Skip to main content

Suchana Vatika

शेरचन : डायस्पोराका साझा सरोकार अघि बढाउन एनआरएनए युरोपेली सम्मेलन महत्त्वपूर्ण

गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले १७औँ एनआरएनए युरोपेली क्षेत्रीय सम्मेलन डायस्पोराका साझा सरोकारलाई प्रभावकारी रूपमा अघि बढाउने महत्त्वपूर्ण मञ्च भएको बताएका छन्।

शेरचनका अनुसार सम्मेलनमा गैरआवासीय नेपाली समुदायका साझा मुद्दा, सम्भावना र भावी यात्राबारे सार्थक छलफल हुनेछ र युरोप तथा विश्वभरका गैरआवासीय नेपालीहरूसँग भेटघाट, अनुभव आदानप्रदान र सहकार्यका सम्भावनाबारे व्यापक संवाद हुनेछ।

शेरचनले सम्मेलनले गैरआवासीय नेपाली नागरिकता, अधिकार, रेमिटेन्सबाट लगानी साझेदारी, रोजगारी, सामाजिक सुरक्षा, नेपालमा ज्ञान, सीप र पूँजीको उपयोग तथा डायस्पोराका अन्य साझा सरोकारका विषयमा ठोस दिशा दिने विश्वास व्यक्त गरे।

काठमाडौँ  । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले डब्लिनमा आयोजना हुने १७औँ एनआरएनए युरोपेली क्षेत्रीय सम्मेलन डायस्पोराका साझा सरोकारलाई प्रभावकारी रूपमा अघि बढाउने महत्त्वपूर्ण मञ्च भएको बताएका छन्।

आयरल्यान्डको डब्लिनमा  अगस्ट १० र ११ मा हुने सम्मेलनमा सहभागी हुन जापानबाट प्रस्थान गर्नुअघि शेरचनले युरोप र नेपाली समुदायबीच दशकौँदेखि श्रम, ज्ञान, सीप, अनुभव र आपसी सम्मानमा आधारित सम्बन्ध रहेको बताएका हुन् । उनले युरोपका विभिन्न मुलुकमा बसोबास गरिरहेका नेपालीहरूले आफ्नो मेहनत र इमानदारीमार्फत नेपालको पहिचान विश्वसामु स्थापित गरिरहेको उल्लेख गरे ।

उनका अनुसार सम्मेलनमा गैरआवासीय नेपाली समुदायका साझा मुद्दा, सम्भावना र भावी यात्राबारे सार्थक छलफल हुनेछ। युरोपसहित विश्वका विभिन्न देशबाट आउने गैरआवासीय नेपालीहरूसँग भेटघाट, अनुभव आदानप्रदान र सहकार्यका सम्भावनाबारे व्यापक संवाद हुने उनले बताए।

सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी तथा परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुवेदीलगायत विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ। युरोप, एसिया–प्रशान्त क्षेत्र, अष्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्वका विभिन्न देशबाट करिब २५० प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।

शेरचनले गैरआवासीय नेपाली नागरिकता, अधिकार, रेमिटेन्सबाट लगानी साझेदारी, रोजगारी, सामाजिक सुरक्षा, नेपालमा ज्ञान, सीप र पूँजीको उपयोग तथा डायस्पोराका अन्य साझा सरोकारका विषयमा सम्मेलनले ठोस दिशा दिने विश्वास व्यक्त गरे।

उनले युरोपस्थित सम्पूर्ण गैरआवासीय नेपालीसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका अनुभव, अपेक्षा र सुझाव सुन्ने अवसर सम्मेलनले प्रदान गर्ने उल्लेख गरे। युरोपसँग नेपाली समुदायको सम्बन्ध अझ गहिरो बनाउँदै डायस्पोराको शक्ति नेपाल निर्माणमा जोड्ने लक्ष्यका साथ सम्मेलन आयोजना हुन लागेको उनले बताए।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.