म्याद सकिने मिति र भण्डारण निर्देशनहरू पढ्नुहोस् । प्याकेट फुलेको छ, च्यातिएको छ वा यसबाट चुहावट भइरहेको छ भने यसलाई नकिन्नुहोस् । प्याकेटमा नराखिकन बेचिने खुला पनिर किन्दा भने सरसफाइ र भण्डारण गर्दाको तापक्रममा ध्यान दिनुहोस् ।
अस्वीकरण: यो अनलाइन स्रोतका आधारमा तयार पारिएको सामान्य जानकारी हो ।