Skip to main content

Suchana Vatika

अपराध कथा पढ्ने महिला आफैँ कसरी मुख्य आरोपित बनिन्-मसरूम हत्याकाण्ड

मेलबर्नमा भएको विषालु च्याउ मिसाइएको खानाले तीन जनाको मृत्यु र एक महिलामाथि हत्याको आरोप लागेको घटनाको अपिल सुनुवाइ जारी छ।

यस अपिलमा जुरी सदस्य, अभियोजन पक्ष र साक्षी एकै होटलमा बसेको घटनाले मुद्दाको निष्पक्षतामाथि प्रश्न उठाएको छ।

अभियोजन पक्षले आजीवन कारावासको सजायमाथि ३३ वर्षको गैर-प्यारोल अवधि बढाउन माग गरेको छ भने बचाउ पक्षले प्रमाण छनोट र ३५ त्रुटिको दाबी गरेको छ।

मेलबर्न । एउटा पारिवारिक भोज, विषालु च्याउ मिसाइएको खाना, तीन जनाको मृत्यु र एक महिलामाथि लागेको हत्याको आरोप। 

यसै घटनाले अस्ट्रेलियामा मात्र नभई विश्वभरका ‘ट्रु–क्राइम’ (अपराध कथानक) मा रुचि राख्ने मानिसहरूको ध्यान खिचेको छ।

५१ वर्षीया एरिन प्याटरसनलाई गत वर्ष तीन जना आफन्तको हत्या गरेको र अर्का एक व्यक्तिलाई गम्भीर बिरामी बनाएको अभियोगमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाइएको थियो। तर, प्याटरसनले भने आफूले कसैको हत्या गर्ने उद्देश्य नराखेको र उक्त घटना केवल एउटा दुर्घटना भएको दाबी गर्दै आएकी छन्।

अहिले उनी सोही फैसला उल्ट्याउन माग गर्दै अपिल गरिरहेकी छन्। उनको अपिलमाथि अस्ट्रेलियाको अदालतमा दोस्रो दिन पनि सुनुवाइ जारी छ।

यस अपिलले ‘के प्याटरसनले साँच्चिकै निष्पक्ष सुनुवाइ पाएकी थिइन् त ?’ भन्ने एउटा महत्त्वपूर्ण प्रश्नसमेत खडा गरेको छ।

  • जुरी एउटै होटलमा बसेपछि उठेको प्रश्न

यस अपिल सुनुवाइको सबैभन्दा ठूलो विषय भनेको मुद्दाको सुनुवाइ गर्ने जुरीका सदस्यहरू, अभियोजन पक्षका केही व्यक्ति र एक प्रमुख साक्षी एउटै होटलमा बसेको घटना बनेको छ। प्याटरसनका वकिलहरूले यसलाई मुद्दाको निष्पक्षतामाथि गम्भीर असर पार्ने ‘विनाशकारी गल्ती’को संज्ञा दिएका छन्।

बचाउ पक्षका वकिल रिचर्ड एड्नीका अनुसार, होटलमा जुरीका सदस्य र अन्य व्यक्तिबीच कुनै अनुचित सम्पर्क भयो कि भएन भन्नेबारे पर्याप्त अनुसन्धान भएको छैन। अझ, अभियोजन पक्षले होटलको यस्तो व्यवस्थापनबारे आफूहरूलाई समयमै जानकारी नदिएको उनको दाबी छ।

तर, अभियोजन पक्षले भने यो घटनाले जुरीको निर्णयमा कुनै असर पारेको प्रमाण नभएको बताएको छ। सार्वजनिक अभियोजन निर्देशक ब्रेन्डन किसेन केसीका अनुसार, जुरीका सदस्यले कुनै अनुचित गतिविधि गरेको भए उनीहरूको निगरानीमा खटिएका अधिकारीले तत्काल न्यायाधीशलाई जानकारी गराउने थिए। त्यसैले, यसबारे अहिले फेरि अनुसन्धान गर्नु आवश्यक नरहेको उनको तर्क छ।

  • च्याउप्रति प्याटरसनको रुचि थियो ?

