Suchana Vatika

एपस्टिन फाइल्स : रूसलाई ट्रम्पबारे ‘डिल गर्ने’ सल्लाह दिएको दावा

बालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको भन्दै जेल सजाय भोगेका जेफ्री एपस्टिनले रूसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबारे सूचना दिएको दाबी गरेको खुलासा भएको छ।
बुधबार अमेरिकाको डेमोक्र्याटिक पार्टीका सांसदहरूले एपस्टिनले ट्रम्पको नाम लिएर विभिन्न व्यक्तिहरूलाई गरेको इमेलहरू सार्वजनिक गरेका छन्। त्यसमध्ये एउटा इमेलमा ट्रम्पले सन् २०१८ मा हेलसिन्कीमा रुसी नेता भ्लादिमिर पुटिनलाई भेट्नु भन्दा करिब एक महिनाअघि रूसी विदेश मन्त्री सर्गई लाभ्रोभलाई ट्रम्पबारे जानकारी दिने प्रस्ताव गरेका थिए भनेर अमेरिकी अनलाइन पोलिटिकोले लेखेको छ।

नर्वेका पूर्वप्रधानमन्त्री र त्यतिबेला काउन्सिल अफ युरोपको नेतृत्व गरिरहेका थोर्बोन जग्ल्यान्डलाई २०१८ जुन २४ मा एक इमेल लेख्दै एपस्टिनले सो प्रस्ताव गरेको खुलासा भएको हो।

‘लाभ्रोभले मसँग कुरा गरे ट्रम्पबारे जानकारी प्राप्त गर्न सक्छन् भनेर तपाईंले पुटिनलाई सुझाव दिन सक्नुहुन्छ भन्ने मलाई लाग्छ,’ एपस्टिनले सो इमेलमा लेखेका थिए।

लाभ्रोभ अहिले पनि रूसका विदेश मन्त्री छन्।

सो इमेलमा एपस्टिनले सन् २०१७ मा मृत्यु भएका संयुक्त राष्ट्रसंघका लागि रूसी राजदूत भाइटाली चर्किनसँग पनि ट्रम्पबारे पहिले नै कुरा गरेको दाबी गरेका थिए।

‘हाम्रो कुराकानीपछि उनले (चर्किन) ट्रम्पलाई बुझेका थिए। यो जटिल छैन। उनले (ट्रम्पले) केही प्राप्त गर्न लागेको देखिनुपर्छ। यो यति सरल छ,’ उनले सो इमेलमा टिप्पणी गरेका छन्।

गत जुलाईमा एपस्टिनलाई उनको ५० औं जन्मदिनमा पत्र लेखेको विषय अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेपछि चर्को आलोचना खेपेका ट्रम्प फेरि अप्ठ्यारोमा पर्ने गरी विपक्षी सांसदहरूले अर्को खुलासा गरेका हुन्।

सार्वजनिक गरिएका इमेलले एपस्टिनले ट्रम्पलाई पनि आफ्नो ‘धन्दा’ को ग्राहक बनाएका थिए भनेर शंका गर्ने प्रशस्त तथ्य भेटिएको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

एपस्टिनले ट्रम्पको नाम लिएर विभिन्न व्यक्तिहरूलाई पठाएका केही इमेल अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले पनि सार्वजनिक गरेको छ।

समाचार संस्था रोयटर्सका अनुसार डेमोक्र्याटिक सांसदहरूले एपस्टिनले विभिन्न व्यक्तिहरूसँग सन् २०११ देखि २०१९ बीच इमेलमार्फत गरेका कुराकानी सार्वजनिक गरेका हुन्।

By Suchana Vatika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.