सरकारले सुत्केरी बिदा ९० दिनबाट बढाएर ६ महिना पुर्याउने र बाबुको बिदा १५ दिनबाट ४२ दिन पुर्याउने प्रस्ताव गरेको छ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौत्तमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ संशोधन विधेयक तयार भएको छ।
मन्त्रालयले विधेयक मन्त्रिपरिषद् हुँदै संसद्मा लैजाने तयारी गरेको छ र तलबसहितको प्रसूति बिदा तथा प्रसूति स्याहार बिदा प्रस्ताव गरेको छ।
३१ भदौ, काठमाडौं । सरकारले सुत्केरी बिदाको अवधि बढाउन लागेको छ ।
हाल आमालाई ९० दिन रहेको बिदालाई बढाएर ६ महिना पुर्याउन लागिएको हो । हाल बाबुलाई १५ दिन रहेको बिदा बढाएर ४२ दिन पुर्याउन प्रस्ताव गरिएको छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौत्तमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ संशोधन विधेयक तयार भएको छ । अब मन्त्रिपरिषद् हुँदै संसद्मा लैजाने तयारीमा मन्त्रालय छ ।
उनका अनुसार विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा प्रस्ताव गरिएको छ ।
‘सुरक्षित मातृत्व र अभिभावकत्वका सन्दर्भमा यो महत्त्वपूर्ण नीतिगत परिवर्तन हो,’ मन्त्री गौतमले भनिन् ।
व्यस्त जीवनमा कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेको सन्दर्भमा यस्तो प्रस्ताव दगरिएको मन्त्रालयले जनाएको छ ।
‘जीवनमा एक वा दुई पटक आउने मातृत्व र पितृत्वको यो विशेष समयमा अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी पनि हो,’ मन्त्री गौत्तमले भनिन् ।
बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी नभएर साझा दायित्व भएको उनले बताएकी छन् ।