Skip to main content

Suchana Vatika

पद ओगट्ने र सङ्कटमा भाग्नेलाई पार्टीमा ठाउँ छैन, लिङ्देनको चेतावनी 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीप्रति निष्ठावान र क्रियाशील कार्यकर्ताहरूको राजनीतिक भविष्य सुरक्षित गर्ने जिम्मेवारी आफूले लिने बताएका छन्। उनले जिम्मेवारी लिएर काम नगर्ने र सङ्कटको समयमा पछि हट्नेहरूका लागि पार्टीमा स्थान नहुने स्पष्ट पारे। लिङ्देनले आफ्नै परिवारका सदस्यहरूलाई राप्रपामा आवद्ध गराउन कार्यकर्तालाई आग्रह गर्दै सङ्गठन सुदृढीकरणका लागि सक्रिय सदस्यता अभियानमा तत्काल केन्द्रित हुन निर्देशन दिए।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीप्रति निष्ठावान र क्रियाशील कार्यकर्ताहरूको राजनीतिक भविष्य सुरक्षित गर्ने जिम्मेवारी आफूले लिने बताए। 

राप्रपा काठमाडौँ महानगरपालिका नगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले पार्टीमा अवसर र व्यक्तित्व विकासको चिन्ता गरेर विचलित नहुन आग्रह गरेका हुन् ।

पार्टी र देशको सेवामा समर्पित हुन चाहने हरेक व्यक्तिको भविष्य सुरक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्दै लिङ्देनले भने, ‘अन्तरसङ्घर्ष वा विगतका कुनै पनि मतभेदका कारण कोही पनि त्रसित हुनु पर्दैन, म सबैको अभिभावक बनेर काम गर्छु।’ तर जिम्मेवारी लिएर काम नगर्ने र सङ्कटको समयमा पछि हट्नेहरूका लागि पार्टीमा स्थान नहुने उनले स्पष्ट पारे।

अध्यक्षको हैसियतले विश्वास दिलाउँदै लिङ्देनले भने, ‘राजनीतिमा लागेर देशको सेवा गर्न चाहनेले अवसर पाउँदिन कि भनेर डराउनु पर्दैन। काम गर्ने साथीहरूका लागि पार्टीमा पूर्ण ठाउँ छ।’ पद मात्र ओगट्ने र लडाइँको बेला भाग्नेहरूलाई आफैँले धकेलेर बिदा गरिदिने चेतावनी समेत उनले दिए।

सबैभन्दा पहिले आफ्नै परिवारका सदस्यहरूलाई राप्रपामा आवद्ध गराउन उनले कार्यकर्तालाई आग्रह गरे। ‘आफ्नै परिवारका सदस्यले नपत्याएको व्यक्तिलाई छिमेकी र समाजले विश्वास गर्दैनन्,’ लिङ्देनले भने।

सङ्गठन सुदृढीकरणका लागि हाल सक्रिय सदस्यता अभियान चलिरहेको जानकारी दिँदै लिङ्देनले उक्त कार्यमा तत्काल केन्द्रित हुन निर्देशन दिए। योजनाबद्ध ढङ्गले नातागोता र छरछिमेक हुँदै सङ्गठन विस्तारमा लाग्न आग्रह गर्दै उनले निकट भविष्यमा राप्रपामा जनलहर आउने दाबी गरे। इमान्दार भएर वडा जिताउने र पार्टीको जिम्मेवारी बहन गर्ने सङ्कल्पका साथ अघि बढ्न उनले कार्यकर्तालाई हौसला दिए।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.