दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल न्युरो तथा म्याक्सिलोफेसियल शल्यक्रिया सेवा सुरु भएको छ। बस दुर्घटनामा परी गम्भीर घाइते भएका रोल्पाका अमरकुमार झाँक्रीको सोही प्रतिष्ठानमा सफल उपचार गरिएको छ। यस सेवा सुरु भएसँगै राप्ती क्षेत्रका नागरिकले आफ्नै क्षेत्रमा विशेषज्ञ उपचार पाउने भएका छन्।
दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल न्युरो तथा म्याक्सिलोफेसियल शल्यक्रिया सेवा सुरु भएसँगै गम्भीर चोटपटक लागेका बिरामीहरूले आफ्नै क्षेत्रमा उपचार पाई नयाँ जीवन पाउन थालेका छन्।
रोल्पाबाट वैदेशिक रोजगारीका लागि काठमाडौँ जाने क्रममा तिलाको गरगरेमा बस दुर्घटनामा परी टाउकोमा रगत जमेको र अनुहार क्षतविक्षत भई अर्धचेत अवस्थामा ल्याइएका रोल्पा त्रिवेणी गाउँपालिकाका २१ वर्षीय अमरकुमार झाँक्रीको प्रतिष्ठानमा सफल उपचार भएको छ।
प्रतिष्ठानका न्युरोसर्जन डा. उपमा शर्मा, मुख तथा अनुहार शल्य चिकित्सक डा. निरोज खनाल, नाक, कान तथा घाँटी विशेषज्ञ डा. सरोज आचार्य र दन्त रोग विशेषज्ञ डा. करिष्मा भण्डारीसहितको टोलीले पहिलो चरणमा ६ घण्टा लगाएर टाउकोको न्युरोसर्जरी गरी जमेको रगत निकालेको थियो भने दोस्रो चरणमा ९ घण्टा लामो ‘सर्भिकोफेसियल फ्ल्याप’ प्रविधिबाट अनुहारको सफल पुनर्निर्माण गरेको हो।
यसअघि टाउकोमा गम्भीर चोट लागेका वा न्युरोसर्जरी आवश्यक परेका बिरामीलाई काठमाडौँ वा बाहिरका अन्य ठूला अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेकोमा प्रतिष्ठानमै न्युरो सेवा उपलब्ध भएपछि राप्ती क्षेत्रका नागरिकलाई ठूलो राहत मिलेको छ।
१५ घण्टा लामो दुई चरणको जटिल शल्यक्रियापछि झाँक्रीको ज्यान जोगिनुका साथै बिग्रिन लागेको अनुहारको स्वरूपसमेत सामान्य अवस्थामा फर्किएको छ। स्थानीयस्तरमै उच्चस्तरीय न्युरो र म्याक्सिलोफेसियल सेवा सुरु भई ज्यान जोगिएपछि अमरले उपचारमा संलग्न चिकित्सक टोलीप्रति विशेष आभार व्यक्त गरेका छ्न ।