अपिलमा प्याटरसनको घरबाट बरामद गरिएका च्याउका तस्बिरहरू पनि महत्त्वपूर्ण बनेका छन्। उनकी वकिल भेरोनिका ड्रागोका अनुसार, एसडी कार्डमा रहेका ती तस्बिरमा जंगलमा उम्रिएका र भान्सामा माटोसहित राखिएका च्याउ देखिन्छन्। यसले च्याउप्रति प्याटरसनको सामान्य र निर्दोष रुचि मात्र रहेको देखाउने उनको तर्क छ।

प्याटरसनले अनलाइनमार्फत च्याउ कसरी सुकाउने भनेर सल्लाह मागेका पोस्टहरू पनि बचाउ पक्षले अदालतसमक्ष प्रस्तुत गरेको छ। तर, न्यायाधीशहरूले ती तस्बिर सन् २०२० का भएको र अनलाइन पोस्टमा सुपरमार्केटबाट किनिएका च्याउबारे मात्र उल्लेख भएको औँल्याएका छन्। तसर्थ, ती सामग्रीले ‘प्याटरसन जंगली च्याउ संकलन गर्थिन्’ भन्ने कुरा प्रमाणित नगर्ने अभियोजन पक्षको जिकिर छ।

बचाउ पक्षले भने यी प्रमाण अदालतमा प्रयोग गर्न नदिइएकाले प्याटरसन च्याउप्रतिको आफ्नो रुचिबारे आफैँ स्पष्टीकरण दिन बाध्य भएको र यसले उनको ‘मौन बस्न पाउने अधिकार’ प्रभावित भएको दाबी गरेको छ।

  • आजीवन कैद भए पनि ‘प्यारोल’ किन ?

प्याटरसनको दोषसिद्धि उल्ट्याउन बचाउ पक्षले अपिल गरिरहेकै बेला अभियोजन पक्षले पनि सजायविरुद्ध अपिल गरेको छ।

प्याटरसनलाई आजीवन कारावास सुनाइए पनि ३३ वर्षको ‘गैर–प्यारोल’ (Non-parole) अवधि तोकिएको छ। यसको अर्थ, ३३ वर्ष कैद भुक्तान नभएसम्म उनी प्यारोल (सर्तसहितको रिहाइ) का लागि योग्य हुने छैनन्। ३३ वर्ष जेल सजाय काटिसक्दा उनी ८२ वर्षकी हुनेछिन्।

तर, अभियोजन पक्ष भने उनलाई त्यसपछि पनि प्यारोलको अवसर दिन नहुने पक्षमा छ। मुख्य अभियोजक किसेनका अनुसार, प्याटरसनको अपराध अत्यन्त गम्भीर श्रेणीमा पर्छ। त्यसैले, उनलाई भविष्यमा जेलबाट बाहिर आउने कुनै पनि सम्भावना दिनु हुँदैन।

  • अभियोजन पक्षले प्रमाण छानेर प्रयोग गरेको आरोप

बचाउ पक्षले अभियोजन पक्षमाथि प्रमाणलाई आफ्नो फाइदा हुने गरी छनोट गरेर प्रयोग गरेको आरोपसमेत लगाएको छ। वकिल एड्नीका अनुसार, प्याटरसन र उनका आफन्तले विषालु च्याउ मिसाइएको ‘बीफ वेलिङ्टन’ (एक प्रकारको मासुको परिकार) खाएपछि उपचारमा संलग्न चिकित्सकहरूसँग अभियोजन पक्षले पर्याप्त प्रश्न गरेको थिएन।

अभियोजन पक्षले भने प्याटरसनले आफू पनि बिरामी भएको नाटक गरेर आफूमाथिको शंका हटाउन खोजेको दाबी गरेको थियो। त्यसैले, यसबारे चिकित्सकहरूसँग थप प्रश्न सोधिनुपर्ने बचाउ पक्षको तर्क छ।

