पत्रकार किशोर श्रेष्ठलाई व्यक्तिगत गोपनीयतासम्बन्धी कसुरमा प्रहरीले आफ्नै निवासबाट पक्राउ गरेको छ ।
चार दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय श्रेष्ठले विभिन्न व्यवस्थामा प्रतिपक्षीको भूमिका निर्वाह गर्दै आएका थिए ।
एक जाहेरीका आधारमा स्थापित पत्रकारलाई अपराधीको शैलीमा पक्राउ गर्नुले स्वतन्त्र पत्रकारितालाई खुम्च्याउने र गलत नजिर स्थापित गर्ने चिन्ता व्यक्त गरिएको छ ।
काठमाडौँ । व्यक्तिगत गोपनीयतासम्बन्धी कसुरमा पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित आफ्नै निवासबाट पक्राउ गरेको छ । एक व्यक्तिले दिएको जाहेरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
चार दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय उनको काम पत्रकारिता बाहेक अरू केही रहेन । पत्रिका, टेलिभिजन, अनलाइन हुँदै न्यू मिडियाको जमानासम्म पनि पत्रकारिताको केन्द्रमा छाइरहनुको उनको शक्ति सूचनाको स्रोत नै हो ।
उनले पञ्चायत, प्रजातन्त्र, लोकतन्त्रदेखि गणतन्त्रको व्यवस्थासम्म सदाबहार प्रतिपक्षीको भूमिकामा आफूलाई उभ्याए । सत्ता र शक्तिको केन्द्रमा रहेकाहरूको बेथिति उजागर गर्ने क्रममा उनले धेरै चुनौतीको सामना गरे, तर आजसम्म उनको व्यक्तिगत चरित्र र व्यावसायिक निष्ठामाथि कहिल्यै प्रश्न उठेन ।
पत्रकार श्रेष्ठ आफैँ प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्ष जस्तो जिम्मेवार पद सम्हालिसकेका व्यक्ति हुन् । लामो समय पत्रकारिताको नियामक निकायमा बसेर काम गरेको अनुभव भएका व्यक्तिलाई पत्रकारिताको मर्यादा र सीमाको ज्ञान नभएको पनि होइन । तर, सार्वजनिक पद धारण गरेका व्यक्तिको व्यक्तिगत जीवनबारे गरिएको टिप्पणीकै आधारमा उनलाई फौजदारी कसुरमा मुद्दा चलाउने प्रयास गरिएको छ ।
प्रेसको रुपमा दर्ता भएका मिडिया कम्पनीदेखि पत्रकारको परिचयपत्र प्राप्त गरेका व्यक्तिले ल्याउने सबै विषय पत्रकारितासँग सम्बन्धित हुन्छन् भन्ने कुरा प्रेस काउन्सिलले स्थापित गरिसकेको छ । पत्रकारको सामाजिक सञ्जालमा लेखिएका विषयउपर समेत काउन्सिलले कारबाही गरेका नजिर समेत छन् ।
यो अवस्थामा यदि कसैलाई उनका सामग्रीप्रति चित्त नबुझेको भए वा गोपनीयता भंग भएको महसुस भएको भए त्यसको उपचार खोज्ने कानुनी र संस्थागत संयन्त्र रहँदा रहँदै ती प्रक्रियालाई मिचेर श्रेष्ठमाथिको धरपकड राजनीतिक पूर्वाग्रहमा केन्द्रित त थिएन भन्ने प्रश्न समेत उठेकै छ ।
त्यसो त कुनै पनि सार्वजनिक पद धारण गरेका व्यक्तिको निजी जीवनको कुन हदसम्म पत्रकारिता प्रवेश गर्न सक्छ र सार्वजनिक चासोका विषय हुन् भन्ने कुरा सधैँ बहस हुनु जरुरी समेत छ ।
अहिले नेपाल प्रहरीले अनुसन्धानको मिश्रित प्रणाली अपनाउँदै आएको दाबी गर्छ । यसको अर्थ ‘पहिले सुन्ने अनि थुन्ने’ अर्थात् घटनाको गम्भीरता बुझेर र पर्याप्त प्रमाण जुटाएर मात्र पक्राउ गर्ने भन्ने हो ।
तर, एउटा जाहेरीको भरमा स्थापित पत्रकारलाई अपराधीको शैलीमा सिधै पक्राउ गर्नु पत्रकारितामाथिकै प्रहार हो । यसले समाजमा एउटा गलत नजिर स्थापित गर्छ– जो कोहीलाई पनि एउटा उजुरीकै भरमा हिरासतमा राख्न सकिन्छ । यस्तो प्रवृत्तिले स्वतन्त्र पत्रकारितालाई खुम्च्याउने र पत्रकारहरूमा आत्म-सेन्सरसिपको अवस्था सिर्जना गर्दछ ।
विचार र अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको आधारभूत खम्बा हो । पत्रकारिताका क्रममा भएका गल्ती कमजोरीको उपचार कानुनी दायराभित्र रहेर खोजिनुपर्छ, तर राज्यको शक्तिको आडमा कसैको मुख थुन्ने प्रयास स्वीकार्य हुन सक्दैन । समाचार लेखेकै वा सूचना सार्वजनिक गरेकै भरमा पत्रकारलाई हतकडी लगाउने कार्यले अन्तर्राष्ट्रिय जगत्मा पनि नेपालको प्रेस स्वतन्त्रताको साख गिराउँछ ।
त्यसैले पत्रकार किशोर श्रेष्ठको ससम्मान र निःसर्त रिहाइको हुनु पर्दछ । राज्यले प्रेसलाई त्रसित बनाउने र नियन्त्रण गर्ने खेल तत्काल बन्द गर्नुपर्छ । कानुनी प्रक्रियाको सम्मान गर्दै गर्दा पत्रकारिताको विशिष्ट चरित्र र नागरिकको सुसूचित हुने अधिकारको पनि उत्तिकै संरक्षण हुनु आवश्यक छ ।