सांसद राजीव खत्रीको दाबी – ठगी, सार्वजनिक जग्गामा चलखेल र म्यानपावर व्यवसायीसँग हिमचिम
मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि संसदीय सुनुवाइ समितिमा गम्भीर आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वका प्रश्न उठेका छन्। सांसद राजीव खत्रीले खरेलविरुद्ध ठगी, सार्वजनिक जग्गामा चलखेल र म्यानपावर व्यवसायीसँगको अनुचित सम्बन्धबारे प्रमाणसहित प्रश्न उठाएका छन्। खरेलमाथि अनुदान दिलाउने भन्दै लाखौँ रुपैयाँ लिएको, सार्वजनिक जग्गा मिलाइदिने भन्दै करोडौँ रकम असुल गरेको र म्यानपावर व्यवसायीबाट रकम लिएको जस्ता आरोप लागेका छन्।
काठमाडौँ । मलेसियाका लागि नेपाल सरकारद्वारा प्रस्तावित राजदूत चुडामणि खरेलमाथि संसदीय सुनुवाइ समितिमा गम्भीर आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वका प्रश्नहरू उठेका छन्।
समितिको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले खरेलविरुद्ध ठगी, सार्वजनिक जग्गामा चलखेल र म्यानपावर व्यवसायीसँगको अनुचित सम्बन्धबारे प्रमाणसहित प्रश्न उठाएका हुन्।
प्रस्तावित राजदूत खरेलले समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गरिरहँदा विभिन्न विवादित विषयमा प्रश्नको ओइरो लागेपछि सुनुवाइ प्रक्रिया पेचिलो बनेको छ। झापाका स्थानीयलाई अनुदान दिलाउने भन्दै लाखौँ रुपैयाँ लिएको, सामाजिक सञ्जालमा पीडितलाई ब्लक गरेको र पोखराको सार्वजनिक जग्गा मिलाइदिने भन्दै करोडौँ रकम असुल गरेको जस्ता गम्भीर आरोप सांसद खत्रीले लगाएका छन्।
खरेलले केही म्यानपावर व्यवसायीबाट राजदूतको पदमा काम गरिदिने प्रलोभन देखाएर रकम लिएको र तिनै व्यवसायीले उपलब्ध गराएको सवारी साधन प्रयोग गर्दै आएको दाबीसमेत सांसद खत्रीले गरे। यसका साथै विभिन्न संघसंस्थामा काम गर्दा उनको नाममा लाखौँ रुपैयाँ बेरुजु रहेको र तराई–मधेसका जग्गा प्रकरणमा समेत संलग्नता देखिएको भन्दै यस्ता विवादित व्यक्तिलाई किन राजदूतका लागि अनुमोदन गर्ने भनी खत्रीले प्रश्न गरेका छन्।