Skip to main content

Suchana Vatika

दिवा सत्रको मात्रै कक्षा सञ्चालनले विद्यार्थीलाई अप्ठ्यारो, त्रिवि केन्द्रीय क्याम्पसमा

भन्छन्– अनिवार्य हाजिरी हुनैपर्ने बाध्यता, पढ्ने कि कमाउने ?

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा दिवा सत्रमा मात्र कक्षा सञ्चालन हुँदा विद्यार्थीहरूले रोजगारी, इन्टर्नसिप र व्यावसायिक गतिविधिमा जोडिन गाह्रो भएको गुनासो गरेका छन् । विद्यार्थीहरूले एमबीएस कक्षालाई बिहान वा बेलुका पनि सञ्चालन गर्नुपर्ने माग राख्दै त्रिवि उपकुलपतिलाई ध्यानाकर्षण गराएका छन् । यसका साथै, विद्यार्थीहरूले शुल्क किस्ताबन्दीमा तिर्न पाउने व्यवस्था र पुस्तकालयको सहज प्रयोगको माग समेत गरेका छन् ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले अधिकांश विभागहरूको दिवा सत्रमा मात्रै कक्षा सञ्चालन हुँदा अप्ठ्यारो भएको गुनासो गरेका छन् । केन्द्रीय क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले दिवा सत्रमा कक्षामा आउनै पर्ने बाध्यता हुँदा रोजगारी, इन्टर्नसिप, अनुसन्धान, सीप विकास तथा अन्य व्यावसायिक गतिविधिमा जोडिन गाह्रो भएको बताएका हुन् । 

त्रिवि केन्द्रीय क्याम्पसमा अध्ययनरत विद्यार्थी सविन पोख्रेलले दिवा सत्रमा कक्षामा उपस्थित हुनुपर्ने बाध्यताले पढाइ छोड्नुपर्ने अवस्था सृजना हुने बताए । उनले भने, ‘अहिले स्नातकोत्तर तहको दोस्रो सेमेस्टरमा अध्ययन गर्छु । सेमेस्टर सिस्टममा ८० प्रतिशत अनिवार्य हाजिरी हुनैपर्छ । घरबाट पैंसा आउँदैन । रोजगारीसँग जोडिन पाएको छैन । दिउँसो कक्षा नभएर बिहान वा बेलुका कक्षा भएको भए रोजगारीसँग त जोडिन सक्थे ।’ 

यसै प्रसंगमा दिवा सत्रमा मात्रै कक्षा सञ्चालनको विकल्प खोजिनुपर्ने माग राख्दै विद्यार्थीहरूले त्रिवि उपकुलपति प्रा.डा.भोला थापालाई समेत ध्यानाकर्षण गराएका छन् । ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘व्यवस्थापन सङ्कायअन्तर्गत व्यवस्थापन केन्द्रीय विभागमा सञ्चालित स्नातकोत्तर तह (एमबीएस) को कक्षा हाल दिउँसो (डे सिफ्ट) मा मात्र सञ्चालन भइरहेको व्यवस्थाप्रति हामी सम्पूर्ण विद्यार्थीहरूको गम्भीर ध्यानाकर्षण भएको छ । वर्तमान व्यवस्था विद्यार्थीहरूको शैक्षिक अधिकार, आर्थिक आत्मनिर्भरता, पेसागत विकास तथा समान अवसरको सिद्धान्तसँग मेल नखाने भएकाले यसको तत्काल पुनरावलोकन आवश्यक भएको हाम्रो ठहर छ ।’

स्नातकोत्तर तहका अधिकांश विद्यार्थीहरू २४–३० वर्ष उमेर समूहका छन् । यो उमेर अध्ययनसँगै रोजगारी, इन्टर्नसिप, अनुसन्धान, सीप विकास तथा अन्य व्यावसायिक गतिविधिमा संलग्न भई भविष्य निर्माण गर्ने अत्यन्त महत्त्वपूर्ण चरण हो । तर एमबीएस लगायतको कक्षा दिउँसो मात्र सञ्चालन हुने व्यवस्थाले अवसरहरूबाट वञ्चित गरिरहेको विद्यार्थीहरूको गुनासो छ ।

