Skip to main content

Suchana Vatika

घाइते सबैको पहिचान खुल्यो : जुरिखेत जिप दुर्घटना 

६ घाइतेमध्ये एकै परिवारका चार जना

मकवानपुरको भीमफेदीमा भएको जिप दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन् । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको स्कारपियो सडकबाट ५०–६० मिटर तल खसेपछि घाइतेहरूको उद्धार गरी भीमफेदी अस्पताल लगिएको छ । गम्भीर घाइते लक्ष्मी बडूसहित अन्य घाइतेलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

२ भदौ, हेटौंडा । मकवानपुरको जुरिखेतमा भएको जिप दुर्घटनामा घाइते भएका सबै जनाको पहिचान खुलेको  छ ।

घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका-९ घर भएका उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी (५७), रजिष्ट्रार तारादत्त बडू (५७), बडूका श्रीमती लक्ष्मी बडू (४९), छोरा रितेन्द्र बडू (२५) र दिदी रिता बडू (३१) रहेका छन् ।

दाङको राप्ती नगरपालिका-८ का करिब ३२ वर्षीय जिप चालक छुनिलाल चौधरी समेत घाइते भएका छन् ।

मंगलबार बिहान भीमफेदी गाउँपालिका–६ जुरीखेलमा काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनाका घाइते सबैलाई उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल लगिएको थियो ।

प्रहरीका अनुसार जिप चालक चौधरी र रजिष्टार बडूलाई थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ भने अन्य ४ जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत छाउनी अस्पताल काठमाडौ पठाइएको छ ।

प्रहरीका अनुसार दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री नेतृत्वको टोलीसमेत पुगेको थियो ।

दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.