साथै, मोबाइल फोनको तथ्यांक (डेटा) पनि पूर्ण रूपमा परीक्षण नगरिएको बचाउ पक्षले जनाएको छ। ‘सबै रेकर्ड निकाल्न धेरै खर्च लाग्छ’ भन्ने अभियोजन पक्षको तर्कका कारण महत्त्वपूर्ण प्रमाण छुटेको हुन सक्ने उनीहरूको दाबी छ।

प्याटरसनले आफन्तहरूबारे सामाजिक सञ्जालमा लेखेका आलोचनात्मक पोस्टहरू पनि विवादमा छन्। बचाउ पक्षले ती पोस्टले जुरीमा पूर्वाग्रह उत्पन्न गराउन सक्ने बताएको छ। तर, मुख्य अभियोजक जेरेमी म्याकविलियम्सले भने ती पोस्ट हत्या गर्ने उद्देश्य प्रमाणित गर्न नभई प्याटरसन र उनका आफन्तबीचको सम्बन्ध कस्तो थियो भनेर देखाउन मात्र प्रयोग गरिएको प्रस्ट्याएका छन्।

  • अन्तिम बहसमा ‘३५ त्रुटि’ को दाबी

बचाउ पक्षले मुद्दाको अन्तिम बहसमा अभियोजन पक्षले प्रमाण प्रस्तुत गर्दा ३५ वटा त्रुटि गरेको दाबी गरेको छ। अभियोजन पक्षले आफूलाई फाइदा पुग्ने प्रमाण मात्र छानेर प्रस्तुत गरेको उनीहरूको आरोप छ।

तर, म्याकविलियम्सले तीमध्ये धेरै दाबीहरू दोहोरिएका र तिनमा कुनै ठोस आधार नभएको बताएका छन्। कतिपय विषय मूल सुनुवाइमै सम्बोधन भइसकेको र कतिपय विषयमा बचाउ पक्षले त्यतिबेला आपत्तिसमेत नजनाएको उनको भनाइ छ।

  • किन यति धेरै चर्चामा छ त यो मुद्दा ?

यस घटनाको कानुनी पक्ष जति महत्त्वपूर्ण छ, यसको वरिपरि सिर्जना भएको असाधारण सार्वजनिक चासो पनि उत्तिकै रोचक छ। यो मुद्दा चर्चामा आउनुअघि प्याटरसन आफैँ अनलाइन ‘ट्रु–क्राइम’ समुदायमा अपराधसम्बन्धी घटनाको गहिरो अध्ययन गर्ने व्यक्तिका रूपमा परिचित थिइन्। तर, पछि उनी स्वयं एउटा चर्चित ट्रु–क्राइम कथाको केन्द्रबिन्दु बन्न पुगिन्।

यस मुद्दाको सुनुवाइ हेर्न मानिसहरू अदालतबाहिर लामो लाइनमा बसे भने विश्वभरका पत्रकारहरू अस्ट्रेलिया पुगे। सामाजिक सञ्जालमा हजारौँ मानिसले घटनाका प्रत्येक विवरणमाथि बहस र अनुमान गर्न थाले।

आखिर, यस घटनामा धेरै कुरा एकैपटक जोडिएका छन्– विषालु च्याउ, पारिवारिक भोज, आफन्तको मृत्यु, हत्या कि दुर्घटना भन्ने रहस्य अनि एक महिलामाथिको गम्भीर आरोप।

अब अपिल अदालतले मूल सुनुवाइ निष्पक्ष थियो कि थिएन र प्याटरसनलाई दिइएको आजीवन कारावास तथा ३३ वर्षको ‘गैर–प्यारोल’ अवधि उचित थियो कि थिएन भन्ने अन्तिम निर्णय गर्नेछ। त्यसैले, यो मुद्दा केवल एरिन प्याटरसनको भाग्यको फैसला मात्र होइन, यसले अस्ट्रेलियाको न्याय प्रणालीमा जुरीको निष्पक्षता, प्रमाणको प्रयोग, प्रतिवादीको अधिकार र गम्भीर अपराधमा सजाय निर्धारण गर्ने मापदण्डमाथिसमेत महत्त्वपूर्ण प्रश्न खडा गरिदिएको छ।

बीबीसी

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.