विशेषगरी नेपालको विभिन्न जिल्ला तथा दुर्गम क्षेत्रबाट काठमाडौँमा उच्च शिक्षाका लागि आएका विद्यार्थीहरू कोठा भाडा, दैनिक जीवनयापन, यातायात तथा अध्ययन खर्च व्यवस्थापन गर्न श्रममा निर्भर छन् । तर, डे सिफ्टका कारण नियमित रोजगारी गर्न नसक्दा उनीहरू आर्थिक, मानसिक तथा शैक्षिक रूपमा प्रत्यक्ष प्रभावित भइरहेका छन् । यसले अध्ययन निरन्तरता, शैक्षिक गुणस्तर तथा पेसागत क्षमता विकासमा समेत असहज भएको विद्यार्थी बताउँछन् । त्रिवि केन्द्रीय क्याम्पसमा अध्ययनरत स्नातकोत्तर तहमा अध्ययनरत एक विद्यार्थी भन्छन्, ‘केहि प्राध्यापक, उपप्राध्यापक, सहप्राध्यापक बिहान र बेलुकी अन्यत्र कलेजहरूमा पनि पढाउन जानुहुन्छ । दिउँसो यहाँ अध्यापन गराउन आउनुहुन्छ । बिहानी र बेलुकी सत्र पनि कक्षा भइदिएको भए हामी रोजगारीसँग जोडिन सक्थ्यौ । ’

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘विद्यार्थीलाई अध्ययनसँगै काम गर्ने अवसर उपलब्ध गराउनु आधुनिक, समावेशी, लचिलो र विद्यार्थीमैत्री विश्वविद्यालय प्रणालीको आधारभूत मान्यता हो । त्यसैले एमबीएसको कक्षालाई एउटै डे सिफ्टमा सीमित गर्नु विद्यार्थीको आर्थिक आत्मनिर्भरता, प्रतिस्पर्धात्मक क्षमता र व्यावसायिक विकासका अवसरहरूलाई अनावश्यक रूपमा सङ्कुचित गर्ने व्यवस्था हो ।’

व्यवस्थापन केन्द्रीय विभागअन्तर्गत सञ्चालित एमबीएस कक्षालाई मर्निङ सिफ्ट र इभिनिङ सिफ्टमा सञ्चालन गर्ने व्यवस्था तत्काल लागू गर्न नयाँ भवनमा एमबीएसका सम्पूर्ण कक्षाहरू यथाशीघ्र सञ्चालन गर्न माग गरेका छन् । 

एमबीएस अध्ययनरत विद्यार्थीहरूले शुल्क किस्ताबन्दीमा तिर्न सक्ने व्यवस्था तत्काल लागू गरिनुपर्ने, विद्यार्थीमैत्री, लचिलो तथा समावेशी शैक्षिक वातावरण निर्माण गर्न कक्षा सञ्चालन, प्रशासनिक सेवा तथा शैक्षिक व्यवस्थापन प्रणालीलाई समयसापेक्ष सुधार गरिनुपर्ने विषय उठाएका छन् । 

व्यवस्थापन केन्द्रीय विभागले पुस्तकालय विकास शुल्क शीर्षकमा प्रत्येक विद्यार्थीबाट प्रत्येक सेमेस्टर दुई हजार पाँच सय असुल गर्दै आएको छ । तर, विभागीय पुस्तकालयको उपयोगबाट विद्यार्थीहरू वञ्चित रहनुपरेको विद्यार्थीको गुनासो छ । सेवा उपलब्ध नगराई उच्च शुल्क असुल गर्नु विद्यार्थी हित विपरीत र अन्यायपूर्ण भएकाले यथाशीघ्र विभागीय पुस्तकालय सबै विद्यार्थीका लागि नियमित रूपमा प्रयोग गर्न मिल्ने व्यवस्था गर्न माग गरेका छन् ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.