Skip to main content

Suchana Vatika

मन्त्रालय : ग्यास र उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन हरसम्भव प्रयास भइरहेको छ

मौज्दात सामानमा पुरानै मूल्य कायम राख्न निर्देशन, ठगी गरे कडा कारबाही हुने चेतावनी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सामान्य तुल्याउन सरकारले हरसम्भव प्रयास गरिरहेको जनाएको छ।

बाढीपहिरोका कारण यातायातका मुख्य मार्गहरू अवरुद्ध हुँदा आपूर्तिमा केही समस्या देखिए पनि यसलाई समाधान गर्न सरकार क्रियाशील रहेको छ।

दसैँ जस्ता चाडपर्व नजिकिएको सन्दर्भमा बजारमा हुनसक्ने गैरव्यावसायिक क्रियाकलाप रोक्न सरकारले अनुगमनलाई तीव्रता दिएको छ।

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सामान्य तुल्याउन सरकारले हरसम्भव प्रयास गरिरहेको जनाएको छ। 

नेपाल आर्थिक पत्रकार समाज (सेजोन) द्वारा काठमाडौँमा आयोजित ‘रसुवा बाढीपछिको आपूर्ति तथा मूल्य शृङ्खलामा परेको प्रभाव र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

बाढीपहिरोका कारण यातायातका मुख्य मार्गहरू अवरुद्ध हुँदा आपूर्तिमा केही समस्या देखिए पनि यसलाई समाधान गर्न सरकार क्रियाशील रहेको सुवेदीले बताए। विशेष गरी पृथ्वी राजमार्ग लगायतका मुख्य सडक खण्डहरू केही दिनभित्रै सुचारु हुने अवस्थामा रहेकाले व्यवसायीहरूलाई यो सङ्कटको घडीमा मूल्यवृद्धि नगर्न र व्यावसायिक नैतिकता प्रदर्शन गर्न उनले आग्रह गरे।

राज्यको तर्फबाट जुनसुकै उपाय लगाएर भए पनि आपूर्ति व्यवस्था सामान्य गराउन तयार रहेको सुवेदीले स्पष्ट पारे। ‘केही दिन सडक अवरुद्ध भएको बहानामा मूल्य बढाएर नाफा कमाउनेभन्दा पनि मानवीय र व्यावसायिक उत्तरदायित्व बुझिदिन म व्यवसायीहरूलाई अनुरोध गर्दछु,’ उनले भने।

खाद्यान्न, चिनी, तेल तथा दाल जस्ता आयातित वस्तुहरूको अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा परेको प्रभावका कारण मूल्यमा केही चाप परेको उनले स्वीकार गरे। तर मौज्दात रहेका पुराना सामानहरूमा पुरानै मूल्य कायम हुनुपर्नेमा उनले जोड दिए। नयाँ आयात हुने सामानको हकमा बिलिङका आधारमा मूल्य निर्धारण हुने भए पनि कृत्रिम अभाव सिर्जना गर्ने र अस्वाभाविक मूल्यवृद्धि गर्नेहरूमाथि कडा निगरानी राखिने उनले बताए।

दसैँ जस्ता चाडपर्व नजिकिएको सन्दर्भमा बजारमा हुनसक्ने गैरव्यावसायिक क्रियाकलाप रोक्न सरकारले अनुगमनलाई तीव्रता दिएको छ। सुवेदीका अनुसार काठमाडौँ उपत्यकाभित्र मात्रै हिजो एकै दिन ४० भन्दा बढी व्यावसायिक फर्महरूमा अनुगमन गरिएको छ। बजार अनुगमनका लागि थप टोलीहरू परिचालन गरिएको र जिल्ला तहमा जिल्ला प्रशासन कार्यालयहरूमार्फत निगरानी बढाइएको उनले जानकारी दिए।

आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउन स्थानीय, प्रादेशिक र सङ्घीय गरी तीनै तहका सरकारबिच समन्वय र नेटवर्किङ आवश्यक रहेको मन्त्रालयको ठहर छ। व्यावसायिक आचारसंहिता विरुद्धका गतिविधिमा संलग्न हुने जोकोहीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत सरकारले दिएको छ।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.