Skip to main content

Suchana Vatika

शपथ पनि आजै-बागमतीका प्रदेश प्रमुख देवकोटाले एमालेका थापालाई मुख्यमन्त्री नियुक्त गर्दै

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रिया अघि बढाएका छन्। प्रदेश प्रमुखको कार्यालयले थापालाई बिहीबार अपराह्न ४ बजेर ५ मिनेटमा नियुक्त गर्ने र ४ बजेर २० मिनेटमा शपथ गराउने कार्यक्रम तय गरेको छ। थापाको दाबीमा राप्रपाको समर्थन समावेश भएपछि पार्टी केन्द्रले प्रदेश संसदीय दलको निर्णय आधिकारिक नभएको भन्दै असहमति जनाएको छ।

४ भदौ, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमालेका संसदीय दलका नेता किरण थापा मगरलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रिया अघि बढाएका छन् ।

प्रदेश प्रमुखको कार्यालयले थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने र शपथ ग्रहण गराउने कार्यक्रम समेत तय गरेको छ ।

प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न आह्वान गरेको थियो ।

सोही आह्वानअनुसार ३ भदाैमा थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्न नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गरी तीन दलको समर्थनसहितको दाबी पेस परेको हाे ।

प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गर्दै थापालाई बिहीबार अपराह्न ४ बजेर ५ मिनेटमा मुख्यमन्त्रीमा नियुक्त गर्ने कार्यक्रम तय गरेकाे छ ।

त्यसलगत्तै ४ बजेर २० मिनेटमा मुख्यमन्त्रीको शपथ ग्रहण समारोह आयोजना हुने कार्यालयले जनाएको छ ।

मुख्यमन्त्रीमा थापाको दाबीमा राप्रपाको समर्थन समेत समावेश भएपछि राप्रपाभित्र भने विवाद देखिएको छ ।

राप्रपाको बागमती प्रदेश संसदीय दलले थापालाई समर्थन गर्ने निर्णय गरेको भए पनि पार्टीको केन्द्रीय निर्देशनबिना प्रदेश संसदीय दलबाट गरिएको निर्णय पार्टीको आधिकारिक निर्णय नभएको भन्दै केन्द्रले असहमति जनाएको छ ।

राप्रपाले प्रदेशमा कुनै दललाई समर्थन गर्ने निर्णय नभएको स्पष्ट पार्दै राप्रपा केन्द्रले बुधबार नै प्रदेश प्रमुख देवकाेटालाई पत्र पठाएकाे थियाे ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.