बागलुङ र पर्वत क्षेत्रमा पर्ने कालीगण्डकी नदीमा बर्खायाममा पनि बालुवा र ढुङ्गा धमाधम निकालिएको छ। मध्यरातमा ठुला मेसिन प्रयोग गरेर क्रसर सञ्चालक तथा निर्माण व्यवसायीहरूले ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को उल्लंघन गरिरहेका छन्। अवैध उत्खननले नदीको धार परिवर्तन भई मालढुङ्गास्थित माझीबस्ती जोखिममा परेको छ भने खेतीयोग्य जमिन कटानमा परेको छ।
बागलुङ । कानुनी रूपमा बर्खायाममा नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने व्यवस्था भए पनि बागलुङ र पर्वत क्षेत्रमा पर्ने कालीगण्डकी नदीमा मध्यबर्खामै बालुवा र ढुङ्गा धमाधम निकालिएको छ।
विश्वमा शालिग्राम शिला पाइने एक मात्र नदीका रूपमा रहेको कालीगण्डकीबाट अवैध रूपमा नदीजन्य पदार्थ निकाल्ने क्रम रोकिएको छैन।
मध्यरातमा ठुला मेसिन नै प्रयोग गरेर क्रसर सञ्चालक तथा निर्माण व्यवसायीहरूले बालुवा झिक्ने काम गरिरहेका छन्। ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ ले नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध लगाएको छ। असार १ गतेदेखि भदौ १५ गतेसम्म कुनै पनि निकायले ठेक्का लगाउन नपाउने प्रावधान रहे पनि अवैध चोरीनिकासी निरन्तर चलिरहेको छ।

अहिले कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको देखिन्छ। बागलुङको काठेखोला दोभान तथा पर्वतको कुश्मा नगरपालिकाअन्तर्गत नयाँपुल, सहस्रधारालगायतका स्थानमा जथाभाबी बालुवा उत्खनन भइरहेको छ। यसरी अवैध रूपमा नदीजन्य पदार्थको दोहन हुँदा समेत सरोकारवाला निकायहरू मुकदर्शक बनेका छन्।
पालिका र प्रशासनलाई नै चुनौती दिँदै डोजर लगाएर बालुवा निकाल्ने काम भइरहेको छ। सङ्घीय सरकारको २०७७ को मापदण्ड अनुसार गण्डकी प्रदेश सरकारले पनि यस अवधिमा नदीजन्य सामग्री उत्खननमा प्रतिबन्ध लगाएको छ।
प्रहरी चौकीकै अगाडि कालीगण्डकीको दोहन हुँदा प्रहरी समेत मौन रहेको स्थानीय बताउँछन्। अनियन्त्रित दोहनका कारण नदीको धार परिवर्तन भई पर्वतको मालढुङ्गास्थित माझीबस्ती नै जोखिममा परेको छ। बर्खाको समयमा नदी उर्लिँदा घरमै बाढी आउने त्रासले स्थानीय रातभर जाग्राम बस्न बाध्य छन्। नदीको धार बदलिँदा कतिपय स्थानमा खेतीयोग्य जमिन समेत कटानमा परेको छ।

