Skip to main content

Suchana Vatika

रक क्लाइम्बरदेखि हेलिकप्टरसम्म परिचालन, रसुवागढीका ९३ जनाको खोजीमा

२० भदौ, काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनास्थलमा सम्पर्कविहीन भएका ९३ जनाको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ।

रसुवागढी हाइड्रोपावर कम्पनीका अनुसार आयोजनाका नियमित कर्मचारी ५१ जना, सञ्चालक एक जना, दैनिक ज्यालादारी कामदार दुई जना तथा तीनवटा ठेकेदार कम्पनीका ३९ जना गरी कुल ९३ जना अझै सम्पर्कविहीन छन्।

खोजी तथा उद्धारका लागि नेपाली सेनाको टोली आयोजनास्थल पुगेको छ। कम्पनीका सचिव नरनाथ न्याैपानेका अनुसार शुक्रबार बिहान नेपाली सेनाको उद्धार टोलीले आवश्यक सामग्री तथा वरिष्ठ जियोलोजिस्ट विष्णु शिवाकोटीसमेतलाई लिएर तीनवटा हेलिकप्टरमार्फत विद्युतगृह (पावरहाउस) तर्फ प्रस्थान गरेको थियो।

विद्युतगृहभन्दा बाहिरबाट सम्पर्कविहीन भएकाहरूको खोजीका लागि कम्पनीले नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग समन्वय गरी दक्ष तथा अनुभवी रक क्लाइम्बर परिचालन गरेको छ। उनीहरूबाट ग्राउन्ड सर्च पनि भइरहेको कम्पनीले जनाएको छ।

त्यसैगरी, हिमालय समिट क्लब प्रालिको टोलीले हिजो साँझ करिब ४ बजे हेलिकप्टरबाट प्रभावित क्षेत्रमा पुगेर खोजी गरेको थियो। तर, टोलीबाट प्राप्त रिपोर्टअनुसार हिजो बेलुकीसम्म सम्पर्कविहीन कर्मचारीमध्ये कसैको अवस्थाबारे जानकारी प्राप्त हुन सकेको थिएन।

शुक्रबारसम्म पुनः खोजी कार्य सुरु गरिएको र त्यसको विस्तृत जानकारी आउन बाँकी रहेको कम्पनीले जनाएको छ।

बाढीका कारण आयोजनामा खोजी तथा उद्धारका लागि प्रयोग भइरहेका मिनी एक्साभेटर, ठूलो डिजेल जेनेरेटर, सबमर्सिबल पम्प, होज पाइप तथा विद्युतसम्बन्धी सामग्रीसहितका उपकरणहरू समेत क्षतिग्रस्त भएका छन्।

कम्पनीका अनुसार सोमबारदेखि बुधबारसम्ममा मात्रै करिब १९ करोड रुपैयाँ बराबरका सामग्रीमा क्षति पुगेको छ।

कम्पनीले सम्पर्कविहीन कर्मचारी तथा जलविद्युत् केन्द्रका कर्मचारीका परिवारलाई घटनाको अवस्थाबारे नियमित जानकारी गराउन ह्वाट्सएप समूहसमेत गठन गरेको जनाएको छ।

रसुवागढी जलविद्युत् आयोजनामा बाढीपछि ठूलो संख्यामा कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको विषय यसअघि पनि सार्वजनिक भएको थियो ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.