वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले करार सेवामा इन्जिनियर, प्रशासकीय अधिकृत, प्राविधिक सहायक र कम्प्युटर अपरेटर गरी चार पदमा २५ जनाका लागि दरखास्त आह्वान गरेको छ। इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित आगामी भदौ ४ गतेभित्र आवेदन दिन सक्नेछन्।
उम्मेदवारको छनोट करार जनशक्ति छनोटसम्बन्धी कार्यविधि, २०८२ का आधारमा लिखित परीक्षा र अन्तर्वार्ताबाट हुनेछ।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले करार सेवामा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।
केन्द्रले इन्जिनियरदेखि कम्प्युटर अपरेटरसम्मका चार फरक पदमा जम्मा २५ जना जनशक्ति माग गर्दै दरखास्त आह्वान गरेको हो। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजातसहित आगामी भदौ ४ गतेभित्र कार्यालय समयमा आवेदन दिन सक्नेछन्।
केन्द्रले प्रकाशित गरेको सूचनाअनुसार सबैभन्दा धेरै तह सातको इन्जिनियर पदमा १८ जना माग गरिएको छ। यस पदमा आवेदन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट वातावरण, सिभिल, मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन वा कृषि इन्जिनियरिङमध्ये कुनै एक विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
यसैगरी तह छ को प्रशासकीय अधिकृत पदमा दुई जनाको दरबन्दी खुलाइएको छ। यसका लागि न्यूनतम स्नातक तह उत्तीर्ण गरेको शैक्षिक योग्यता तोकिएको छ। यी दुवै पदको दरखास्त दस्तुर एक हजार दुई सय रुपैयाँ तोकिएको छ।
यस्तै, तह पाँचको प्राविधिक सहायक पदमा चार जनाको माग छ। प्रविणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरी नवीकरणीय ऊर्जा क्षेत्रमा कम्तीमा एक वर्षको काम गरेको अनुभव भएकाले सात सय रुपैयाँ दस्तुर तिरेर यस पदमा दरखास्त दिन सक्नेछन्। त्यसैगरी तह चारको कम्प्युटर अपरेटरमा एक जना मागिएको छ। दश कक्षा उत्तीर्ण गरी कम्प्युटरसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएकाले पाँच सय रुपैयाँ बुझाएर यस पदमा आवेदन दिन पाउने व्यवस्था छ।
उम्मेदवारको छनोट करार जनशक्ति छनोटसम्बन्धी कार्यविधि, २०८२ का आधारमा हुने केन्द्रले जनाएको छ। परीक्षाको माध्यम नेपाली वा अंग्रेजी दुवै हुन सक्नेछ। छनोट प्रक्रियाबारे केन्द्रले ‘लिखित परीक्षाबाट छनोट भएका व्यक्तिहरू मात्र’ त्यसपछि हुने ‘अन्तर्वार्तामा सम्मिलित हुन पाउने’ स्पष्ट पारेको छ। उम्मेदवारले आवेदन दिँदा शैक्षिक योग्यता, नागरिकता र अनुभवका प्रमाणपत्रका प्रतिलिपि आफैँले प्रमाणित गरेर बुझाउनुपर्नेछ। परीक्षा दस्तुर राष्ट्रिय वाणिज्य बैंकमा तोकिएको राजस्व शीर्षकमा जम्मा गरी सक्कल भौचर आवेदनसाथ पेस गर्नुपर्नेछ। आवश्यक पर्ने दरखास्त फाराम, कार्य विवरण र पाठ्यक्रम केन्द्रको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।